दुखका साथी स्थानीय सरकार र सुरक्षाकर्मी

फाइल तस्वीर

बाँके । सुनसरीका ताङचुक बासुक मियाँ कर्णाली प्रदेश राजधानी सुर्खेतमा मजदुरी गर्थे । तीन महिनाअघि काम खोज्दै सुर्खेत पुगेका उनी लकडाउनपछि १५ दिन बिना काम बसे । पछि भोकै बस्ने अवस्था आएपछि प्रहरीलाई गुहारे । उनको अवस्था बुझेपछि सुर्खेत प्रहरीले सुनसरी जानको लागि पासमात्रै बनाएर गाडीमा हालिदियो । प्रहरीकै सहयोगमा उहाँ तीन घण्टामा कोहलपुर पुगे ।

‘म यता लकडाउनमा परे । दुई छोरा भारतमा लकडाउनमा छन् । श्रीमती बिरामी परेकी थिइन् । धेरै गुहार गरेपछि प्रहरीले मेरो समस्या बुझ्यो । निकै खुसी लाग्यो,’ कोहलपुरको चौराहामा भेटिएका उनले भने । उनलाई चौराहाबाट स्थानीय सरकार र प्रहरीको समन्वयमै बुटवलसम्म पुर्याइएको थियो । जाजरकोटकी रुपा विक पनि चैत्र ७ गते उपचारको लागि नेपालगन्ज आएकी थिइन् ।

यहाँ पुगेको केही दिनमै लकडाउन भएपछि लामो समयसम्म होटलमा सपरिवार बसे । ‘उपचार पनि भएन । अलिअलि भएको रकमसमेत सकियो । खान पनि समस्या भएपछि यहाँका आएका हौं । हाम्रो स्थानीय सरकारले जाजरकोटबाट गाडी पठाएको छ,’ बुधबार चौराहामा भेटिएकी उनले भने । उनका अनुसार उनीहरुजस्तै अलपत्र परेका नागरिकलाई स्थानीय सरकारले सहयोग र उद्धार गरेर घरसम्म जाने बातावरण बनाइदिएको छ ।

मिया र बिकमात्रै होइन दैनिक कर्णाली तथा सुदूरपश्चिम जाने नागरिकको संख्या ५०० भन्दा बढि छ । कोरोना भाइरसको त्रासबीच आफ्नो घर पुग्न नागरिकहरु भोकभोकै पैदल हिडेर जान थालेपछि सुरक्षा निकाय र स्थानीय सरकारले उनीहरुलाई सहजरुपमा घरसम्म पुग्ने बातावरण निर्माण गरिरहेका छन् । लकडाउनमा मानिसहरु टाढासम्म किलोमिटर हिँडेर जान थालेपछि अलपत्र र बेवारिसे भएकालाई सुरक्षित गन्तव्यमा पुर्याउन थालिएको छ ।

केहीदिन अघि नागरिकलाई भोकै पैदल हिड्न नदिन र अनिवार्य खानेकुराको व्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि अहिले देशभरका स्थानीय सरकार र सुरक्षा निकाय अग्रसर भएका हुन् । प्रधानमन्त्रीको निर्देशनपछि पैदलै हिड्ने नागरिकहरुको स्थानीय सरकार, सुरक्षा निकाय तथा राजनीतिक दलहरुको समन्वयमा नागरिकहरुलाई सुरक्षित गन्तव्यमा पुर्याउन सुरु थालिएको छ ।

यहाँका स्थानीय सरकारले समेत एक हप्तादेखि लकडाउनको मारमा परेका नागरिकहरुको उद्धार तथा व्यवस्थापनलाई तिव्रता दिएका छन् । बाँके जिल्लाका स्थानीय सरकारहरुले समेत उद्धार कार्यलाई तीव्र बनाइएको जनाएका छन् । प्रदेश राजधानी बुटवल हुँदै कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा जाने नागरिकलाई गन्तव्यमा पठाउने गरिएको हो । पूर्वपश्चिम राजमार्गको चोराहामा कोहलपुर नगरपालिकाले खाना खाने व्यवस्थासमेत मिलाएको छ ।

कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरले समेत अनिवार्यरुपमा स्वास्थ्य जाँच गर्ने तथा सम्बन्धित स्थानमा पठाउन सहयोग समन्वय गर्ने गरिरहेका छन् । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले पनि महामारीको समयमा अपलपत्र परेका नागरिकको उद्धारलाई मुख्य प्राथमिकता दिएको बताए । उनले छिमेकी गाउँपालिकाको सहयोग तथा सुरक्षा निकायको समन्वयमा नागरिकलाई गन्तव्यमा पु¥याउने काम भइरहेको बताए ।

‘हामीले नगरपालिकाभित्र राहत वितरणसँगै बाहिर जानेहरुलाई उद्धार गरिरहेका छौँ । चौराहामा हेल्थ हेस्कको स्थापना गरेर अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ,’ उनले भने, ‘पश्चिमतर्फ जाने नागरिकलाई हामीले उद्धार गरिरहेका छौ । उत्तरतर्फ बबईसम्म जानको लागि बैजनाथ गाउँपालिकाले सहयोग गरिरहेको छ ।’ यस्तो अवस्था कोही पनि नागरिकले दुख नपाउन, भोकै नबसुन् भनेर हामी सक्रिय भएको उनले बताए ।