साहित्यिक धरोहर

‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ राष्ट्रकविका कालजयी उद्गार ! यस्तै आजीवन नेपाली माटो र मुटुको स्पन्दनलाई उजिल्याउने युगद्रष्टा र कुशल स्रष्टा हुनुहुन्छ राष्ट्रकवि माधव घिमिरे । नेपाली साहित्य क्षितिजका अमर नक्षत्र । दीर्घसाधना, अनुभव र शाश्वत साहित्य सिर्जनशीलताका युगीन स्तम्भ । लेखनाथ, सम र देवकोटाले हाँकेको युगदेखि वर्तमान युगसम्मका अटल साहित्य पुरुष । उहाँको अवसान, मानौँ एउटा युगीन धरहराको अवसान ।

महापुरुषका वैयक्तिक जीवनघुम्तीहरू अकल्पनीय हुन्छन् । कालीगण्डकीमा शालिग्राम कुँदिएझैँ चट्टान र सङ्घर्षका कसीमा स्थापित हुन्छन् । लमजुङ पुस्तुनका टोपनाथलाई सेतु र महादेउ हुँदै राष्ट्रकविका रूपमा स्थापित हुन धेरै घुम्ती पार गर्नुप¥यो । १९७६ असोज ७ को जन्म, १९९० को दाम्पत्य जीवन र २००४ को पत्नीशोक । विडम्बनै–विडम्बनाका बीच गौरीको अवसानमा शान्ति र कान्तिजस्ता शिशुहरूको लालनपालन । काठमाडौँ डेराको बसाइ र कठिन जीवन सङ्घर्ष आदि ।

शोकलाई शक्तिमा रूपान्तरण गर्न सक्नु महापुरुषको अभिलक्षण हो । अमर शोककाव्य ‘गौरी’को उदय पनि यस्तै दृष्टान्त मानिन्छ । आशावादी जीवन दर्शनको व्यावहारिक प्रयोग ठानिन्छ । राष्ट्रकविले पीडा, अभाव र व्यवधानलाई आत्मसात् गरिरहनुभयो । शिक्षादीक्षा, लेखन, सम्पादन र प्राध्यापनलाई समेत जीवन घुम्तीमा वरण गरिरहनुभयो । भाषानुवाद परिषद्का जागिरे (१९९९) देखि कुलपति (नेप्रप्र ः २०४७) पदमा आसीन हुँदासम्मका मोडहरूमा जुटिरहनुभयो । न त कहिल्यै हिम्मत हार्नुभयो न त सेवा र सिर्जनधर्मितालाई विश्राम दिने मनसाय बनाउनुभयो । बरु १९९० देखिको साहित्यिक यात्रालाई जीवनको अभिन्न अङ्गका रूपमा लिइरहनुभयो ।

राष्ट्रकविको जीवन दर्शन नै उहाँको दीर्घजीवन र लोकप्रियताको आधारशिला बन्दै गयो । निराशा हैन आशावादिता, शिथिलता हैन निरन्तर सिर्जनशीलता, विद्रोह हैन सहनशीलताजस्ता मान्यताले प्रश्रय पाइरह्यो । जीवनका हरेक आरोह–अवरोहमा माटो र मुटुको सम्बन्ध गाँसिरह्यो । मानवता र नेपाली धर्तीको सुगन्धलाई आफ्नै श्वासप्रश्वासझैँ ग्रहण गरिरह्यो । फलस्वरूप उहाँबाट नेपाली साहित्य क्षितिजमा अमूल्य सम्पदाहरू भरिँदै गए । लयात्मक प्रकृतिका अनेकौँ सिर्जना, नाटक÷गीतिनाटक, आख्यान र निबन्धात्मक दार्शनिक अभिव्यक्तिहरूले उहाँलाई अमर तुल्याउँदै लगे ।

श्रुतिलालित्य र साङ्गीतिक मनोहारिता कसलाई मन पर्दैन र ! राष्ट्रकविले जहिलेसुकै यस्तै सिर्जना दिइरहनुभयो । उहाँले गीत, कविता, काव्य र महाकाव्यजस्ता लयात्मक विधाका माध्यमबाट छुट्टै संसार निर्माण गर्नुभयो । पापिनी आमा, गौरी, राजेश्वरी, धर्तीमाता, राष्ट्रनिर्माता, इन्द्रकुमारी, बोराको परदा तथा गौँथली र गजधम्मेजस्ता काव्यकृतिले साहित्यिक वाटिकालाई पूर्णता दिँदै जानुभयो । त्यस्तै चैत्रवैशाख र किन्नर–किन्नरीजस्ता कविता र गीतका सङ्ग्रहले नवीनतम स्वर थप्दै गए । अझ महत्वपूर्ण विषयका रूपमा रहेको ऋतम्भराजस्तो दीर्घसाधनाको अमूल्य महाकाव्यात्मक ग्रन्थले पनि पूर्णता पायो ।
अभिनयको जीवन्ततालाई अक्षुण्ण राख्ने नाट्यकृति सधैँ अमर हुन्छन् ।

त्यस्तै राष्ट्रकविका मालती मङ्गले, विषकन्या, अश्वत्थामा, देउकी, हिमालपारि हिमालवारि र बालकुमारी आदि नाटकमा पाइने गीत्यात्मक स्वर र हृदयसंवेद्य विषयहरूले जहिले पनि दर्शक÷पाठकलाई मुग्ध तुल्याएका छन् । विश्वासाहित्यमा प्रतिस्पर्धा गर्ने अश्वत्थामाको मिथकीय प्रयोग वास्तवमै उच्चकोटिको मानिन्छ ।

साहित्य सौन्दर्यको संसार हो । मानवीय अनुभूति र जीवन जगत्को पूर्णता हो । शाश्वत कालजयी चिन्तन र स्वरूपहरूको दृष्टान्त हो । कदाचित् राष्ट्रकविजस्ता महापुरुषका लागि अभिन्न साधना पनि हो । त्यस्तो साधना जसले जीवनका मोड वा घुम्तीहरूलाई सधैँ दिशाबोध गराएको हुन्छ । राष्ट्रकविको अथक साहित्य साधनाले सिङ्गो युगको प्रतिविम्बन गरेको छ । उहाँले जीवनलाई सकारात्मक र सङ्गतिपूर्ण पक्षबाट नियाल्नुभएको छ । जीवन फूलजस्तै हँसिलो र सुगन्धी हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्नुभएको छ । कोइली र झरनाको सुरिलो भाका र लयमा जीवनको सार पहिल्याउनुभएको छ । शारदीय चन्द्रमाको आभाका रूपमा व्याख्या गर्नुभएको छ ।

जहाँ मानवीय संवेदना हुन्छ त्यहीँ सुन्दर संसारको अस्तित्व रहन्छ भन्ने बताउनुभएको छ । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीको समन्वयमा रमाएका छन् राष्ट्रकविका सम्पूर्ण सिर्जना । देवकोटाझैँ स्वप्निल संसारका यात्री हुनुहुन्छ घिमिरे । प्राकृतिक अनुगुञ्जन र मानवीय संवेदनाका पुजारी हुनुहुन्छ उहाँ । नेपाली भीरपाखा र पखेरामा अथवा नदी, ताल र झरनामा समाहित हुनसक्ने साधक पनि हुनुहुन्छ । हार्दिक प्रेम र प्रेमिलताका उद्घोषक हुनुहुन्छ । अनि, राष्ट्रिय संचेतनाका तरङ्गमा आलोडन गर्ने स्रष्टा हुनुहुन्छ ।

वैयक्तिकता, भावुकता, हार्दिकता र निजत्वका अनन्य संसर्गी । कालिदासीय प्रवृत्तिका अनुयायी । त्यसैले उहाँ हुनुहुन्छ देवकोटाकालीन युगका उच्च धरोहर । देवकोटाको आशुलेखन र हतारिलोपनका पक्षधर होइन उहाँ । अजस्र भावप्रवाहका तात्कालिक प्रस्तोता पनि होइन । भावप्रवाहलाई तत्काल ग्रहण गरे पनि शिल्पसज्जा वा परिष्कारधर्मिताको अनुशासनलाई पूर्णतः पालन गर्ने स्रष्टा हुनुहुन्छ घिमिरे । यसै कारण पनि उहाँलाई लेखनाथीय युगका समेत उच्च धरोहर मानिन्छ । जहाँ सिर्जनाभित्र परिष्कार, परिमार्जन र शास्त्रीय अनुशासनको कालीगढी पाइन्छ । लयात्मक उचाइ र साङ्गीतिक अनुगुञ्जनको मुहान पाइन्छ । सुनभित्रको सुगन्ध र बेदाग चन्द्रमाको झझल्को पाइन्छ । समुद्रको गहिराइमा पाइने मोतीदाना र नीलिमापूर्ण गगनका तारामण्डलको चमक पाइन्छ । उदात्त भावनालाई कलात्मक सौन्दर्यभित्र सजाउन सक्ने प्रतिभा हुनुहुन्छ राष्ट्रकवि । जस्तै,

क्यै काम नौलो नगरी नजाऊँ
अकालमै हे, म मरी नजाऊँ
आयुष्य देऊ र भविष्य देऊ
मभित्र जीवन्त मनुष्य देऊ ।। (धर्तीमाता ः ११।५)

आफू रहे आफ्नो सुन्दर संसार रहन्छ । सांसारिक गतिविधि र मानव जीवनको सम्बन्ध रहन्छ । त्यसैले आफू बाँच्नैपर्छ । जसरी दीर्घ जीवन बाँच्न सकिन्छ । महापुरुषहरूले केही न केही नौला काम गर्छन् नै भन्ने मान्यताजस्तै यस्ता विचार प्रकट भएका छन् । सम्भवतः यस्तै चिन्तन, मनन, व्यवहार वा क्रियाकलापले उहाँलाई १०१ वर्षको आयुले लक्ष्यसम्मको साधक बनाइरह्यो । लक्ष्यभेदन कहिल्यै सजिलो हुँदैन । उहाँकै शब्दमा भन्नुपर्दा–
ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल

सिर्जना–शक्ति संसारमा कैल्यै हुँदैन विफल ।। (पापिनी आमा ः ७४)
अर्थात् केही काम नगरी नमर्ने प्रण गरेका महापुरुषलाई सिर्जनशीलताको परिवेशबारे राम्रो जानकारी हुन्छ नै । संसारमा विशाल काय अमर वृक्षको बीजलाई अङ्कुरण गराउने चुनौतीकै लागि पनि महापुरुषहरूले दीर्घ जीवनको लक्ष्य राखेका हुन्छन् ।
आहार, विहार, सोच र दिनचर्या आदिले आयुको रेखाङ्कनका लागि भूमिका निर्वाह गर्छन् । शुद्ध आहार, प्राकृतिक विहार, सकारात्मक सोच र साधनामय दिनचर्याकै कारण पनि राष्ट्रकविको जीवन प्रभावित देखिन्छ । अझ धर्मपत्नी महाकालीको सेवा सुश्रूषा र सहयोगका कारण पनि यस्तो सम्भव भएको हो । मेरो पटकपटकको साक्षात्कार र संवादले यही निष्कर्ष निकालेको छ । जहाँ जहिल्यै महान् विचारहरू गुञ्जायमान हुन्छन् त्यहाँ पक्कै जीवनको महानता किन नलुकोस् ः

सधैँ उज्यालो सृजना जिऊँ झैँ
सुधा दशै इन्द्रियले पिऊँ झैँ
बोलूँ भने जीवन एक वाक्य
‘जीवेम भूयः शरदः शताच्च’ ।। (राष्ट्रनिर्माता ः १।२५)

दीर्घ जीवन र साहित्य साधनाका पर्यायवाची राष्ट्रकविको अवसान अत्यन्त दुःखद क्षण हो । नेपाली माटो र मुटुले आँसु बगाएको क्षण हो । स्तब्ध र निःशब्द तुल्याएको अनि साहित्य क्षितिजमा एउटा चम्किलो तारा हराएको क्षण हो तर उहाँको यश, कीर्ति र आदर्शलाई नेपाल र नेपाली मनले कहिल्यै भुल्नेछैन । अमर रचना र देशभक्तिपूर्ण प्रेमिल गीतहरूले सधैँ सम्झना गराइरहनेछन् । कविता, काव्य, नाटक र कथा आदिका हरेक शब्दले पदचिह्न खोजिरहनेछन् । जसको जीवनकालमै आफ्ना सिर्जनाकेन्द्री नौदशवटा विद्यावारिधिका प्रबन्ध लेखिएका थिए । दर्जनौँ स्नातकोत्तर शोधप्रबन्ध तयार भएका थिए । विभिन्न पाठ्यपुस्तकका सामग्री बनेका थिए । त्यस्ता महापुरुष, युगद्रष्टा र साहित्य स्रष्टा राष्ट्रकवि सधैँ अमर रहनेछन् । अझै शतायु शतायुसम्म ।

प्रकाशित मितिः शनिबार, भदौ ६, २०७७     12:07:22 PM

Tara Chapagain

See all posts by