डेढ सय वर्षदेखि नेपालगन्जमा रामलीला मञ्चन

बाँके । दसैं नजिकिएसँगै नेपालगन्जमा रामलिलाको रौनक सुरु भएको छ । डेढ सय वर्षदेखि निरन्तर चलिरहेको रामलिलाको यस पटक १५१ औं श्रृंखला हुनेछ । रामलीला सञ्चालनका लागि करिब १४ लाख खर्च लाग्ने अनुमान गरिएको छ । पुर्खाको संस्कारलाई आफ्नै खर्चमा जोगाउन सफल भएका स्थानीयहरु उक्त रकम स्थानीयले जोहो गर्छन् । मधेसी समुदाय पुस्तौंदेखिको परम्परालाई निरन्तरता दिन अहिले छलफलमा व्यस्त छन् ।
‘हाम्रा पुर्खाले सुरुवात गरेको संस्कार छाड्न भएन । त्यसका लागि आर्थिक हैसियतअनुसार रकम दान गर्छाैं,’ रामलीला सञ्चालक समितिका प्रचारमन्त्री विष्णुलाल कुमालले भने, ‘संस्कार र परम्परा ठूलो कुरा हो । यसको संरक्षण नयाँ पुस्ताका लागि पनि आवश्यक छ ।’ अहिले यहाँका समुदायका अगुवाबीच पैसा कहाँबाट जुटाउने भन्ने छलफल चलिरहेको छ । यसको मञ्चनका लागि भारतको मथुराबाट नाट्य समूह यहाँ आउने गरेको छ ।
भारतमा रामलीलाको मञ्चन सन् १६४० मा सुरु भएको जानकार बताउँछन् । यहाँ निरन्तरता पाएको डेढ सय वर्षभन्दा बढी भयो । दसैंको अवसरमा समुदायमा सकारात्मक सन्देशको प्रचारप्रसार गर्न र रामराज्यको अनुभूति दिलाउन निरन्तरता दिएको उनले बताए । घटस्थापनादेखि शुरु हुने रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, वाणासुर, सीता स्वयम्वर, राम वनवास, दशरथ मरण, सीताहरण, लंकादहन, लक्ष्मण शक्ति बाणको लीलालगायत प्रदर्शन गर्ने गरिन्छ ।
विजयादशमीका दिन ४५ देखि ५० फिटको रावणको पुत्ला दहन गरिन्छ । महोत्सव हरेक दिन राति ७ बजेदेखि १२ बजेसम्म सञ्चालन हुँदै आएको छ । विजयादशमीका दिन अपराह्नदेखि नै विशेष लीला मञ्चन गरी रावण बध गरिन्छ । सो दिन जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट समेत मानिसहरु आउँछन् । भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाट्यरूपमा प्रस्तुत गरिन्छ । यो क्रम रावण बध नहुञ्जेलसम्म चल्छ । सत्यमाथि विजयको प्रतीकको रूपमा मनाइने दसैंभरि सहरमा रामलीलाको रौनक हुन्छ । अहिले रामलीला मञ्चनको तयारी तीव्र पारिएको छ ।

‘रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहारबारे प्रस्तुत गरिन्छ । रामलीलाले युवालाई सकारात्मक सन्देश दिन्छ । रामलीला हाम्रो संस्कृति बनिसक्यो । भगवान् रामको आदर्श र मर्यादाको प्रचारका लागि पुर्खाले सुरुवात गरेका हुन् ।’

‘महँगीसँगै हरेक वर्ष रामलीला मञ्चन खर्च पनि बढदै गएको छ,’ प्रचारमन्त्री कुमालले भने, ‘यस वर्ष पनि १३/१४ लाख खर्च हुने अनुमान गरिएको छ । दाताको खोजी भइरहेको छ ।’ रामलीला मञ्चनका लागि यहाँ कलाकार नपाइने भएकाले मञ्चन महंगो पर्ने गरेको छ । भारतको मथुराबाट राम, सीता, लक्ष्मण, रावण लगायतका कलाकारहरु आउने पक्का भइसकेको छ । प्रमुख पात्रको पारिश्रमिक ५० हजार भारतीय रुपैयाँ रहेको छ भने रावणका लागि थप डेढ लाख भारु खर्च हुने गरेको आयोजकले जनाएको छ ।
४५ देखि ५० फिट आग्लो कदको रावण बनाउन १ लाख १० हजार भारु लाग्ने भएको छ । रावण बनाउनका लागि भारतको सीतापुरबाट कारिगड ल्याइएको छ । यसरी कलाकारका लागि मात्रै चार लाख भारु खर्च हुने प्रचारमन्त्री कुमालले बताए । कलाकारको पारिश्रमिकदेखि खाने, बस्ने र मञ्च व्यवस्थापनका लागि खर्च हुने गर्छ । घटस्थापनादेखि सुरु रामायणमा आधारित लीला रामको राज्याभिषेक (टीका) को रातिसम्म जारी रहनेछ । बाँकेबगियाको खुला चौरलाई रामलीला मैदान नामाकरण गरेर मञ्च निर्माण गरिएको छ ।
‘रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहारबारे प्रस्तुत गरिन्छ । रामलीलाले युवालाई सकारात्मक सन्देश दिन्छ,’ रामलीला सञ्चालक समितिका अध्यक्ष श्यामसुन्दर कनौडियाले भने, ‘रामलीला हाम्रो संस्कृति बनिसक्यो । भगवान् रामको आदर्श र मर्यादाको प्रचारका लागि पुर्खाले सुरुवात गरेका हुन् ।’ रावण बधका दिन हजारौं सर्वसाधारणको उपस्थितिमा रावणको मूर्तिमा पटका पटकाएर विजय उत्सव मनाउने परम्परा छ ।
रामको जीवनीबारे नयाँ पुस्ता बेखबर भएकै कारण उनीहरूमा उत्साह छैन । कलाप्रति रुची राख्ने बालबालिकालाई भर्ना गरी रामलीलाका पात्रको अभिनय सिकाउनुपर्छ । ‘राम, लक्ष्मण, सीता र रावणको भूमिकाका लागि अझ बढी दख्खल चाहिन्छ । रामलीला भारतमा संस्कृति बनिसकेकाले कलाकार खोज्नुपर्दैन,’ रामलीला मञ्चनका निर्देशक प्रमेश शर्मा भन्छन्, ‘यसका लागि कलाकार उत्पादन गर्न वर्षौं लाग्छ ।’
‘रामलीलाले दाजुभाइको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने दर्शाएको छ । परिवारिक सम्बन्ध, जनताप्रति शासकले गर्नुपर्ने व्यवहार सिकाउँछ । अन्याय अत्याचार गर्नेले भोग्नुपर्ने नियतिको पाठ सिकाउँछ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘नयाँ पुस्तालाई विकृतिबाट बचाउन रामलीलाको महत्व बढेको छ ।’ सकारात्मक सन्देश समाजमा फैलाउन दसैंका अवसरमा रामलीला आयोजना गर्दै आएको उनले जनाए ।

 

 

प्रकाशित मितिः सोमवार, अशोज २२, २०७५     8:22:47 AM

Tara Chapagain

See all posts by