दवाब र प्रभावमा नपरी प्रहरी सेवा प्रवाह अहिलेको आवश्यकता ः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कुनै पनि अनुचित दवाब र प्रभावमा नपरी नागरिकलाई केन्द्र विन्दुमा राखी सेवा प्रवाह गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा नेपाल प्रहरीको ६५ औं वार्षिकोत्सवको अवसरमा उहाँले नेपाल प्रहरी विभिन्न भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत पनि देश र जनताको सेवा एवं हितको खातिर अनवरत रुपमा तल्लिन रहेको बताउनु भयो । उहाँले भन्नु भयो ,“व्यवसायीक मर्यादाका साथ कार्यसम्पादन गर्दै आईरहेको प्रति उच्च सम्मान छ, आगामी दिनमा समेत कानून बिपरितका कार्यमा कुनै पनि अनुचित दवाब र प्रभावमा नपरी नागरिकलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नु नै अहिलेको आवश्यकता हो ।,

मुख्यमन्त्री गुरुङले समय र प्रविधिको विकास संगै अपराध र अपराधिक कार्यविधिमा समेत परिवर्तन भईरहेको बताउनु भयो उहाँले अपराध रोकथाम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न आधुनिक प्रविधिमैत्री जनशक्ति उत्पादन गरी अनुसन्धान मैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने कुरा बताउँदै गण्डकी प्रदेश प्रहरीको समुन्नत विकासका लागि गण्डकी प्रदेश सरकार तत्पर रहेको कुरा बताउनुभयो ।

उक्त कार्यक्रममा माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले अमर प्रहरी प्रति श्रद्धा सुमन व्यक्त गर्दै सहिदहरुले देखाएका सपनालाई साकार पार्न र गरेको योगदानलाई स्मरण गरी कर्तव्यनिष्ठ भई राष्ट्रसेवा गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले नेपाल प्रहरी आम नागरिकको जिउ धन र अधिकारको रक्षा गर्ने आफ्नो मुलभुत दायित्वलाई आत्मसाथ गर्दै अगाडी बढने बताउनु भयो । उहाँले राष्ट्र सामु आईपरेका गम्भीर चुनौती एंव संकटको घडीमा समेत कत्ति पनि अविचलित रहि कार्यसम्पादन गर्दै आईरहेको बताउँनुहुँदै विश्वव्यापी रुपमा रहेको कोरोना सक्रंमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरु समेत प्रभावित भएकाले विशेष सतर्कता अपनाई प्रहरी सेवा प्रवाह गर्न कटिबद्ध रहेको बताउनुभयो ।

प्रकाशित मितिः शुक्रबार, अशोज ३०, २०७७     3:58:32 PM

Tara Chapagain

See all posts by