कोरोना कहरकाबीच एभरेस्ट आवाज डटकम सञ्चालनमा

विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को कहरकाबीच पोखराबाट एभरेस्ट आवाज डटकम (भखभचभकतबधबव।अयm) सञ्चालनमा आएको छ । एभरेस्ट मिडिया प्रा.लि.द्वारा सञ्चालित एभरेस्ट आवाज डटकम शनिबारदेखि संचालनमा आएको हो । सञ्चारकर्ममा २ दशक अनुभव संगालेका पोखराका अग्रज सञ्चारकर्मीहरुले पोखरेली युवा उद्यमी तथा महिला उद्यमीहरुसँगको सहकार्यमा मिडिया हाउस सञ्चालन शुरु गरेका हुन् ।

एभरेस्ट आवाज डटकमको शनिबार एक औपचारिक कार्यक्रमबीच एभरेस्ट मिडिया हाउस प्रा.लि.की अध्यक्ष कर्मकुमारी गुरुङले शुभारम्भ गरिन् । शुभारम्भ कार्यक्रममा बोल्दै उनले पोखराबाट थप मिडिया सञ्चालनमा ल्याउन पाएकोमा पोखरेलीसहित सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताईन् । मिडियामार्फत समाजलाई धेरै कुरा दिन सकिन्छ,‘उनले भनिन्,‘समाज रुपान्तरणको सशक्त माध्यम एभरेस्ट आवाज बन्छ ।’ सञ्चारमाध्यम आर्थिक उपार्जन गर्ने माध्यम नभएकाले यसमा लगानीको प्रतिफलको आशा नगर्न आग्रह गर्दै उनले थपिन्,‘पत्रकारिता ब्यबसाय होईन, समाज सेवा हो, सामाजिक उत्तरदायित्व वहन मात्र हो ।’

एभरेस्ट आवाजमार्फत आफू आम पोखरेलीको छोरी, चेली र अभिभावक बन्न अगाडि बढेको संकेत गर्दै उनले भनिन्,‘हिजो तमु धिँमा हुँदा गुरुङ समुदायको नेतृत्व गर्ने भूमिकामा थिएँ, अब म सम्पूर्ण पोखरेलीको छोरी, चेली र अभिभावक बनेर अगाडि बढ्नेछु ।’ उनले एभरेस्ट आवाजलाई माया गरेर सबै पोखरेली र नेपालीको बनाउनका लागि एकजुट भएर सहयोग गर्न अपिल गरिन् ।

पत्रकार महासंघ कास्कीका अध्यक्षसमेत रहेका एभरेस्ट आवाजका सम्पादक दीपेन्द्र श्रेष्ठले मिडिया हाउसलाई आगामी दिनमा थप परिष्किृत गर्दै लैजाने बताए । उनले प्रा.लि. मार्फत न्यूज पोर्टलबाट शुरु भएको यात्रा एफएम रेडियो हुँदै अनलाइन टिभीसमेत सञ्चालन गरिने बताए । मंसीरदेखि एफएम रेडियो र यसै वर्षभित्र अनलाइन टिभीपनि संचालनमा आउने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, कार्तिक १, २०७७     8:28:27 PM

Tara Chapagain

See all posts by