रमजानको रोजामा कोरोना समाप्तिको प्रार्थना

फाइल तस्वीर

बाँके । नेपालगन्जका मुसलमान समुदायले आजदेखि शुरु भएको पवित्र पर्व रमजानको रोजामा कोरोना भाइरस समाप्तिको प्रार्थना गरेको छ । रोजाका बेला मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहेकामा यस वर्ष कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण घरमा नै बसेर रोग समाप्तिको प्रार्थना गरिएको छ ।

केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष एवम् धर्मगुरु मौलाना अव्दुलजव्वार मञ्जरीले भने, ‘कोरोना भाइरस महामारीले लकडाउनका कारण देशमा बन्द छ नागरिक आआफनो घर बसिरहेका छन् । यस्तो अवस्थामा रमजानको रोजा पनि घरमै प्रार्थना गरेर शुरु भएको छ । कोरोनाका कारण परम्परागत धार्मिक तरिकाले मनाउन नपाइएकोले यो वर्ष रमजानको रोजामा कोरोना भाइरस अन्त्यको कामना गरिएको छ ।’

उनका अनुसार बन्दाबन्दीका कारण रमजानको रोजामा चाहिने खजूर बजारमा नपाइने भएकोले स्थानीयस्तरमा पाइने फल वा घरमा नै बनाइएको पकवानबाट रोजा खोल्न आग्रह गरिएको छ । एक महीनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बी उपवास बस्ने गर्छन् जसलाई ‘रोजा’ भनिन्छ । अङ्ग्रेजी पात्रोअनुसार रमजानको रोजा आजदेखि शुरु भएको छ । इस्लामी पात्रो चन्द्रमाको गतिसँग सम्बन्धित तिथिमितिअनुसार तय हुन्छ ।

यसैले शाअबान महिना समाप्तिसँगै रमजान महिना शुरु हुँदा चन्द्रमा हेरेर रोजा शुरु गरिन्छ भने रमजान महिना समाप्तिको जानकारी पनि चन्द्रमा हेरेर नै हुन्छ । ‘मानव जीवनलाई बचाउनका लागि सरकारले लकडाउनको समयलाई बढाएको छ तर दैनिक मजदूरी गरी परिवार पाल्नेलाई समस्या हुँदै गएको छ । यस्तो परिस्थितिमा समाजका सम्पन्न व्यक्तिले गरीबहरुलाई सहयोग गर्न अगाडि आउन जरुरी छ,’ मुस्लिम अधिकारकर्मीहरु बताउँछन् ।

रमजानमा रोजा इफ्तार पार्टीमा खर्च हुने पैसालाई बचाएर विनाभेदभाव विपन्न व्यक्तिलाई सहयोग गर्न जरुरी भएको रहेको मुस्ल्मि अगुवाहरुको भनाई छ । मुसलमान समुदायको पवित्र पर्व रमजानका अवसरमा नेपालगन्जका धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै पढ्ने गरी व्यवस्था मिलाउन सार्वजनिक आग्रहसमेत गरेका छन् । उनीहरुले रमजान पर्वका क्रममा हुन सक्ने पारिवारिक भेटघाटलाई पनि सीमा दूरी कायम गर्दै सचेतना अपनाउनसमेत आग्रह गरेका छन् ।

प्रकाशित मितिः शनिबार, बैशाख १३, २०७७     2:02:16 PM

Tara Chapagain

See all posts by