यातायात व्यवसायीको अडानपछि सर्वपक्षीय बैठक विना निष्कर्ष सकियो, कुनै पनि हालतमा मीटरमा चल्नुपर्ने कास्कीका प्रजिअ अधिकारीको निर्देशन

 यातायात व्यवसायीहरुले ट्याक्सी मीटरमा चलाउन नसकिने बताएपछि आज जिल्ला प्रशासन कार्यालय कास्कीमा भएको सर्वपक्षीय बैठक विना निष्कर्ष सकिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको पहलमा भएको सर्वपक्षीय बैठकमा यातायात व्यवसायीहरुले कास्की जिल्लाका सबै स्थानमा ट्याक्सी मीटरमा चलाउन नसकिने अडान राखेका थिए भने प्रजिअ अधिकारी लगायतका सुरक्षा निकायका प्रमुखहरुले तुरुन्तै ट्याक्सीलाई विना शर्त मीटरमा चलाउन निर्देशन दिएका थिए ।

बैठकमा सहभागी बस तथा ट्याक्सी व्यवसायी ससितिका प्रतिनिधिहरुले पोखरा लेखनाथ महानगरपालिकाका सुगम स्थानहरुमा ट्याक्सी मीटरमा सञ्चालन गर्न सकिने भएपनि दुर्गम गाउँहरुमा मीटरमा चल्न नसकिने बताएका थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले भाडा समायोजन गर्नका लागि आफूले माथिल्लो निकायमा पहल गर्ने बचन दिएका थिए । तर उनले तत्काल विनाशर्त ट्याक्सी मीटरमा चलाउन निर्देशन दिएका थिए ।
वादविवाद र व्यापक छलफल हुँदा पनि सहमति हुन नसकेपछि आजको बैठक शुक्रबार बिहान ११ बजे विना निष्कर्ष सकिएको छ । त्यस बैठकमा मीटरमा ट्याक्सी चलाउन सकिने स्थानहरुको पहिचान गरी प्रतिवेदन दिनका लागि एकहप्ता अवधि दिएर एक कार्यदल बनाउने र सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा पोखराका कुन कुन ठाउँमा ट्याक्सी मीटरमा चलाउन नपर्ने हो एकीन गरी अघि बढ्न यातायात व्यवसायीहरु सहमत हुने तयारीमा लागेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा भएको सर्वपक्षीय बैठक सम्पन्न भएपछि पोखराका यातायात क्षेत्रसँग सम्बन्धित व्यवसायी संस्थाहरुको बैठक राती अबेरसम्म चलिरहेको छ । सोही बैठकले एक कार्यदल बनाएर प्रतिवेदन बनाउने र प्रतिवेदनका आधारमा ट्याक्सी चलाउने गरी सहमति गर्ने बारे छलफल गरिरहेको बुझिएको छ ।

प्रकाशित मितिः बिहिबार, पुस २७, २०७४     8:18:30 PM

Tara Chapagain

See all posts by