लेखन भनेको पुनर्लेखन हो

मोहन मैनाली

जानकारी भेला गर्ने मेरो अर्काे औजार आँखा हो । छोटा अथवा लामा यात्रामा जाँदा अनौठा दृश्य, अनौठा घटना, मानिसका अनौठा हाउभाउ देखेँ भने म तिनलाई नोट गर्छु, फोटो खिच्न मिल्ने रहेछ भने फोटो खिच्छु । धेरै यात्रामा जाँदा भिडियो क्यामेरा साथमा हुनाले भिडियो पनि खिचेको छु ।

लेख्ने पेसा अरू धेरै पेसाभन्दा सजिलो छ किनभने यसमा दुईवटा मात्र काम गरे पुग्छ । पहिलो, आफूले लेख्न लागेका विषयमा पोख्त हुने । दोस्रो, लेख्ने सीपमा पोख्त हुने । मैले सुरुमा पढेको पत्रकारितासम्बन्धी किताबले मलाई यसै भनेको थियो ।

केही वर्ष पहिले प्रकाशित उपल्लो थलो, मान्ठा डराएको जुग र हालै प्रकाशित देखेको देशमा राखिएका सामग्री लेख्दा पनि यी काम मेरा दिमागमा ताजा भएर बसेका थिए । मैले यिनै दुईवटा काम सकेसम्म राम्ररी गर्न प्रयास गरेको थिएँ ।

विषयमा पोख्त हुनुपर्छ
पहिलो काम आफूले लेख्न लागेका विषयमा पोख्त हुने । यसको सोझो अर्थ लगाउने हो भने मजस्तो पेसामा लागेका मानिसले यो काम गर्न सक्दैनन् । त्यसैले, म यस भनाइको मर्ममा ध्यान दिने गर्छु । त्यो हो– आफूले लेख्न लागेका विषयमा आमपाठकले थाहा नपाएका सकेसम्म बढी कुरा जान्ने ।
यति गर्दा पनि भन्न मात्रै सजिलो ! जस्तै, देखेको देशको पहिलो सामग्री एक करोड वर्षअघिको नेपालका लागि जानकारी खोज्ने काम । केही वर्षअघि भएको घटना/कामबारे जानकारी खोज्न धौधौ पर्ने हाम्रो जस्तो देशमा एक करोड वर्षअघिको जानकारी कहाँ र  कसरी खोज्नु ?

सुरुमा यो काम पार लाग्ला जस्तो लागेको थिएन । यस्ता वेलामा पत्रकारिता थालेको धेरै वर्षपछि पढेको अर्काे किताब द युनिभर्सल जर्नालिस्टले बाटो देखायो । त्यस किताबमा भनिएको रहेछ, ‘पत्रकारले सोचेभन्दा धेरै बढी मानिसलाई पत्रकारलाई सघाउने काममा यस ग्रहमा खटाइएको छ । आफू पत्रकारलाई सघाउन खटिएको कुरा उनीहरूलाई थाहा नहुन सक्छ तर उनीहरू खटाइएका त यही कामका लागि हुन्… उनीहरूको जागिर जोगाइदेऊ ।’

उनीहरूको जागिर जोगाइदेऊ अर्थात् उनीहरूले गरेका कामलाई उपयोग गर । उनीहरू भनेका विभिन्न विधामा लेखपढ र खोजबिन गर्ने मानिस हुन् ।एक करोड वर्षअघिको नेपालका बारेमा लेख्नका लागि मलाई सहयोग गर्न पनि त कति मानिसलाई खटाइएको होला नि यस ग्रहमा ! यस्तै ठानेर मैले ती मानिस र उनीहरूले गरेका कामबारे खोजी गरेँ ।

यस्तो खोजी गर्दा के थाहा पाएँ भने नेपाल अर्थात् हिमालय आत्मकथा लेख्ने निकै पुराना लेखकमध्येमा पर्दाे रहेछ । यस आत्मकथामा एक करोड वर्षपहिलेको नेपालका बारेमा लेखिएको रहेछ । त्यसमा हिमालयको उत्पत्तिको मात्र होइन, त्यहाँको हावापानी, त्यहाँका वनस्पति, त्यहाँका प्राणीको पनि जीवनी पाइने रहेछ ।

तर हिमालयले लेखेको आत्मकथा म बुझ्दैनथेँ । त्यो आत्मकथा बुझ्ने मानिसले लामो समय लगाएर ती आत्मकथा पढेका रहेछन् र तिनलाई हामीले बुझ्ने (सबै कुरा त उनीहरूले लेखेको पनि बुझिँदैन) भाषामा लेखेर राखेका रहेछन् । उनीहरूले लेखेर राखेका कुरा र उनीहरूसँगको कुराकानीका आधारमा एक करोड वर्षअघिको नेपाल तयार भयो ।

उपल्लो थलो लेख्न थाल्दा मलाई सुरुमा लागेको थियो– गोरखाको उत्तरी भेगजस्तो दुर्गम ठाउँका बारेमा कसले, कहिले, के पो लेखेर राखेका होलान् र ? तर पछि थाहा पाएँ, माइकल एरिज (आङ साङ सुकीका श्रीमान्) जस्ता इतिहासकार, पुरातत्वविद्, मानवशास्त्री, तिब्बतशास्त्री, पर्वतारोही, वनस्पतिशास्त्री, डकुमेन्ट्री निर्माता तथा स्थानीय बासिन्दाले धेरै समय र मिहिनेत खर्च गरेर त्यस ठाउँका बारेमा धेरै कुरा लेखेका रहेछन्, त्यस ठाउँका दृश्य राखेका रहेछन् । उपल्लो थलो लेख्दा मलाई सहयोग गर्न खटाइएका यी मानिसको सहयोग मैले राम्रैसँग लिएको थिएँ ।

तथ्य जाँच र दृश्य वर्णन
मलाई सहयोग गर्न जति धेरै मानिस खटाइएका भए पनि, उनीहरूले जति सुकै मेहनत गरेर, जति धेरै जानकारी खोजेका भए पनि तिनका मात्रै जानकारीका भरमा म किताब लेख्न सक्दैनथेँ । कति विषय यस्ता हुन्छन्, जसका बारेमा धेरै कुरा लेखेर राखिएका हुँदैनन् ।

मान्ठा डराएको जुगमा यस्तै विषयवस्तु छन् । हामीले भोगेको लडाइँका बारेमा रिपोर्टिङ गर्न जाँदा मलाई लाग्यो– मभन्दा पछि यस विषयमा लेख्ने मानिसलाई सहयोग गर्न मलाई खटाइएको हो । आपूmभन्दा पहिलेका मानिसले लेख्न नभ्याएका वा नपाएका यस्ता विषयमा लेख्नका लागि मैले थरीथरीका, एकदमै धेरै मानिससँग कुराकानी गरेँ । यस क्रममा मैले उनीहरूका अनुभव/भोगाइ/दृष्टिकोण बुझेँ, आफूले लेख्न लागेका विषयका जानकारी खोजेँ र आफूले खोजिसकेका जानकारी रुजु गरेँ ।

मानिससँग कुराकानी गर्दा म आफ्नो कान, सम्झना र नोट टिपाइमा मात्र भर पर्दिनँ । यसो गर्दा नाम, तिथिमिति जस्ता कुरा तलमाथि पर्न सक्छन् । आफूले  कुराकानी गरेका मानिसले सुनाएका सुन्दर वाक्य जस्ताको तस्तै टिप्ने तागत मसँग छैन । त्यसैले, कहिलेकाहीँबाहेक अरू वेलामा कुराकानी गरेका सबै मानिसका आवाज रेकर्ड गरेको थिएँ । कुराकानीपछि जतिसुकै कामको चाप भए पनि सकेसम्म चाँडो त्यसलाई कागजमा उतार्थें । पछि फुर्सदमा उतार्छु भनेर पर्खिंदैनथेँ । फुर्सदमा त त्यसलाई कम्प्युटरमा  टाइप गर्थें ।

विषयअनुसार कहिलेकाहीँ त एउटा छोटो सामग्रीका लागि पनि मैले निकै धेरै कुराकानी गरेको हुँदो रहेछु । जस्तै, देखेको देशमा रहेको एउटा छोटो सामग्री ‘गाउँ मासी जंगल, जंगल मासी गाउँ’ लेख्नका लागि मैले जति मानिससँग कुराकानी गरेको थिएँ, त्यसको रेकर्ड कम्प्युटरमा उतार्दा १४ हजार ९९७ शब्द  भएका रहेछन् ।

जानकारी भेला गर्ने मेरो अर्काे औजार आँखा हो । छोटा अथवा लामा यात्रामा जाँदा अनौठा दृश्य, अनौठा घटना, मानिसका अनौठा हाउभाउ देखेँ भने म तिनलाई नोट गर्छु, फोटो खिच्न मिल्ने रहेछ भने फोटो खिच्छु । धेरै यात्रामा जाँदा भिडियो क्यामेरा साथमा हुनाले भिडियो पनि खिचेको छु ।
यसरी संकलन भएका जानकारीका आधारमा मैले मेरा तीनवटै किताबमा दृश्य वर्णन गरेको थिएँ ।

यसो गरेर म आफ्ना पाठकलाई आफूले  बताइरहेको ठाउँ, मान्छे अथवा घटनाको सामुन्ने उभ्याउन चाहन्थेँ । उनीहरूले अक्षर पढ्दा दृश्य देखिरहेको छु भन्ने भान पार्न कोसिस गर्थें । शारीरिक रूपले त त्यसो गर्न सम्भव हुँदैन, मनोवेगका दृष्टिले सकिन्छ कि भनेर । मेरो पहिलो पुस्तक उपल्लो थलोमा मैले यसो गर्ने निकै कोसिस गरेछु ।

समीक्षक हरि अधिकारीले त्यस किताबको समीक्षा गर्ने क्रममा लेख्नुभयो, ‘मैनालीका वर्णनमा तस्बिरमा हुनेजस्ता डिटेल, सबै कुरालाई रिट्ठो नबिराई जस्ताको तस्तै उल्लेख गर्ने शैली बलियो देखिन्छ । कलात्मक लेखनका हिसाबमा त्यो गुण होइन, दोष मानिन सक्छ । मैनालीले यसतर्फ विचार पु-याउने अपेक्षा गर्छु ।’ त्यसपछि अरू किताब लेख्दा जहिले पनि हरिजीको यो भनाइले खबरदारी गरिरहन्छ । त्यति हुँदा पनि उहाँले औँल्याएजस्तो दोष बाँकी रहेको हुन सक्ने डर  त लागिरहन्छ ।

खोज पत्रकारिता हतारको साहित्य होइन
मेरो पेसा पत्रकारिता हतारको साहित्य भनेर बदनाम भएको छ । समाचारका हकमा त यो कुरा सही हो, तर समाचारबाहेकका लामो आयु भएका अन्य सामग्रीका हकमा पत्रकारिता हतारको साहित्य होइन । मैले आफ्ना किताबमा रहेका सामग्री लेख्दा यो कुरालाई ख्याल गरेको छु । त्यसैले कतिवटा सामग्री तयार गर्न जानकारी खोज्न मैले हतार गरिनँ ।

आफ्नो रुचिको कुनै विषय फेला पर्नेबित्तिकै त्यसबारे लेखिहाल्न तम्सिइनँ । सम्बन्धित विषय उल्लेख भएका लिखत पढ्दा भेटेका जानकारी भेला गरेँ । अरू नै विषयका किताब पढ्दा त्यस विषयका जानकारी भेटेँ भने तिनलाई पनि टिप्दै गएँ । कसैले त्यस विषयमा बोले भने त्यसलाई समातेर राखेँ । यति जानकारी भए पाठकले ‘थू’ नभन्लान् भन्ने लागेपछि मात्र लेख्न बसेँ । ‘देखेको देश’को पहिलो सामग्री ‘एक करोड वर्षअघिको नेपाल’का लागि जानकारी खोज्न १५ वर्ष पर्खिएछु ।
मेरो किताब लेखनको आधा काम अर्थात् जानकारी संकलनको काम मैले यस्तै सजिलो गरी
सिध्याएको थिएँ ।

बाँकी रहेको आधा काम थाल्नुअघि अर्काे सानो काम गर्न बाँकी थियो— आफूले भेला गरेका जानकारी रुजु गर्ने । ती जानकारी पुराना हुनाले गलत भए कि ? यस विषयमा नयाँ जानकारी आइसके कि ? मैले जहाँबाट जानकारी लिएको थिएँ, त्यहीँ जानकारी गलत थिए कि ? मलाई बताउने मानिसले आफ्नो सम्झनाका भरमा पो बताएका थिए कि ? त्यसो हुनाले उनीहरूले दिएका जानकारी गलत पो परेका छन् कि ? अथवा जानकारी दिने मानिसले आफ्नो स्वार्थवश मलाई गलत पो बताएको थियो कि ? अथवा उसले आधा मात्र जानकारी दिएर मलाई भ्रममा पारेको थियो कि ?

यति गरिसकेर लेख्न बस्दा मैले मेरा मनमनै (लेखेरै त होइन) पाठकलाई यसो भनेको थिएँ– मैले भनेको आँखा चिम्लेर विश्वास गर्दा फरक पर्दैन किनभने म पत्रकार हुँ ।

गैरआख्यान लेख्न सजिलो
बाँकी रह्यो दोस्रो र अन्तिम काम– लेख्ने कलामा पोख्त हुने । गैरआख्यान लेखन सजिलो छ । किनभने जानकारी भेला गरिसक्दा गैरआख्यान लेखनको आधा काम सकिन्छ । जानकारी संकलन राम्रोसँग गरेको छ भने लेख्न बस्दा लेखाइ नराम्रो पारौँ भनेर लाख कोसिस गर्दा पनि सकिँदैन । रोचक जानकारी दिएको अलिबेरसम्म भद्दा जानकारी भद्दै तरिकाले दियो भने पनि पाठक बिच्किँदैन ।

सबैभन्दा सुन्दर वाक्य गठन गर्ने सर्जक को हो भनेर कसैले सोध्यो भने म नसोचीकन उत्तर दिन्छु— जसले एक वाक्य पनि लेखेको हुँदैन । ती भनेका मैले कुराकानी गरेका सामान्य मानिस हुन् । मेरा किताबमा धेरै ठाउँमा उनीहरूका चोटिला र सुन्दर भनाइ राखेको छु ।

जस्तै, ‘दुःख नाथे त कति पाइयो कति !’ ‘हाम्रो गल्ती होइन है । हामी त लाए अह्राएको गर्ने मान्छे । ओभरसियरले जताजता खन भन्यो, उतैउतै खन्यौँ । उसैले कुलोचाहिँ मुहानभन्दा
अग्लो बनाइदिएछ ।’

कहिलेकाहीँ पाठकले यस्ता वाक्य लेखेको भनी मेरो तारिफ गर्नुहुन्छ । यस्ता वेलामा म अलमलिन्छु : ती वाक्य मैले लेखेका हुन् भनौँ भने झुटो भइन्छ । मैले लेखेको होइन भनौँ भने आफ्नो बजार भाउ घट्ला भन्ने डर !

यस्ता वेलामा म लन्ठ्याङमन्ठ्याङ प्रतिक्रिया दिएर उम्कन्छु । अपराधबोधले ग्रस्त आपूmलाई यसरी सम्झाउँछु— मैले यी वाक्य फलानाले भनेका हुन् भनेर लेख्दालेख्दै पनि पाठकले त्यसको जस मलाई दिन्छन् भने त्यो मेरो दोष होइन ।

मैले भन्न खोजेका कुरा कसैले कविता, गीतमार्फत् भनिसकेको रहेछ भने पनि म त्यस्ता कुरा आफैँ लेख्ने कोसिस गर्दिनँ । त्यसका सर्जकलाई जस दिएर त्यही गीत वा कविताको अंश सार्ने गर्छु । यसो गर्दा सोच्छु— कवि, गीतकार मेरा सिर्जनशील सहायक हुन्, जसले मलाई लेख्ने काममा सघाउँछन् तर त्यसबापत मसँग पारिश्रमिक माग्न पाउँदैनन् ।

उखानटुक्का अहिले अलि निकै बदनाम भएको छ, तर कतिपय ठाउँमा उखानटुक्काले थोरैमा जति कुरा, जति प्रभावकारी ढंगले भन्न सक्छ त्यति प्रभावकारी ढंगले म लेख्न सक्दिनँ । यस्ता वेलामा पनि म आफैँ लेख्ने झन्झट गर्दिनँ । आफूले सुनेका, पढेका उखानटुक्का टाँसिदिने गर्छु ।

मेरा तीनवटै किताबका सम्पादक शरच्चन्द्र वस्ती भन्नुहुन्छ, साहित्यकारले लेखेको कुरा पाठकले बुझेन भने त्यो पाठकको कमजोरी हो । साहित्यकारका रचना बुझ्न सक्ने हुनका लागि उसले अहिलेको ठाउँबाट माथि उठ्नुपर्छ । तर, पत्रकारले लेखेको कुरा पाठकले बुझेन भने त्यो पत्रकारको कमजोरी हो । जुन पत्रकार पाठकले नबुझिने गरी लेख्छ, उसले आफूलाई अहिलेको ठाउँबाट माथि उठाएर आमपाठकले बुझ्ने खालको लेख्न सक्ने बनाउनुपर्छ । लेख्न बस्दा मेरो एउटै ध्येय हुन्छ– आमपाठकले बुझ्न सक्ने सरल बनाउनु र पाठकको मन छुने  गरी लेख्नु ।

मौलिक शैली र चुस्त सम्पादन
म आख्यान लेखकले अपनाउने विभिन्न शैलीको सिको गर्न कोसिस गर्छु । पाठकले नचिताएको मोड ल्याइदिएर अथवा उसले नचिताएको जानकारी दिएर पनि उसलाई आफ्नो पाठमा बाँधिराख्न कोसिस गर्छु । जस्तै, मेरो पछिल्लो किताब देखेको देशमा घोडाले पारेको अन्डा र घोडाको सिङको प्रसंग राखेको छु ।

कतैकतै कल्पना पनि गरेको छु । जस्तै, आफू जन्मनुभन्दा ५४ वर्षपहिले मरिसकेका मान्छेसँग भेटेर कुराकानी गरेको कल्पना गरेको छु । तर, यस्ता ठाउँमा यो मेरो कल्पना हो भनेर खुलाएको छु ।
हिन्दी सिरियल हेरेर तिनमा भएका सस्ता शब्द लेखेर अरूभन्दा फरक लेखक देखिने रहर गर्दिनँ । पश्चिमा विश्वविद्यालयमा आविष्कार गरिएका अस्पष्ट शब्द र शब्दावलीको भद्दा नेपाली अनुवाद लेखेर ‘मैले यो शब्द/शब्दावली पनि जानेको छु, तैँले जानेको छस् ?’ भनेर पाठकलाई दम्भ देखाउन नपरोस् भन्ने ठान्छु ।

लेखन भनेको पुनर्लेखन हो रे ! यस कुरामा म विश्वास गर्छु । त्यसैले, आपूmलाई चित्त नबुझेसम्म फेरि लेख्न खोज्छु । कहिलेकाहीँ झर्काे लाग्छ र चित्त  नबुझ्दा –नबुझ्दै पनि छाडिदिन्छु ।  मेरो लेखाइ राम्रा सम्पादकले सम्पादन नगर्दा मेरा कमजोरी बजारमा छताछुल्ल हुन्छन्, पाठकले अपरिष्कृत लेखाइ पढ्ने बोझ खप्नुपर्छ भन्ने लाग्छ । त्यसैले, कुशल सम्पादकले सम्पादन नगरेसम्म मेरा किताब प्रेसमा जाँदैनन् ।

लेखिसक्दा मलाई लाग्छ— म पाठकलाई सहयोग गर्न यस ग्रहमा खटाइएको मानिस हुँ । म आफूलाई खटाइएको काम गर्न मात्र सक्छु । पाठकले मेरो जागिर थामिदेलान् वा नदेलान् (मैले लेखेको पढिदेलान्/नदेलान्) यो मेरा हातमा छैन । जुन कुरा आफूले गर्न सकिँदैन, त्यसका बारेमा धेरै चिन्ता लिन्नँ ।नागरिक दैनिक बाट

 

प्रकाशित मितिः शनिबार, असार २३, २०७५     1:56:57 PM

Tara Chapagain

See all posts by