यू. के. मा जन्मेकी नेपाली नारीले बिहे नै नगरी हजारौ छोराछोरी पाइन्

यू. के. मा जन्मेकी नेपाली नारीले बिहे नै नगरी हजारौ छोराछोरी पाइन्
निर्मला बिएम (नानी)
कुष्ठरोगका विरामी तथा प्रभावितहरुको सेवामा पुरै जीवन सुम्पि कुष्ठरोग उपचार सेवामा नेपालमै महत्वपूर्ण भूमिका खेलेकी सुश्री आईलिन लजको ९४ बर्षको उमेरमा गत २०७६ साल असोज २४ गते शुक्रबार तदानुसार ११ अक्टोबर २०१९ का दिन काठमाण्डौमा स्वर्गारोहण भएको छ ।
सन् १९२५ जुन २९ मा य.ू के. मा जन्मनु भएकी स्व. आइलिन लज सन् १९५३ मा नेपाल आउनु भएको थियो र १९८० मा नेपाली नागरिकता पाई आफ्नो जीवनको बाँकी समय नेपालमै बिताउनु भयो । कुरा १९५२ तिरको हो । ति दिनहरुमा नेपालमा कुष्ठरोगका विरामी तथा प्रभावितहरुको अबस्था दयनीय थियो । ठीक त्यसै समयमा उहाँले एक दिन आफनो घरमा सुतेको बेला सपना देख्नु भयो । उठ जा र केहि गर, भन्ने सपनामा उहाले कसैको आवाज सुन्नु भो । त्यसपछि त्यो कलिलो जवानीमा कहाँ, किन, कसरी परमेश्वरतिर कुनै प्रश्न नर्तेर्सायर नेपाल आउनुभयो र आई एन एफ नेपालमा आबद्ध रहेर कुष्ठरोगका विरामी खोज्न शुरु गर्नुभयो । बिस्तारै साइनिङ्ग अस्पतालबाट सेवा शुरु गरेर कुष्ठरोगका विरामी र प्रभावितहरुको उपचार सेवा र पुनस्र्थापना गर्दै हरियोखर्क अस्पतालको रुप दिइ नेपालमा कुष्ठरोग निवारणका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । पाकाहरु सम्झनु हुन्छ, आज भन्दा झन्डै ६६ बर्ष अगाडि न त पोखरा अहिेलेको पोखरा जस्तो थियो, न त काम गर्ने बाताबरण । तर ती निडर र साहसी नारीलाई कुनै औपचारिकता तथा भौतिक कठिनाइहरुले सेवा गर्नलाई लम्केका पाइलाहरु रोक्न सकेनन् ।
समय बित्दै जाँदा जब उहाँले यो ठाउँमा १७ बर्ष बिताउनु भयो र पश्चिम नेपालका बिरामी तथा प्रभावितहरुले सेवामा सहजता महशुस गरेको पाउनुभयो । फेरी उहाँले पुर्व नेपालमा जा र त्यो क्षेत्रका बिरामीहरुको सेवा गर भन्ने दर्शन पाउनुभयो र यता अरुलाई नै जिम्मा दिएर धनुषामा गएर लालगढ अस्पताल शुरु गर्नुभयो । जहाँ अहिले पनि सयौ कर्मचारी कार्यरत छन् र दैनिक सयौ बिरामीले सेवा लिइरहेका छन । उहाँको दर्शन देख्ने र सेवा बिस्तार गर्ने काम यतिमा सिमित भएन । फेरी अझै पुर्वको लागि दर्शन देख्नुभयो र सप्तरी, झापा, मोरङ्ग र बिर्तामोडको लागि पाइला बढाउनुभयो र सेवा बिस्तार गर्नुभयो, जुन अहिले एन एल एफ भन्ने सस्ंथाले पाइला पछ्याइरहेको छ । त्यो बेला ती जिल्लाहरुमा जीवनदेखि थाकेर मृत्युुलाई स्वागत गरिरहेका हजारौ हजार बिरामीहरुको शारीरिक तथा मानसिक पिडामा मल्हम पट्टी लगाउन समाज तथा सरकारसंग निकै लडनु भयो । दिदी जब बिरामीको समस्या लिएर सरकारी कार्यालय तथा मन्त्रालय पस्नुहुन्थ्यो, कर्मचारीहरु निकै सतर्क हुन्थे रे । यसरी सरकारसंग सहकार्य गर्दै बर्दियामा १६ घरे १४ घरे भन्ने नामै रहेको बस्ती छ, त्यो कुष्ठ प्रभावितको लागि दिदीले बसाउनु भएको बस्ती हो । अहिले पनि ती ठाउँहरुमा आइलिन आमा भन्ने उहाँका हजारौ छोराछोरीहरु भेटाउन सक्छौ ।
यसरी दर्शन बोक्दै नेपालको कुना कुना पुग्दा धेरैले भन्ने गर्थे रे, यी नारीले आफनो घर तथा परिवार बनाउन भुलिन्, बुढेसकालमा निकै दुख पाउँछिन होला । उनले यो देशको जनताको मायामा जन्मघर भुले पनि हजारौ छोराछोरी बनाइसकेकी थिइन् र एक्लो कहिल्यैे भइनन् । समय बित्दै जाँदा माटोको शरीर माटैमा मिल्नु पर्ने समय पनि आयो । उहाँको न्यानो भावनात्मक सम्बन्ध रहेको हरियोखर्क अस्पताल परिसरको माटोमा मिल्ने चाहाना कार्यकारी बोर्ड, निर्देशक तथा कर्मचारीहरुले भब्य र सभ्य श्रदाञ्जलि कार्यक्रमका साथ पुरा गर्नुभएको छ । सांसारीक जीवनको अन्तिम घटना हो, मृत्यू त्यो सम्मानित होस् , सबैको चाहाना हुन्छ । उनै हजारौकी आमा आइलिन लजको अन्तिम क्षण निकै उत्सवमय थियो । अघिल्लो दिन काठमाण्डौमा चार घण्टाको भब्य श्रदाञ्जलि कार्यक्रमपछि उहाँको पार्थिव शरीरलाई पोखरा हरियो खर्क परिसरमा ल्याईएको थियो र सजिसजाउ हलको स्टेजमा आमाको पार्थिव शरीरलाई राखिएको थियो भने हलमा देशभरीबाट करीब तीन सयजना उहाँका भद्रभलादमी छोराछारीहरुको उपस्थिति रहेको हल निकै शान्त थियो । हलमा मधुर धुनमा ती आमालाई मन पर्ने भजनहरु संगीत झुण्डले गाइरहेका थिए भने बीच बीचमा पालै पालो उहाँका सहकर्मि तथा छोराछोरीहरुबाट उहाको योगदानको चर्चा परिचर्चा भैरहेको थियो । उक्त कार्यक्रमलाइ ढाकाराम बुढामगरले संचालन गर्नुभएको थियो ।
परिचर्चाकै क्रममा वक्ताहरु भनिरहेका थिए, ती साहसी नारीको जति चर्चा गर्दा पनि कम नै हुन्छ । उनले त्यो बेला स्वास्थ्य मन्त्रालयबाट सम्मान त धेरै पटक पाइन् तर सम्मान र नामका लागि कहिल्यै काम गरिनन् । न त सुखसयल नै खोजीन् । बिरामीका लागि जे खाना जुटाउथिन्, त्यही आफु खान्थिन्, त्यो बेला हरियो खर्क परिसरमा पानीको अभाव थियो । गाढामा पानी बोकेर बिरामीलाई पुरयाउथिन् । बिरामीलाई खुवाउनलाई आफै खेतिपाती गर्थिन् । पछि गएर बिरामीको लागि खर्च जुटाउनलाई काठमान्डौमा क्यान्डिल फ्याक्ट्रि तथा छाला कारखाना पनि चलाएकी थिइन् । नारीले आटे जे पनि गर्न सक्छिन् भन्ने कुराको उदाहरण हुन् , आइलिन आमा त । हलको गेटमा उनै आमाको लागि गाडी भब्यसंग सजाइएको थियो । करीब तिन घण्टाको कार्यक्रम पछि स्टेजबाट आमालाई राखिएको फुुलैफुलले सजाइएको मगमग बासना आउने बाकसलाई उहाँका छोराहरु , कार्यकारी बोर्डका अध्यक्ष आर सि तिमोथि, उपाध्यक्ष राजु अधिकारी, पुर्व निर्देशक डा. दिपेन्द्र गौतम, कार्यकारी निर्देशक कृष्ण अधिकारी, अपरेस्नस डाइरेक्टर ढाका राम बिएम, एन एल टि पुर्व निर्देशक डम्बर आले, के पि सुवेदी र एन एल एफ निर्देशक एन्ड् िसित्लिङ्गहरुले काँधमा बोकेर गाडीमा राख्नु भएको थियो । अहिलेको पुस्तामा बिशेष ब्यक्तित्वका रुपमा चिनिनु भएका उहाँको छोराहरु एक सशत्त आमा गुमाएकोमा दुखी त देखिनु भएको थियो तर आमाको पाइला पछ्याउने मौका पाएकोमा गर्व पनि महशुस गरिरहनु भएको थियो ।
अगाडि र पछाडि, उहाँका छोरा छोरी बसेको गाडी र बीचमा सजिएको आमालाई राखेको गाडीले अस्पताल परिसर घुमिरहेको थियो । केही अस्पतालको आसपासमा रहेका कुण्ठ प्रभावितहरुले यस्तै आमा हजारौ जन्मिउन् , यो देशमा हामी जस्ताको लागि , भन्दै औला नभएका हातले आशु पुछिरहेका थिए । गाडी बिस्तारै अगाडि बढेर उहाँलाई राख्नलाई तयार पारिएको ठाउँमा पुगेको थियो, जुन ठाउँ केही समय पछि आइलिन लज पार्क बनाएर उहाँले पुर्याएको योगदान झल्कने प्रर्दशनी राख्ने कुरा आई एन एफ बोर्ड अध्यक्षले बताउनु भएको छ । सायद नेपालमा कुष्ठरोग सेवा बिस्तारको इतिहास पढन वा हेर्न मन लाग्ने ब्यक्तिको गन्तब्य बन्न सक्छ, यो ठाउँ ।

 

प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६     8:28:49 AM

dipen pahari

See all posts by