गण्डकीमा प्रदेश प्रहरी विधयेक पारित

गण्डकी प्रदेशमा प्रदेश प्रहरी राख्ने बाटो खुलेको छ । प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दा प्रदेशसभा बैठकबाट प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेश प्रहरी गठन भएसँगै सरकारको अनुभूति हुने बताउनु भयो । उहाँले जनताप्रति जवाफदेही प्रहरी संगठन निर्माण गर्न यो विधेयक आएको जानकारी गराउनु भयो ।

उक्त विधेयकमा शान्तिसुरक्षा कामय गर्न प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्लाको प्रदेश प्रहरी परिचालन गर्न पाउने र प्रदेश प्रहरीले पनि प्रजिअको निर्देशनमा रहि काम गर्नुपर्ने उल्लेख छ । यो विधेयकले नागरिकमैत्री प्रहरीको अवधारणा बोकेको छ । विधेयकको दफा २१ मा प्रहरी कर्मचारीले कार्यसम्पादन गर्दा पालना गर्नुपर्ने विषय उल्लेख गरिएको छ । प्रहरीले नागरिकमैत्री हुन जिम्मेवार, उत्तरदायी र जवाफदेही हुनुपर्ने, छिटोछरितो र प्रभावकारी सेवा प्रदान गर्नुपर्ने, शिष्ट र सभ्य बोली तथा व्यवहार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पारित विधेयक अब प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐनका रुपमा लागू हुनेछ । विधेयकमा महानगरीय प्रहरी, ग्रामीण प्रहरी, छिमेकी प्रहरी, स्वयंसेवी प्रहरी, पर्यटन प्रहरी र प्रदेश सरकारले तोकेका अन्य प्रहरी प्रणालीको कल्पना गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, अशोज १५, २०७७     2:49:06 PM

Tara Chapagain

See all posts by