नाट्टा क्षेत्रिय संघ पोखराको अध्यक्षमा सन्तोष पोख्रेल पक्कापक्की

नाट्टा क्षेत्रिय संघ पोखराको अध्यक्षमा सन्तोष पोख्रेल पक्कापक्क

पोखरा, १२ माघ/नाट्टा क्षेत्रिय संघ पोखरा यतिबेला अधिवेशनको तयारीमा जुटेको छ । शनिबार पोखरामा हुने १० औं अधिवेशन तथा २३ औं वार्षिक साधारणसभाले संघको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको समेत चयन गर्ने भएपछि यतिबेला नाट्टा पदाधिकारीहरु दौडधुपमा ब्यस्त देखिएका छन् ।

हालसम्मको स्थिती अनुसार अध्यक्ष, प्रथम उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्विरोध हुने सम्भावना रहेको संघका अध्यक्ष दिलप्रसाद गौतमले जानकारी दिए । अध्यक्ष पदमा सन्तोष पोखरेल, प्रथम उपाध्यक्षमा सञ्जयकान्त सिग्देल, द्वितिय उपाध्यक्षमा झविलाल अधिकारी, महासचिवमा हरिराम अधिकारी र कोषाध्यक्षमा किशोर दाहालको मात्रै नाम परेको छ । यी नामहरुमा लगभग सर्वसम्मत भइसकेको बताइएको छ ।

तर सचिव, सह–कोषाध्यक्ष र सदस्यहरुमा भने हाल सम्मपनि सहमति हुन सकेको छैन । सचिवमा कुलचन्द्र शर्मा, नवराज अधिकारी, प्रेमप्रसाद सुवेदी र कमला गिरीको चर्चा रहेको छ । त्यसैगरि सह–कोषाध्यक्षमा धु्रवजित कुँवर र राजेश पहारीले इच्क्षा व्यक्त गरेका छन् भने ७ सदस्यका लागि १० जनाको नाम परेकाले सदस्यमा पनि चुनाव हुन सक्ने स्थिती देखिएको छ । तर सकेसम्म सर्वसम्मतिमानै नयाँ कार्यसमिति चयन गर्ने कोशिष भइरहेको अध्यक्ष गौतमले बताए । उम्मेदवारीको अन्तिम मनोनयन शुक्रबारसम्म रहने भएकाले शुक्रबार साँझसम्म सबै पदमा सहमति हुनपनि सक्ने उनले औल्याए ।

को हुन अध्यक्षका दावेदार पोखरेल

अध्यक्ष पदमा निर्विरोध देखिएका सन्तोष पोखरेल लामो समयदेखि नाट्टा पोखराको कार्यसमितिमा रहि काम गरेका अनुभवि व्यक्तिका रुपमा चिनिन्छन् । उनी नाट्टाको दुई कार्यकाल अगाडी प्रथम उपाध्यक्ष थिए भने त्यसपछि अध्यक्ष सल्लाहकारका रुपमा नाट्टामा रहेका छन् ।

पोखरा जेसिजका पूर्वाध्यक्ष पोखरेललाई नेपाल जेसिजले देशैभरका उत्कृष्ट जेसिज अध्यक्षका रुपमा पनि पुरस्कृत गरिसकेको छ । आधा दर्जन बढि व्यवसाय सम्हाल्दै आएका युवा उद्यमी पोखरेल रोटरी क्लव अफ पोखरा मिडटाउनका प्रेशिडेण्ट इलेक्ट पनि हुन् । लभ्ली माउण्ट टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक पोखरेल दर्जन बढि सामाजिक संघसंस्थामा क्रियाशिल रहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, माघ १२, २०७४     7:31:56 AM

Tara Chapagain

See all posts by