पोखराका डाँडाकाँडा सफा गर्दै युवाहरु

पोखरा नजिकका रमणीय डाडाँकाँडाहरु फोहोरका कारण दुर्गन्धित र प्रदुषित हुन थालेपछि पोखराका युवाहरुले स्वतस्फुर्त रुपमा सरसफाई गर्न थालेकाछन् ।
‘प्रकृतिलाई पुर्नजिवन पोखरा सरसफाई अभियान’ भन्ने नारा लिएर हिल हिमालयज पोखराका युवाहरुले पोखरा र आसपासका रमणिय स्थानहरु सरसफाई गर्न थालेका हुन ।
घुम्न र प्रकृतिसँग रमाउन आउने आन्तरीक तथा वाह्रिय पर्यटकले फाल्ने गरेका कहिले नकुहिने प्लास्टीकजन्य सामग्री लगायतले पर्यटकिय स्थल फोहर बन्दै गएपछि आफुहरुले सफाई अभियान चलाएको हिल हिमालयजका संयोजक रोशन गुरुङले जानकारी दिनुभयो ।
पोखरा नजिकका खुल्ला रमणिय डाँडाँकाडाहरुले पोखराको सुन्दरतालाई झनै मनमोहक बनाएको छ । तिनै रमणिय स्थानहरुको सरसफाईमा स्वयम स्थानियबासी र सम्वन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

पोखरामा थुप्रै पर्यटकीय स्थलहरु छन् । उनीहँरु लकडाउनको समयलाई सदुपयोग गर्दै हप्तामा एकदिन सफाईमा जुट्ने गर्दछन् । अभियान अन्तर्गत शुक्रबार युवाहरुले पोखरा १७ मा रहेको फेवा पावर हाउस र आसपासको क्षेत्रमा सरसफाई गरेका छन् । अभियान अन्तर्गत युवाहरुले काहुँडाडाँ, रानीवन, शान्तिस्तुपा, सराङकोट, टाइगर टप, आर्बा र मेथलाङ लगायतका पर्यटकीय क्षेत्र सरसफाई गरिसकेका छन् । युवाहरुले थालेको सफाई अभियानमा स्थानियले पनि सहयोग गर्न थालेकाछन् ।

राम्रो काम गर्नेलाई सबैले सघाउनुपर्ने भन्दै आफुपनि सहभागी भएको स्थानिय तथा कास्की काग्रेसका प्रवक्ता नविन सिग्देलले जानकारी दिनुभयो ।
आफ्नो गाउँठाउँ सुन्दर र सफा राख्न स्थानियबासी नै लाग्नु पर्ने भन्दै हिल हिमालयजले थालेको अभियानलाई सहयोग गर्न आफुपनि सहभागि भएको पावर हाउसका कर्मचारी देवी कार्कीले बताउनुभयो ।

प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७     8:48:39 AM

Tara Chapagain

See all posts by