महिला पर्यटन व्यवसायीद्वारा स्थापना दिवसमा राहत वितरण

पोखराका महिला पर्यटन व्यवासायी मञ्च (ओटेफ)ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा पर्यटनक्षेत्रका मजदुरहरुलाई राहत वितरण गरेको छ । कोभिड— १९, ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण जीवनयापनमा समस्या भोगिरहेको विपन्न पर्यटन मजदुरहरुलाई मञ्चले राहत वितरण गरेको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य राजिव पहारीले कोभिड— १९, को असरमा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र लाखौको रोजीरोटी गुमेको बताउनुभयो । उहाँले कठिन अवस्थामा आत्तिएर भन्दा धैर्य गरेर नै कठिनाईको सामना गर्नुपर्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले व्यवसायी महिलाले कोभिड —१९, को असरमा परेका पर्यटन मजदुरलाई राहत प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गरेका बताउनुभयो । वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पर्यटन क्षेत्रको मजदुरको समस्यालाई बुझेर राहत वितरण गर्नु निकै सकारात्मक भएको बताउनुभयो ।

पहारीले कोरोनाको सङ्क्रमण वडामा देखिए पनि आत्तिएर भन्दा सुरक्षित भएर यसबाट जोगिनु पर्ने धारणा राख्नुभयो । महिला पर्यटन मञ्च ओटेफका अध्यक्ष जमुना पहारीले मजदुर र व्यवसायी एक सिक्का दुई पाटा रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा मजदुरको योगदानलाई विर्सन नहुने भन्दै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण गरेको बताउनुभयो।

कार्यक्रममा पर्यटन क्षेत्रमा कार्यरत ३० जना मजदुरहरुलाई चामल, दाल, तेल नुन लगायतका सामाग्री वितरण गरेको संस्थाका सचिव उमा भण्डारीले जानकारी दिनु भयो ।

प्रकाशित मितिः बिहिबार, साउन २९, २०७७     6:16:24 PM

Tara Chapagain

See all posts by