नेपाल विद्यार्थी संघद्वारा बृक्षारोपण

तनहूँ, १९ असार । नेपाल विद्यार्थी संघ तनहूँले स्व.गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा व्यास नगरपालिका वडा नं १ स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा आज बृक्षारोपण गरेको छ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आँप, कटहर, लिची, कागती, लगायतका फलफूलका बिरुवा रोपिएको हो ।

कार्यक्रममा नेता पौडेलले कोरोना महामारीको विद्यमान संक्रमणमा आँफू बाच्नु र अरुलाई बचाउनु हामी सबैको साझा कर्तव्य भएको बताए । महामारीको क्षणमा पनि भ्रष्टाचार तथा अनियमितिता बढीरहेको बताउँदै उनले यस्तो जटिल परिस्थितिमा सडक आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा राखे । स्व.गिरिजाप्रसाद कोइरालाले देशमा लोकतन्त्रको स्थापनाका साथै शान्ति स्थापनार्थ गर्नुभएको योगदान अतुलनीय भएको उनले स्मरण गरे ।

नेपाल काँग्रेसका केन्द्रिय आमन्त्रित सदस्य ध्रुब वाग्लेले लोकतन्त्रको स्थापना एवम् शान्ति प्रकृया अघि बढाउन स्व.गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण योगदान पु¥याएको बताए ।
नेपाली काँग्रेस तनहूँका जिल्ला सभापति बैकुण्ठ न्यौपानेले कोरोनाको रोकथाम र नियन्त्रणमा संघ तथा प्रद्ेश सरकारबाट खासै सहयोग नभएको बताउँदै स्थानीय तहबाट सहयोग जुटाएर काम गर्नुपरेको बताए । पार्टीका जिल्ला सचिव विश्व बास्तोलाले कोरोना महामारीका विरुद्धमा लड्नुपर्ने अवस्थामा बढीरहेको अवस्थामा सत्ताको खिचातानी अशोभनीय भएको बताए ।

नेपाल विद्यार्थी संघ तनहूँका अध्यक्ष एवम् नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि चुडामणि खनालले कोरोनाका कारण जनजीवन तहसनहस भएका अवस्थामा बढीरहेको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विरुद्धमा प्रत्येक युवा एकाकार बन्नुको विकल्प नभएको बताए । ने.वि.संघ तनहूँका सचिव बिमल गिरीको सञ्चालन एवम् जिल्ला उपाध्यक्ष सन्तोष घिमिरेले स्वागत गर्नुभएको कार्यक्रमकै अवसरमा व्यास नगरपालिका वडा नं १ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई १० हजार रुपैयाँ बराबरको फलफूल वितरण गरिएको थियो ।

ने.वि.संघ तनहूँका अध्यक्ष चुडामणि खनालका अनुसार भिमाद नगरपालिका स्थायी बसोबास भै हाल कतारमा कार्यरत साविक मझकोट गा.वि.स.तरुण दलका पूर्व सभापति त्रिभुवन सेनले उक्त फलफूल सहयोग गरेका हुन् । फलफूल बरिष्ठ नेता रामचन्द्र पौडेलले हस्तान्तरण गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, असार १९, २०७७     8:30:54 PM

Tara Chapagain

See all posts by