आठौ पोखरा महोत्सव शुरु, पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य सांसद खगरराज अधिकारीले गरे उद्घाटन

पुस २७ पोखरा । आठौं संस्करणको पोखरा महोत्सव आजबाट सुरु भएको छ । युनाइटेड क्लवको आयोजनामा आजबाट सुरु भएको महोत्सवको पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य सांसद खगरराज अधिकारीले उद्घाटन गरे ।

युवाको जाँगर राष्ट्र निर्माणको आधार मूल नाराका साथ पोखराको अमरसिंहचौरमा आजबाट सुरु भएको महोत्सवमा यो पटक हात्ती सवार गरी महोत्सवको अवलोकनको ब्यवस्था मिलाइने भएको छ ।


१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, पशुपंछीको प्रदर्शनी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती, कृषि–अटो मेला लगायतका गतिविधी रहने महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा २ सय ३५ वटा स्टलहरु रहेका छन भने १ करोड १४ लाख अनुमानित आम्दानी ७९ लाख खर्च र ३५ लाख बचत हुने अनुमान गरिएको छ ।

त्यसैगरी महोत्सव अवधिभर राष्ट्रिय स्तरका कलाकारहरु बद्री पंगेनी , प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपत्ति शर्मा , कोमल वली, राम्जी खांड, राधिका हमाल, प्रिती आले, जुना श्रीष मगर, चौलेन्द्र पौडेल, ज्योति मगर, राजु गुरुङ,कृष्णा गुरुङ, मिलन लामासहित स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

त्यसैगरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्याण्डहरु मन्त्र, लाहुरे, सुगम पोख्रेल, एण्ड भिक्ट्री, मङगोलियन हार्ट, सबिन राई, काली प्रसाद बास्कोटा तथा स्थानिय व्याण्डहरुको लाइभ प्रस्तती रहने क्लवका प्रथम उपाध्यक्ष तथा महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले वताए । महोत्सवमा चार नम्बर प्रदेश स्तरिय लोक दोहोरी प्रतियोगिता, हांस्य ब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था, बाल उद्यान, नेपाली संस्कृति झल्कने प्रस्तुती, लगायत विभिन्न मनोरन्जनात्मक गतिविधी सञ्चालन हुनेछन ।

प्रकाशित मितिः बिहिबार, पुस २७, २०७४     6:54:14 PM

Tara Chapagain

See all posts by