थारु बस्तीमा माघीको रौनक

थारु समुदायको माघी पर्वको चहलपहल बढेको छ । थारु समुदायको महान पर्व अर्थात थारु समुदायको नयाँ बर्षको रुपमा मानिने माघी पर्व नजिकिँदै गर्दा थारु बस्तीमा चहलपहल बढेको हो । माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन् । माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले यसलाई तामझामका साथ मनाउने गरेको बर्दिया ठाकुरबाबा नगरपालिका ३ मिर्चैयाका हरिप्रसाद थारुले बताए ।
पर्व नजिकिँदै गर्दा आफुले अरुको घरमा मजदुरी गर्न जाने गरेको उनले बताए ।

पर्वलाई सभ्य तरिकाले मनाउनका लागि आफुले मजदुरी गरिरहेको उनले बताए । मजदुरी गरेको पैसाले माघी मनाउने उद्देश्य रहेको चौधरीको भनाई छ । माघी मनाउनका लागि जाँड, रक्सी र घर लिप्ने जस्ता सबै तयारी सकिएको क्यो बाँके फत्तेपुरका फुलमति थारुले बताइन् । माघी पर्व भव्य तरिकाले मनाउने भएको हुनाले यसलाई अझ भव्य बनाउन सवै तयारी पुरा भएको उनले बताइन् । माघीमा आफन्ती आउने भएको हुनाले उनीहरुको सेवा सत्कारका लागि सम्पुर्ण तयारी पुरा भएको उनले बताइन् ।

घरमा धेरै आफन्ती एकैठाउँमा जम्मा भएर मनाउने योजना रहेको फुलमतिले बताइन् । थारु समुदायले भव्य रुपमा मनाउने भएको हुनाले माघी महिनालाई थारु समुदायले नयाँ बर्षको रुपमा समेत मनाउने गर्दछन् । माघी महिनामा थारु समुदायमा घर फुट्ने, अरुको घरमा कमैया बस्ने नवस्ने, जग्गा अधिया लगाउने नलगाउने, बडघर बस्ने नबस्ने, चौकिदार हेरफेर जस्ता महत्वपुर्ण योजना बनाउने भएको हुनाले माघी महिनालाई थारु समुदायले महत्वपुर्ण पर्वको रुपमा मनाउने गर्दछन् । थारु समुदायमा माघ १ गते देखि ७ गतेसम्म अझ धुमधामका साथ मनाउने गर्दछन् ।

पुषको अन्तिम दिन थारु समुदायका मानिसहरु रातभरि आगो ताप्ने, बंगुरको मासु, गैइजी, तरुल जस्ता विभिन्न परिकार बनाएर खाने चलन समेत रहेको छ । सोहीदिन पुषको अन्तिम दिन रातभरि आगो ताप्ने र भाले बासेको समय विहान २ बजेदेखि नजिकै रहेको खोला, नदिमा नुहाएर आफुभन्दा ठुलासँग आर्शीवाद समेत लिने चलन रहेको छ । माघ १ गते पहिलो दिन भएको हुनाले नजिकै रहेको मेला समेत जाने गर्ने गर्दछन् । माघी पर्वमा एक आपसमा साथीभाईहरुसँग मिलेर जाँड रक्सीसमेत पिउने र मनोरञ्जन गर्ने गर्दछन् ।

बर्दियाको थारु बस्ती मिर्चैयामा छैन रौनकता
थारु समुदायको महान पर्व नजिकिँदै गर्दा थारु बस्तीमा चहल पहल बढेको छ । थारु समुदायमा विशेष पर्वको रुपमा मनाउने माघी पर्व नजिकिदै गर्दा थारु समुदायमा चहलपहल बढेको देखिए पनि बर्दियाको मिर्चैया गाउँमा माघीको रौनकता छोएको छैन । थारु समुदायको महान पर्व अर्थात नयाँ बर्षको रुपमा मनाउने पर्वलाई सभ्य भव्य बनाउन थारु समुदाय चहलपहलका साथै रौनकता उत्तिकै बढेको भएपनि बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ३ मिर्चैयामा यस बर्ष माघीको चहलपहल हुन सकेको छैन ।

थारु पर्व अरु सालको जस्तो यसबर्ष उल्लासमय नभएको मिर्र्चैयाका बासिन्दाहरुले बताएका छन् । थारु समुदायको बहुल्यता रहेको मिर्चैया गाउँमा यसबर्ष माघीको रौनक नभएको स्थानीय मिलरानी चौधरीले बताइन् । हरेक बर्ष माघी पर्वमा रौनकता हुन्थ्यो तर यसबर्ष गाउँनै मौन रहेको कारण माघी खल्लो भएको महसुस भैरहेको उनले बताइन् । माघ पर्वलाई अरु सालमा भव्य रुपमा नाचगान गरेर मनाउने माघी पर्व यसवर्ष गाउँ नै शुन्य रहेको महसुस भएको उनले बताइन् ।
‘यसपाली माघीमा न रौनक छ न युवायुवतीहरु नै छैनन्,’ उनले भनिन् । हरेक साल माघी महिनामा ठुलै नाचगान कार्यक्रमको आयोजना गरिने गर्दथ्यो तर यसबर्ष गाउँमा दुख परेको कारण यस्तो कार्य गर्न नसकेको संरक्षण युवा क्लवका अध्यक्ष युवराज चौधरीले बताए । गाउँमा मिल्ने र गर्न सक्ने साथीहरुले छोडेर गएपछि यसबर्षको पर्वमा गाउँमा उल्लासमय नभएको अध्यक्ष युवराजले बताए । कात्र्तिक २४ गते एकदम मिल्ने साथी निरेश चौधरीको फुटबल खेल्दाखेल्दै मृत्यु भयो । ‘नजिकिँदै गरेको तिहार खल्लो भयो सँगै खेल्ने हाँस्ने साथी सदाको लागि गुमाएपछि मन रोइरहेको छ,’ उनले भने । केही दिनपछि अति नै मिलनसार गाउँकै प्रगति चौधरीको मंंसिर ५ गते मृत्यु भयो ।

‘गाउँमा मिल्ने जति सवैलाई दैवले लगेपछि गाउँमा पनि कसरी उल्लासमय होस् । गाउँमा कोही राम्रा साथी छैनन्, भएका जति सबै वाहिर कमाउन गएका छन्, गाउँमा माघीको रौनक नै छैन,’ स्थानीय हरी प्रसाद चौधरीले भने । माघी नजिक नजिक पुग्दै गर्दा सुशीलाको मृत्यु भएपछि गाउँनै मौन भएको स्थानीय हरि प्रसादले भने । गाउँमा युवाहरु नै नभएपछि माघी पर्व कसरी र कहाँ मनाउने गएर मनाउने भन्ने चिन्तामा चौधरी छन् । हरेक बर्ष उल्लासमयका साथ मनाउने माघीपर्व यसवर्ष त्यसै तर्ने भयो उनले भने ।

प्रकाशित मितिः आइतवार, पुस ३०, २०७४     4:16:17 PM

Tara Chapagain

See all posts by