भ्रामक समाचार प्रसारण गर्ने भारतीय च्यानल बन्द गर्ने निर्णय

काठमाडौँ, असार २५ गते । नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमणपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरूले फोन र म्यासेज गरी त्यस्ता च्यानल बन्द गर्न वितरकहरूलाई आग्रह गर्दैआएका थिए ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतले सामूहिक रुपमा आजतक, जीन्युज, एबीपी न्युजलगायत भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार, सरकारी स्वामित्वको दूरदर्शन र केही बिजनेस टेलिभिजनबाहेक नेपालविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने टेलिभिजन च्यानल बिहीबार साँझदेखि नेपालमा नदेखिने व्यवस्था गरिएको छ । भारतीय टिभी च्यानलहरूले नेपालको अद्यावधिक नक्सा प्रकाशनलगायत आन्तरिक राजनीतिक तथा कूटनीतिक मर्यादाविपरीतका विषयमा तराई मधेशका नेतासमेतको नाम जोडेर भ्रमपूर्ण समाचार प्रसारण गरिहेका छन् ।

प्रबन्ध निर्देशक आचार्यले भारतीय च्यानलमा नेपालविरोधी ‘कन्टेन्ट’ प्रसारण बढेपछि वितरकबीचको सल्लाहले साङ्केतिक रुपमा भारतीय च्यानल बन्द गरिएको बताउनुभयो । उहाँले युट्युबलगायत इन्टरनेटका माध्यमबाट आउने नेपालविरोधी सामग्री रोक्न सरकारले विशेष पहल थाल्नुपर्ने समेत बताउनुभयो । उहाँले भारतीय च्यानलको ‘डाउनिङ’ लाइसेन्स नै खारेज गर्न सरकारले सक्ने भन्दै ‘क्लिन फिड’ लागु गर्नुअघि नै इन्टरनेटबाट अनधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरू रोक्नुपर्ने बताउनुभयो ।गोरखापत्र

प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७     6:06:45 AM

Tara Chapagain

See all posts by