भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीहरूको चाप ह्वातै बढेको छ । पछि इमर्जेन्सी र आइसीयु वार्ड सर्पदंशका (सर्पले टोकेका) बिरामीले भरिएको छ । वर्षात् सुरु भएसँगै अस्पतालको इमर्जेन्सी र आइसीयु वार्ड सर्पदंशका बिरामीले भरिएको हो ।

दैनिक १० देखि १५ जनासम्म सर्पले टोकेका बिरामीहरू उपचारका लागि अस्पतालमा आउने गरेका छन् । कोरोना संक्रमणको त्रास र भेन्टिलेटर सुविधा नभएको भन्दै कैलाली, बर्दिया, दाङ र सुर्खेतका अस्पतालहरूले सर्पले टोकेका बिरामीहरूलाई भेरी अस्पतालमा रिफर गर्ने गरेका छन् ।

अहिले अस्पतालको इमर्जेन्सी, आइसीयु र जनरल वार्डमा सर्पले टोकेका बिरामी राखिएको छ । घर नजिकैका अस्पतालहरूमा उपचार नहुदा ४/५ घन्टा लगाएर भेरी अस्पतालमै पुर्याउनुपर्ने बाध्यता छ । ढिलोगरी अस्पताल पुर्याउँदा अधिकांश बिरामी गम्भीर अवस्थामा पुगिसकेका हुन्छन् । उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको छ ।

भेरी अस्पतालको आइसीयु वार्डमा ६ वटा बेड र ६ वटै भेन्टिलेटर छन् । अस्पतालका आइसीयू वार्ड प्रमुख डा.पारस पाण्डेले भएका बेडमध्ये धेरैजसोमा सर्पले टोकेका बिरामी राखिएको जानकारी दिए । यो वर्ष अस्पताल पुर्याउन ढिलो गरेकाले बाटोमै तीन जना बालबालिकाको मृत्यु भएको छ । सर्पदंश भएका दाङ, बाँके र कैलालीका बालबालिकाको समयमै उपचार नपाउँदा मृत्यु भएको हो ।

यस्तै, आइसीयुमा राखेर उपचार गर्दागर्दै २ जनाको मृत्यु भएको छ । यो वर्ष बिखालु सर्पले टोकेका १५० जना भेरी अस्पतालमा उपचारका भर्ना भइसकेका छन् । भर्ना भएकामध्ये ४५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । सर्पदंशको प्रकोप बढ्दै गएकाले झुल लगाएर खाटमा सुत्न, घर बाहिर निस्कँदा टर्च बालेर सजग भएर निस्कन र घरबाहिर होसियार भएर काम गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । सत्यपाटी 

प्रकाशित मितिः शनिबार, साउन १७, २०७७     4:50:38 PM

Tara Chapagain

See all posts by