सान्दाजुसँग मनोसंवाद

जया कोइराला

आदरणीय सान्दाजु
के भनेर अभिवादन गरौं अलमलमा छु

दाजुका पालामा गौरवका साथ भनिने जय नेपाल गर्न पनि पार्टीमा पछि परिने भइयो । अहिले नेताहरु नेपालको जय होइन मेरो जय भन् भन्छन् । तपार्ईंले भविश्यमा आशा लाग्दो युवा भनेर ५० वर्ष पहिला तथास्तु भनी नेविसंघको सभापति बनाउनु भएका सुन्दर पश्चिमेली शेरबहादुर देउवा अहिले कांग्रेसका सभापति कहलिएका छन् । काग्रेसलाई नेपालको सबैभन्दा ठूलो पार्टी बनाउँछु भन्दै विधिविधान मिचेर देउवाले गरेका क्रियाकलापलार्ई तपार्ईंका शिष्य रामचन्द्र पौडेल टुलुटुलु हेरिहेका छन् । दाइसँग दूरभासका कुरा गर्न मिल्ने भए गर्थे होलान् । कहिले तपार्ईंको भाइ गिरिजाप्रसाद कोइरालको पछि लागेर त कहिले सुशील कोइराला भाइको र अहिले तपार्ईंको कनिस्ट पुत्र शशांक र शेखरलार्ई साक्षी राखेर वरिष्ठ नेता त बने । तर वास्तविक नेता कहिलिन सकेनन् ।

कांग्रेसमा विपीको निधनसँगै साँवा सकिएको छ । बाँकी ब्याज किशुनजी, गणेशमान, गिरिजा र शुशीलको अवसानपछि रित्तै भइसकेको छ ।

तपार्ईंले भोगेकोजस्तो कष्ट र जेलनेल खानेको खडेरी परेको छ । यस्तो अवस्थामा रामचन्द्र र देउवाले अभिावकको भूमिका लिएर संरक्षकत्व ग्रहण गरी पार्टी सञ्चालन गर्दा राम्रो हुने थियो । तपाईंलार्ई सम्झने भनेकै साउन ६, भदौ २४ र पुस १६ गरी वर्षका ३ दिन हुन् । उही वृक्षरोपण, कर्मकाण्डी भाषण अनि तस्बिरमा फूलपाति, अबिर चढाउँछन् र काँग्रेसका नाममा देश लुट्न सफल भएका २÷४ जना आसेपासेसँग फर्कन्छन् । मन अमिलो बनाएर तिनकै कुरा सुनिदिनु पर्छ । मौका परे तपाईंलार्ई नै यो दारी बुढो कुन हो चिनिएन भन्न बेर लाउँदैनन् ।

आज यिनीहरुले तपाईंको जन्मदिनलाई बिपी स्मृति भनेर ठोकिदिन्छन् । यिनीहरुलाई बिपी कुन चरीको नाम हो थाहा छैन र थाहा पाउने रुचि पनि छैन । हुनत कांगे्रसमा बेतिथिको सुरुआत तपाईंको देहावसानपछि तपाईंकै भाइ गिरिजाले गरेका हुन् । तपाईंका अन्नय मित्र गणेशमानलाई अवहेलना गरेकै हुन् । गणेशमानका भतिजा दुर्गेशमानलाई राष्ट्रिय योजना आयोगमा ल्याउने कुरामा रोइलो मच्चाएकै हुन् । बहुमतको सरकार हुँदाहुङ्दैग पनि म नै राष्ट्र भन्दै हुँ २०५१ मा देशलाई मध्यावधि चुनावमा धकेलेकै हुन् ।

वीरगन्जबाट चुनाव जितेर आएपछि प्रधानमन्त्री बनेका किशुनजीलाई १० महिनामा वहिर्गमनका लागि वाध्य पारेको पनि त गिरिजाप्रसादले नै हो । त्यसपछि आफै प्रधानमन्त्री बने । उनी आफै टनकपुर सन्धिमा चिप्लिएकै हुन् । पुत्रीमोहमा लिप्त उनले सुजातालाई स्वदेशी जामा पहिराएकै हुन् ।

साँच्चै, सान्दाजुको पालामा पनि नेपालको राजनीतिमा सकुनी बनेर ख्याति कमाएका ऋषिकेश शाहले पनि नेपाली राजनीतिलाई जोखिममा पारेकै थिए । विसं २०१५ को निर्वाचनमा हजुरलाई हराउन उनले जोगबेनीमा अघोषित क्याम्प बनाएकै हुन् । दाइको मत काट्नका लागि उनकै समर्थनमा डा. अवधनारायणले उम्मेदवारी दिएकै हुन् । यस्ता घात प्रतिघात राजनीतिमा चलिरहन्छ । आफ्ना स्वार्थ अनुसार नेताहरु प्रस्तुत हुन्छन् । जुन हिजो पनि थियो र आज पनि छ । विचारले तान्नु पर्नेमा द्रव्यले आफ्ना पक्षमा पार्नु अपाच्य हुन्छ । विधिप्रधान हुँदा मान्य हुन्छ । व्यक्ति प्रधान हुँदा मलामी घट्छन् भन्ने हेक्का राख्नुपर्ने हुन्छ ।

काँग्रेसभित्रको श्रृंखलाबद्ध विकृति, विसंगति, बेथिति र व्याक्ति पूजन प्रवृतिलाई अन्त्य गरी कञ्चन कांग्रेस निर्माणमा तपाईंले देवलोकबाट सन्देश दिनुपर्ने स्थिति छ । अहिले तपार्इं हजारौं सहिदका साथ समय बिताउँदै हुनुहुन्छ । नेपाल र नेपालीको बृहत समृद्धिका लागि राय परामर्श गरेर आउँदो अधिवेशनमा उपयुक्त नेतृत्व चयनका लागि मार्ग निर्देशन गरिदिनु हुन्छ कि भन्ने आशामा छौं ।

साउन ६ गते हामीले मौखिक गुनासो गरेका थियाैं तपाईंलाई भदौ २४ गते सबै समाधान गर्छु भन्नु भएको थियो । समस्या समाधान समिति नै बनाएर अध्ययन गर्नु भए होला । के गरी उपयुक्त हुन्छ होला मार्गदर्शन दिनु होला । आउँदो पुस १६ सम्म उपाय दिनु होला ।

अहिले एकथरिलाई देउवाले विभाग गठन गर्नाले निन्द्रा लागेको छैन । आखिर जे भए पनि त्यस्ता विभाग मनोनयनमा परेकालाई कांग्रेसी नै मानिएको छ । तिनीहरुलाई अनिद्रा भएर कब्जियत हुँदा पनि कांग्रेसलाई नै भार हुन्छ । यता एकथरी बिना सदस्यता कांग्रेस विभागको सदस्य पाएकोमा दंग छन् । केन्द्रैमा देउवाले त्यस्तो के गरे भन्नु जिल्लातहमा पनि नेताको आसेपासे र नवप्रवेशीका लागि सिट सुरक्षित गरिएकै छ । सबै आमन्त्रित सदस्यमा अटाएका छन् ।

अतिथि देवो भव: भनेको यही होला । जिल्ला जिल्लामा नवप्रवेसीहरु आफूलाई खुंखार नेताका रुपमा चिनाउँदैछन् । पनि पुराना नेता कार्यकर्तालाई प्रशिक्षण दिँदैछन् । यी सबै क्रियाकलाप काग्रेसमा चल्छ । किनकि कांग्रेस लोकतान्त्रिक तथा सबै विचारलाई स्थान दिने पार्टी हो ।

कांग्रेसमा विपीको निधनसँगै साँवा सकिएको छ । बाँकी ब्याज किशुनजी, गणेशमान, गिरिजा र शुशीलको अवसानपछि रित्तै भइसकेको छ । अब तपाईंले समाजवादी चरित्र, व्यभिचारी जत्थालाई नेतृत्वमा जान रोक्न देवस्त्र पठाउनु पर्ने भएको छ । अब यस्तो अस्त्र पठाइदिनु होला जसका कारण मनदेखि कांग्रेसको भलो चाहाने र समर्पित कांग्रेसलाई खुसी राख्न सकून् ।

सान्दाजुसँग यो कुरा गरिरहँदा आसन्न १४ औ महाधिवेशनमा यस्ता व्याक्तिलाई समेट्न सके कांग्रेसको गिरेको साख जोगिन्थियो कि ? यो कुरालाई मनन गरी निर्देशन दिनु होला । शशांक, विमलेन्द्र र प्रकाशमानसहित रामचन्द्र, शेखर, कुलबहादुर, महिलातर्फ आरजु, किरण, पुष्पा, डिला, समेट्ने गरी युवाहरु अट्ने गरी विभिन्न ऊर्जावान व्यक्ति जमघट भूगोल, क्षेत्र, जातजाति, भाषा संस्कृति, जनसंख्या लैंगिक समानता समेतलाई दृष्टिकोण गरियोस् भन्ने हाम्रो चाहाना हो ।

२०३७ को जनमत संग्रहमा मधेशको बारेमा तपाईंको दृष्टिकोण अहिले झन् सान्दर्भिक छ । सान्दाजुले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्न र आउँदो निर्वाचनलाई तराईको नेतृत्व हुनसक्ने उक्त दूरदृष्टिलाई कसैले पालना गरेनन् । तराईलाई कांग्रेसीले आफ्नो आधार बनायो ।

परशुनारयाण, महेन्द्रनारायण महामन्त्री भए सीतादेवी, पद्मनारायण, महन्थ ठाकुरहरु कोषाध्यक्ष भए । विजय गच्छदारहरु उपप्रधानमन्त्री भए डा. रामशरण राष्ट्रपति भए । यति हुँदाहुँदै पनि २०४८ मै प्रधानमन्त्रीको सम्भावना बोकेका महेन्द्र नारायण प्रधानमन्त्री हुन् पाएनन् । आजसम्म ७५ वर्षको इतिहासमा तराईले पार्टी सभापति पाएन् ।

त्यसैले यो पटक तराईलाई प्रधानमन्त्री दिने र सभापतिमा छोरा वा भतिजालाई सर्वसम्मत गराउन देउवालाई उनकी पत्नी आरजुलाई पनि केन्द्रीय नेतृत्वमा ल्याउने गरी प्रपञ्च मिलाउन र रामचन्द्रलाई भावी राष्ट्रपतिलाई राष्ट्र सेवा गर्न प्रेरित गर्नुभई यस पटकको महाधिवेशन सम्पन्न गराउने प्रेरणा दिन आग्रह गर्दछांै । सान्दाजु कति पटक लेखौं । टिकट पाएर पनि पराजित भएका र केन्द्रीय समितिमा बसेर जनाधार बनाउन नसक्नेलाई यस पटकको निर्वाचनमा आरक्षणबाट पनि प्रवेश गर्न नपाउने व्यवस्था मिलाइदिन हुन पनि आग्रह छ । तपाईंप्रति भावपूर्ण श्रद्धासुमन । साभार ः समाधान न्युजडटकम 

प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७     3:12:34 PM

Tara Chapagain

See all posts by