पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ६२ प्रतिशत सम्पन्न

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६२ प्रतिशत काम सम्पन्न भएको छ । निर्माणाधीन आयोजनाको हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, ह्याङ्गर गरी ६२ प्रतिशत काम सम्पन्न भइसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताउनु भयो ।

पर्यटनको राजधानी शहर पोखरालाई विश्वका अन्य शहरसँग सिधा हवाई सम्पर्क जोड्ने लक्ष्यसहित निर्माणाधीन विमानस्थलको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीले सन् २०२१ को जुलाई १० मा निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ । हाल सम्म १२ अर्व रकम खर्च भएको निमार्ण आयोजना प्रमुख विनेश मुनांनकर्मीले जानकारी दिनुभयो । हाल चाइनिज २ सय ४४ र नेपाली १ सय जनाले दैनिक काम गरिरहेका विमानस्थलमा तोकिएको समय सिमाभन्दा ६ महिना अघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको भएपनि कोरोनाका कारण असर पार्ने देखिएको प्रमुख मुनानकर्मीको भनाइ छ ।

“बन्दाबन्दीका कारण भारत र चीनबाट आउनुपर्ने आवश्यक निर्माण सामग्री सहजरुपमा आउन नसक्नु र नेपाली मजदुर पनि आवश्यकता अनुसार उपलब्ध नहुनुले झण्डै १० प्रतिशत काममा ढिलाई भएको छ ,तर कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएन्, जारी रहयो ,। चीनको केरुङ नाकामा र भारतको कोलकत्ता बन्दरगाहामा निर्माण सामाग्री रोकिएको छ ।” उहाँले बताउनु भयो ।

हवाइ मार्ग लगायत अन्य नाकाबाट आवश्यक सामाग्री सहज उपलब्ध हुन सके काम पनि समयमै सक्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थलमा विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुने बताइएको छ । विमानस्थलमा निर्माण गरिने विभिन्न १४ वटा भवनमध्ये हालसम्म अधिकांश भवनको डेकोरेशन, फिनिसिङ ‘सिभिल वर्क’ रनवे टर्मिनल, पार्किङ, ट्याक्सी वे तथा ड्रेन, ‘हाइ मास्ट फ्लड लाइट’ र ट्रान्सफर्मर बक्स जडान काम सकिएको मुनानकर्मीले जानकारी दिनु भयो ।

विमानस्थलमा आइसोलेडेट पार्किङको ‘सववेश’ तथा भित्री पहुँचमार्ग निर्माण, सिँचाइका नाला निर्माण तथा सबै भवनको छाना छाउने काम र ‘हाइ मास्ट फ्लड लाइट’ र ट्रान्सफर्मर बक्स जडान सकिएको छ । विमानस्थलबाट बाहिर निस्कने प्रमुख सडक, कार पार्किङ र टर्मिनल भवनको वरिपरिको सडक पक्की गर्ने काम सकिएको छ ।

विमानस्थल निर्माणका लागि साविक छिनेडाँडा हाल पोखरा–१४ मा विसं २०३२ मा ३ हजार १ सय रोपनी जमिन अधिग्रहण गरिएको थियो । आयोजनाको काम शुरु भएसँगै पहिलो चरणमा ५सय २१ रोपनी जमिन अधिग्रहण गरिएकोमा पछिल्लो पटक थप १सय ४ रोपनी जमिन अधिग्रहण गर्न लागिएपछि विमानस्थलले कूल तीन हजार ७ सय २५ रोपनी क्षेत्रफल ओगट्ने छ ।

प्रकाशित मितिः बिहिबार, साउन १५, २०७७     6:49:00 AM

Tara Chapagain

See all posts by