चाइल्ड आइकन पोखराको ट्यालेन्ट शो सम्पन्न

पोखरा, ३० पुस ।
चाइल्ड आइकन पोखराको ट्यान्लेन्ट शो शनिवार पोखरामा सम्पन्न भएको छ । मिडिया ल्याण्ड काठमाण्डौंले पहिलो पटक पोखरामा आयोजना गरेको चाइल्ड आइकनमा सहभागि ५४ जना प्रतिष्पर्धीले आ—आफ्नो क्षमता प्रस्तुत गरेका हुन् । उनीहरुले नृत्य, गायन, पेन्टिङ, कविता वाचन, ड्रोईङ लगायतका क्षमता प्रस्तुत गरे । चाइल्ड आइकनमा पोखराका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको छ ।

पहिलो चरणको अडिसनपछि पुस २५ गतेदेखि उनीहरूको प्रशिक्षण जारी रहेको र सोहि तालिका अन्र्तगत नै शनिवार ट्यान्लेन्ट शो सम्पन्न भएको मिडिया ल्यान्डकी प्रबन्ध निर्देशक प्रतिमा श्रेष्ठले बताइन् । आगामी माघ ५ गते पोखरा सभागृह हलमा चयन हुने चाइल्ड आइकनका प्रतियोगीहरूको आत्मविश्वास अभिवृद्धि, फोटो सेसनसम्वन्धी प्रशिक्षण सम्पन्न भईसकेको छ भने अवको प्रशिक्षणमा व्यक्तित्व विकास, कोरियोग्राफी, सामाजिक सचेतना, बालमनोविज्ञान सवल बनाउने लगायतका विषयमा प्रशिक्षण दिइनेछ । साथै वृद्धाश्रम जस्ता सामाजिक संघ संस्थाको पनि प्रतियोगीले स्थलगत अवलोकन गर्नेछन् । प्रतियोगितामा जुनियर प्रतियोगी र सिनियर प्रतियोगी गरी दुई छुट्टै समूहलाई प्रस्तुत गरिने निर्देशक श्रेष्ठले जानकारी दिईन् । यो प्रतियोगितामा जुनियरतर्फ १८ र सिनियरतर्फ ३६ जना प्रतिष्पर्धी छन् ।

निर्देशक श्रेष्ठका अनुसार चाइल्ड आइकनका विजेताले अन्तर्राष्ट्रिय बाल प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने मौका पाउनेछन् । बालबालिकाहरुको प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकासका लागि विगत आठ वर्षदेखि काठमाण्डौंमा आफुहरुले ‘चाइल्ड आइकन’ प्रतियोगिता आयोजना गर्दै आएको श्रेष्ठले बताईन् । मिडिया ल्याण्डले ‘आठौं संस्करणको चाइल्ड आइकन–२०१७’ गत कार्तिकमा मात्र सम्पन्न गरेको थियो ।

प्रकाशित मितिः आइतवार, पुस ३०, २०७४     7:55:32 PM

Tara Chapagain

See all posts by