मिड टाउनको चार्टर नाइट ल्वाङघलेलमा

पोखरा, १४ माघ ,

लायन्स क्लब अफ पोखरा मिड टाउनले चौथो चार्टर नाइट कास्कीको ल्वाङघलेलमा मनाएको छ । होम स्टे तथा ग्रामीण पर्यटन प्रवद्र्धनको लक्ष्य सहित ल्वाङघलेलमा चार्टर नाइट मनाइएको क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गर्भनर धनराज आचार्यले मिड टाउनले स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेका बताए । पर्यटन तथा होम स्टे प्रवद्र्धनमा लायन्स क्लबहरुले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

डिष्ट्रिक्टका फस्ट भाइस गर्भनर अशोककुमार श्रेष्ठले मिड टाउनले रचनात्मक काम गरेर चार्टर नाइट मनाएको बताए । डिष्ट्रिक्टका कोचिफ एडभाइजर विशेश्वर आचार्यले लायन्सको सामाजिक कामले समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको बताए ।
क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णराज पोखरेल, क्लबका प्रथम उपाध्यक्ष देवी तिमिल्सिना, सचिव रविराज भुत्र्याल लगायतले बोलेका थिए । क्लबका डाइरेक्टर पोषबहादुर भुजेलको संयोजनमा कार्यक्रम भएको हो ।
चार्टर नाइटका अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका समेत बिमोचन गरिएको क्लबका रिपोर्टिङ अफिसर तथा स्मारिका प्रकाशन उपसमिति संयोजक विकास भुर्तेलले जानकारी दिए । कार्यक्रममा डिष्ट्रिक्टका क्याविनेट सेक्रेटरी चण्डीप्रसाद अर्याल, सिनियर एडभाइजर राम बसेल, जोन चियरपर्सन विनोद ढुङगाना लगायतको उपस्थिति थियो ।

यसैबीच, क्लबले ल्वाङघलेलको लुम्रेमा रहेको तारे वराह आधारभूत विद्यालयमा निर्माण गरेको पानी ट्याङकी शनिबार नै विद्यालयलाई हस्तान्तरण गरेको छ । नेपाल लायन्स फाउण्डेसन र क्लबको आर्थिक सहयोगमा पानी ट्याङकी निर्माण भएको हो ।

प्रकाशित मितिः आइतवार, माघ १४, २०७४     7:27:29 PM

Tara Chapagain

See all posts by