बन्दाबन्दीले ‘नयाँ मुलुक’को सम्झौतास्थल बढैयाताल प्रभावित

बाँके । कोभिड–१९ संक्रमणपछि जारी बन्दाबन्दीका कारण बर्दियाको बढैयातालको पर्यटकीय क्षेत्र निर्माण योजना प्रभावित भएको छ । बढैयाताल गाउँपालिकाका जनप्रतिनिधिले बढैयाताललाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाएपछि झण्डै एक वर्षअघिदेखि दु्रतगतिमा भइरहेको निर्माणको काम लकडाउनको मारमा परेको छ ।

बढैयाताल क्षेत्रमा वनभोजस्थल, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती र दृष्यावलोकन स्तम्भ निर्माण भइसकेका छन् । पक्की बाटो, ताल वरिपरि बाँध, उद्यानलगायत निर्माणको काम हाल रोक्नुपरेको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । बाह्रै महिना पानी जम्मा भइरहने मुख्य विशेषता रहेको बढैयाताल यहाँको सबैभन्दा ठूलो तालका रुपमा रहेको छ ।

साथै विभिन्नथरिका माछा, कमलको फूल, घाँसे मैदान, चराचुरुङ्गीको बासस्थालले ताललाई थप आकर्षक तथा रमणीय बनाएको छ । ताल क्षेत्रमा अरब सागरबाट चराहरु आउने भएकाले यसको आकर्षण अझै बढेको छ । मुलुक संघीय संरचनामा गएपछि स्थानीय तह गठनका क्रममा बढैयातालकै नामबाट गाउँपालिकाको नाम राखिएको अध्यक्ष श्रेष्ठले बताए ।

यही तालकै आसपास नेपालले सुगौली सन्धिमा गुमाएका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्तासम्बन्धी सम्झौता भएको बताइन्छ । स्थानीय तह गठनअघिसम्म ठेक्कामा लगाई माछापालनका रुपमा ताल प्रयोग गरिँदै आएको थियो । माछापालनले गर्दा ताल कुरुप देखिएपछि नयाँ निर्वाचित जनप्रतिनिधिले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना पारित गरेर काम शुरु गरेपछि अहिले यसको मुहार नै फेरिएको छ ।

‘बढैयाताल अहिले निकै आकर्षक र सुन्दर देखिएको छ । ताल क्षेत्र राम्रो हुँदै गएपछि पर्यटकहरु पनि आउन थालेका छन्, जसका कारण यहाँको गौरव पनि बढेको छ,’ स्थानीयवासी चंखु थारुले भने । बढैयाताल पर्यटकीय क्षेत्र योजना अन्तरगत प्रदेश सरकारको रु.एक करोड र गाउँपालिकाको दुई करोड गरी रु तीन करोडमा त्यहाँ थारु संग्रहालय पनि निर्माण हुने भएको छ ।

‘केही महिनाअघि ठेक्का गएर काम शुरु हुनै लाग्दा बन्दाबन्दीका कारण संग्रहालय निर्माणको काम अघि बढ्न सकेको छैन,’ अध्यक्ष श्रेष्ठले भने । गाउँपालिका ४ र ५ का बीचमा बढैयाताल अवस्थित छ । ताल क्षेत्रमा थारु समुदायको बाक्लो बस्ती छ । तालमा थारु समुदायको पहिचानसँंगै यसको इतिहास पनि जोडिएको छ । बढैयाताल क्षेत्रमा पर्यटकीय योजनासंँगै थारु संग्रहालय निर्माण हुने भएपछि स्थानीयवासीले यसप्रति अपनत्वग्रहण समेत गरेका छन् ।

गाउँपालिका माछा उत्पादनको मुख्य क्षेत्रका रुपमा चिनिँदै आएको छ । माछा उत्पादनसंँगै गाउँपालिकामा आलुको बीउ उत्पादन र व्यावसायिकरुपमा तरकारी खेती हुँदै आएको छ । गाउँपालिका बर्दियाको पूर्वदक्षिण भागमा पर्छ । मैनापोखर, भोलागौढी र शीतलाबजार बढैयाताल गाउँपालिकाको बजार क्षेत्र हो । यहाँका ८५ प्रतिशत बासिन्दा कृषिमा आश्रित रहेका छन् ।

प्रायः सबैजसो किसानले माछापालन व्यवसायसमेत गर्दै आएको अध्यक्ष श्रेष्ठ बताउँछन् । माछापालक कृषकलाई दृष्टिगत गरी यस वर्षदेखि तालमा चराचुरुङ्गीका लागि र गाउँपालिकाले आफै बिक्री गर्ने गरी माछापालन गर्ने योजना बनाइएको उनले बताए । यसका साथै गाउँपालिकामा व्यावसायिक तरकारी खेती र आलुको बीउको राम्रो उत्पादन हुँदै आएको छ । करीब २०० किसान व्यावसायिक तरकारी खेती र आलुको बीउ उत्पादनमा लागेका छन् ।

बढैयाताल गाउँपालिकामा स्थानीयस्तरमा उत्पादित तरकारी शीतला हाटबजार, पशुपति हाटबजार, सीतापुर हाटबजार र मैनापोखरबाट बिक्रीवितरण हुँदै आएको छ । मैनापोखर र कालिकाबाट वर्षेनी ४०० टन आलुको बीउ र एक हजार ४०० टन आलु उत्पादन हुँदै आएको छ । गाउँपालिकाले बजेट अभावका कारण चाहेर पनि पर्याप्तरुपमा पर्यटन र कृषि विकासमा बजेट विनियोजन गर्न सकेको छैन ।

गाउँपालिकामा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर किसानका लागि खर्च हुने गरेको छ । सरकारले कृषिमा आधुनिकीकरण गर्ने भने पनि कृषिका लागि न्यून बजेट छुट्याउने गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठ गुनासो गर्छन् । बन्दीबन्दी खुलेपछि युद्धस्तरमै गाउँपालिकाको विकास योजनालाई सञ्चालन गर्न गाउँपालिकाले रणनीति तयार गरेको छ । रासस

प्रकाशित मितिः शुक्रबार, बैशाख १२, २०७७     2:31:34 PM

Tara Chapagain

See all posts by