पोखरामा बन्यो पहिलो नाटक घर

१३ माघ, पोखरा । पोखरामा पहिलो नाटक घर निर्माण सम्पन्न भएको छ । गैह्रापाटनमा प्रदेश ४ कै पहिलो नाटक घर ‘पोखरा थियटर’ निर्माण भएको हो ।

थियटरमा पोखराका रंगकर्मीद्वय परिवर्तन र दिलप्रसाद गुरुङ ‘दिलु’ र पूर्व यातायात ब्यवसायी शंकरनाथ कोइरालाको संयुक्त लगानीे छ ।

१० महिना लगाएर निर्माण गरिएको थियटरमा ८० लाख लगानी रहेको पोखरा थियटरका अध्यक्ष परिवर्तनले बताए । १० वर्षको लागि जग्गा लिजमा लिएर थियटर निर्माण गरिएको भएपनि थियटर रहेसम्म आफूले जग्गा दिने थियटरका लगानीकर्ता तथा जग्गाधनी शंकरनाथ कोइरालाले बताए ।

करीब २ रोपनी क्षेत्रफलमा बनेको यो हल बहुउद्धेश्यीय प्रयोजनका लागि प्रयोग गर्न सकिने छ । २ सय सिट क्षमताको थियटर पूर्णतया साउण्ड प्रुफ छ । लाइट, साउण्ड सिस्टम हलमै जडान गरिएको छ ।

थियटर फागुनको पहिलो साताबाट सञ्चालनमा आउने छ । पहिलो नाटकका रुपमा पोखरा थियटरको पहिलो प्रस्तुतीका रुपमा नाटककार सरुभक्तको नाटक ‘सरुमा रानी’ मञ्चनबाट शुरु गर्ने तयारी छ ।

थियटर बनेसँगै नाटक मञ्चन बृद्धि हुने अपेक्षा गरिएको छ । यसअघि थियटर नहुँदा पोखरा उद्योग वाणिज्य संघको सभा हल वा पोखरा सभागृहलाई प्रयोग गरिँदै आएको थियो । तर, त्यहाँ मञ्च निर्माणदेखि साउण्ड सिस्टम, लाइट जडानलगायतका कार्य गर्नुपर्दा नाटक प्रदर्शनका लागि सास्ती बेहोर्नु पर्दथ्यो ।

पोखरा थियटरले नियमित नाटक मञ्चन गर्ने बताएको छ । यसअघि वर्षमा १/२ वटा मात्र नाटक मञ्चन हुँदै आएको पोखरामा थियटर निर्माणसँगै नियमित नाटक मञ्चन गर्ने उद्घोष भएको हो ।

‘अब नियमित नाटक मञ्चन गर्छौं’ अध्यक्ष परिवर्तनले भने, ‘केहि नाटक हामी गर्छौं, केहि पुराना रंगकर्मीहरुले बनाएका मञ्चन गछौर्ं, केहि काठमाडौंबाट आमन्त्रण गर्छौं भने कहिलेकाहिं प्रदेश नम्बर ४ मा पर्ने जिल्लाहरुमा हुने नाटकहरुलाई पनि मञ्चन गर्ने अवसर दिन्छौं ।’

प्रकाशित मितिः शनिबार, माघ १३, २०७४     2:47:06 PM

Tara Chapagain

See all posts by