दक्षिण पर्वतको पर्वतको विहादी गाउँपालिका–२ बराचौरमा भू–संरक्षण प्रदर्शनीस्थल निर्माण गर्न थालिएको छ । जिल्ला भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले रु ६१ लाखको लागतमा भू–संरक्षण प्रदर्शनीस्थल निर्माण कार्य अघि बढाएको हो ।
बाढी, पहिरो र भू–क्षयका कारण बिग्रिदै गएको जमीनलाई संरक्षण गरी उपयोग गर्ने उद्देश्यले प्रदर्शनीस्थल बनाउन लागिएको हो । भूकम्प, बाढी, पहिरो र भूक्षयका कारण जोखिममा रहेको स्थानीय आम्बरी माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको जग्गालाई संरक्षण गरी उपयुक्त खेलमैदान र भौतिक पूर्वाधार निर्माणमा उपभोग गर्न सकिने गरी प्रदर्शनीस्थल निर्माण गर्न लागिएको भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
विद्यालय र आसपासको बस्ती नै जोखिममा पर्न थालेपछि स्थानीयवासीले लामो समयदेखि प्रदर्शनीस्थल निर्माणको लागि माग गर्दै आएका थिए । खेर गइरहेको गल्छी नियन्त्रण तथा जमीनलाई सदुपयोग गर्दै प्रदर्शनीस्थल निर्माण कार्य अगाडि बढाइएपछि जोखिम हट्ने उहाँले जताउनुभयो ।
व्यवस्थित प्रदर्शनीस्थल निर्माणसँगै विभिन्न संरचना बनाई प्रदर्शनी तथा मेला महोत्सव सञ्चालन गर्न सकिने भएको छ । उक्त प्रदर्शनीस्थलभित्र भलिबल, बास्केटबल, फुटबल, टेवलटेनिस, फुटबललगायतका विभिन्न खेल खेल्न सकिनेछ भने विभिन्न बस्तु तथा उत्पादनको बजार प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको विश्वास रहेको छ ।
प्रदर्शनी स्थलको निर्माण गर्न जिल्ला भू तथा जलाधार व्यवस्थापन कार्यालयले तत्कालका लागि रु ११ लाख रकम विनियोजन गरेको छ । अहिलेलाई पर्याप्त बजेट नभए तापनि आगामी वर्षमा गाउँपालिकासँग समन्वय गर्दै थप बजेटको व्यवस्था मिलाइने भएको छ ।
उक्त प्रदर्शनी स्थलको शिलान्यास गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मङ्गलबार गर्नुभएको छ । सो अवसरमा उहाँले खेर गएको जमीनलाई सदुपयोग गरी प्रदर्शनीस्थल बनाएपछि सवै स्थानीयवासी लाभान्वित हुने बताउनुभयो ।
ग्रामीण भेगमा प्रदर्शनीस्थल निर्माण भएसँगै विभिन्न खेलकूद, प्रदर्शनी तथा मेला महोत्सव गर्न सहज हुने तथा अन्य औद्योगिक उत्पादनको प्रवद्र्धन गर्न समेत मद्दत पुग्ने बताउँदै मन्त्री लम्सालले प्रदर्शनीस्थल निर्माणको लागि आवश्यक रकम प्रदेश सरकारबाट व्यवस्था मिलाउने बताउनुभयो । विहादीमा व्यवस्थित प्रदर्शनी स्थलको खाँचो रहेको बेला निर्माण कार्य शुरु गरिएकोले स्थानीयवासी उत्साहित बनेको विहादी–२ का वडाध्यक्ष ओमप्रसाद कुँवरले बताउनुभयो । (रासस)