कौसीमै मनग्य फलफूल र तरकारी

 

2020-08-08-20028

त्यति मात्र होइन १३० घरका छतमा फलेको फलफूल घरायसी उपभोग मात्र हुन छाडेको छ । उत्पादन प्रशस्त हुन थालेपछि त्यसको बेग्लै बजारीकरण हुन थालेको छ ।
पोखराको नागढुङ्गाका १३० घरका छतमा उत्पादन भएको फलफूल तरकारी बिक्री वितरण गर्न पोखरा महानगरपालिका–८ स्थित नागढुङ्गा टोल विकास संस्थाले कृषि उपज सङ्कलन बिक्री सहजीकरण केन्द्र स्थापना गरेको छ । १३० घरधुरी मिलेर केन्द्र स्थापना गरेका हुन् । छत र घरायसी रूपमा उत्पादन भएको तरकारी बिक्री गर्न आफ्नै टोलका सदस्यलाई बिक्री वितरण गर्नेगरी केन्द्र सञ्चालन गरिएको टोल विकास संस्थाका अध्यक्ष डम्बर सुवेदीले बताउनुभयो । टोलका सदस्यले उत्पादन गरेको तरकारी र फलफूल सङ्कलन गरेर बिक्री गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
कौसी खेतीसँगै घरबाट उत्पादन हुने ८० प्रतिशत फोहोर पनि व्यवस्थापन भएको छ । त्यही फोहोरको मल उत्पादन गरेर ६० प्रतिशत तरकारी उत्पादन भएको बताइएको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखाका अनुसार वडा नम्बर ८ मा मात्रै गत आर्थिक वर्षमा दुई हजार जनाले कौसीखेती तालिम लिएका थिए । तीमध्ये ५० प्रतिशतले कौसीमा तरकारी र फलफूल खेती गरेको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । कोरोना विषाणुका कारण भएको बन्दाबन्दीमा छत तरकारी खेती गर्नेको सङ्ख्या बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरले एक घर एक कागती बिरुवा वितरण गरेको थियो । गत वर्ष बाह्रमासे कागतीका बिरुवा सय घरमा वितरण गरेकोमा अहिले कागती उत्पादन भएको छ । उहाँका अनुसार छतमा लगाएको कागती छिटो फलेको छ । कागती फलेपछि सबै उत्साहित भएको उहाँले बताउनुभयो ।
कौसीखेतीबाट मात्रै मासिक ५० करोड रुपियाँको तरकारी उत्पादन गर्न सकिने पोखरा महानगर कृषि महाशाखाले जनाएको छ । कृषि महाशाखाका प्रमुख कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसीखेती गर्दा मासिक करिब ५० करोड रुपियाँ सम्मको तरकारी फलाउन सकिने बताउनुभयो । घरबाट निस्कने कुहिने फोहोरको मल बनाएर कौसीखेती गर्न सकिने उहाँको भनाइ छ । तरकारी उत्पादनमा मल, बीउ व्यवस्थापन गर्ने हो भने छिटो र राम्रो उत्पादन हुने उहाँ बताउनुहुन्छ ।
घरको छतमा प्लास्टिक घरको अवधारणा ल्याए उत्पादन अरू सहज हुने जनाइएको छ । पोखरा महानगर कृषि महाशाखाले कम्पोस्ट बिन ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । पोखरा महानगरले फोहोरको वर्गीकरण गर्दै कम्पोस्ट मल बनाएर कौसीखेतीमा प्राथमिकता दिने नीति अनुसार अभियानसमेत सुरु गरेको छ ।  गोरखापत्रमा एकराज गिरीले लेख्नु भएको छ । 

प्रकाशित मितिः शनिबार, साउन २४, २०७७     7:13:08 AM

Tara Chapagain

See all posts by