कास्की कारागारका महिला बन्दीलाई सिलाई कटाई तालिम शुभारम्भ

सरकारले कारागार थुनामा रहेका बन्दीहरुलाई सक्षम बनाउन विभिन्न तालिम प्रदान गर्ने नीति ल्याएको छ। यसै सन्दर्भमा कास्की कारागार थुनामा रहेका महिला बन्दीहरुका लागि ३ सिलाई कटाई सम्बन्धी तीन महिने तालिमको सोमबार कारागार भित्रै एक कार्यक्रमका विच शुभारम्भ भएको छ। तालिम कार्यक्रमको उद्घाटन सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक यदुनाथ बञ्जाराले गरेका थि ए। विभिन्न मुद्धामा कारागर जिवन विताइरहेका महिला बन्दीहरुको आय आर्जन तथा स्वरोजगार जन्य सीप प्रदान गर्ने राज्यको नीति सकारात्मक रहेको भन्दै त्यसबाट लाभ लिएर समयको सदुपयोग सँगै सशक्तिकरणमा लाग्न प्रमुख अतिथिको तर्फबाट पत्रकार यदुनाथ बञ्जाराले सहभागीहरुलाई आग्र गरेका थिए। अहिलेको युग प्रविधि र सीपको युग भएकोले प्राप्त भएको अवसरलाई भरपुर प्रयोग गर्न पनि प्रमुख अतिथि बञ्जाराले बताएका थिए।

यस्तै कारागारका जनस्वास्थ्य निरीक्षक विष्णुप्रसाद सुवेदीले सरकारले बन्दीहरुको लागि दिएको कार्यक्रम फलदायी हुने विस्वास व्यक्त गरेका थिए। कारागार कार्यालय प्रमुख (जेलर) हरिप्रसाद गौतमले यस अघि बन्दीहरुको तालिम वा कुनै कार्यक्रम गर्नुपर्दा विभिन्न गैह्र सरकारी संघ संस्थाको सहयोग लिनुपरेको स्मरण गर्दै यसपटक आफ्नो प्रयासको राज्यले सुनुवाई गरेर तालिमको ेलागि बजेट पठाएको र यसलाई सबै पक्ष मिलेर सफल पार्नुपर्ने बताए। तालिममा सिकेको सिपबाट उत्पादित बस्तुको बजार प्रबद्र्धनमा समेत कार्यालयले सहयोग गर्ने जेलर गौतमले बताए।

तालिम कार्यक्रम उद्घाटनका क्रममा प्रशिक्षक खिनुमाया शर्मा, पुरुष बन्दीगृहका चौकीदार लक्षुकुमार गुरुङ, महिला बन्दी गृहका चौकीदार सोममाया गुरुङ लगायतले तालिम सफलताको लागि शुभकामना व्यक्त गरेका थिए। तालिम उद्घाटन कार्यक्रम जेलर हरिप्रसाद गौतमको सभापतित्वमा भएको थियो भने संचालन ना.सु. कमल केसीले गरेका थिए।

कास्की कारागारको महिला बन्दीगृहमा ५८ जना महिला थुनुवा रहेका छन् जसमध्ये १४ जनालाई सिलाई कटाई तालिमको लागि छनौट गरिएको कारागारका लेखापाल श्रीराम कोइरालाले बताए। तालिम २०७४ चैत्र १२ देखि २७५ असार १२ गते सम्म सञ्चालन गरिने छ। सरकारले उपलब्ध गराएको ३ लाख बजेटबाट तालिम सञ्चालन गरिने बताइएको छ।

 

प्रकाशित मितिः मङ्लबार, चैत्र १३, २०७४     8:31:03 PM

Tara Chapagain

See all posts by