फेसबुक र फोनबाटै दलालको चंगुलमा किशोरी र महिला

 

बाँके । मानव बेचविखनमा सक्रिय दलालहरुको सम्पर्क सुत्रको रुपमा फेसवुक र मोवाइल फोन हुने गरेको पाइएको छ । उनीहरुले पेशबुक र मोवाइलबाटै सजिलै किशोरी तथा महिलालाई आफ्नो चंगुलमा पार्ने गरेको पाइएको हो । मानव बेचविखनविरुद्ध क्रियाशिल माइती नेपालले सार्वजनिक गरेको तथ्याङ्ककका अनुसार मानव दलालले सामाजिक सञ्जालको बढ्दो प्रयोग र मोवाइल फोनबाट सम्पर्क गरेर महिला तथा किशोरीलाई सजिलै फसाउने गरेको पाइएको हो ।
‘उद्धार गरिएका र नाकाबाट घर फिर्ता गरिएकाहरुको भनाईको आधारमा धेरैजसो महिला फेसबुक र मोवाइल फोनबाट दलालको सम्पर्कमा आएको पाइएको छ,’ माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले भने । उनले उद्धार र नाकाबाट फिर्ता पठाइएका मध्ये ११८ जनाले फेसवुकबाट सम्पर्क भएको बताएको र २११ जना महिलाले मोवाइल फोनबाट सम्पर्क भएको उद्दारपछि बयान दिएको बताए ।
‘दलालले अन्दाजको भरमा मोवाइलमा फोन गर्ने र महिला भए निरन्तर फोन गरेर सम्पर्क बढाउने गरेको पाइयो,’ कोइरालाले भने । यसैगरी फेसवुकमा साथी बन्ने र साथी बनेकै आधारमा हिमचिम बढाउने गरेको पाइएको उनले बताए । उनले शिक्षित, सम्पन्न परिवारका महिला तथा किशोरी सजिलै यो माध्यामबाट दलालको पञ्जामा पर्ने गरेको आफुहरुको अध्ययनले जनाएको बताए ।
उनले गतवर्ष यता माइती नेपाल नेपालगन्जले ६७ जना महिला र बालबालिकाको उद्धार गरेको जानकारी दिँदै भने, ‘यो वर्ष भारतबाट ६६ र खाडी क्षेत्रबाट १ जना गरी ६७ जनाको उद्दार गरिएको छ । यसमा बाँकेका ४ जना महिला रहेका छन् ।’ माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले सन् २०१७ को एक वर्षमा श्रम र यौन शोषणमा परेका ६७ जनाको विभिन्न देशबाट उद्धार गरिएको बताए ।
सन् २०१६ मा श्रम र यौन शोषणमा परेका २६ जनाको उद्धार भएको थियो । खोज तलासका निवेदन र फेला पर्नेको संख्या पनि गतबर्षको तुलनामा बढेको माइती नेपाल नेपालगन्जले जनाएको छ । सन् २०१६ मा ७३१ वटा खोजतलासको निवेदन परेकोमा ११३ जना फेला परेका थिए । सन् २०१७ मा खोजतलासका ८३४ वटा निवेदन परेको र १५४ जना फेला परेको संयोजक कोइरालाले बताए । उनले जोखिमपूर्ण यात्रामा रहेका १ हजार ७१ जनालाई सीमानाका जमुनाहाबाट उद्धार गरी आवधिक गृहमा प्रवेश गराइएको जानकारी दिँदै एकबर्षको अवधिमा १ हजार ११६ जनालाई परिवारमा पुनर्मिलन गराइएको बताए ।
उनले जोखिमपूर्ण यात्रा गरिरहेका बाँकेका १९० जना महिला र बालबालिकालाई जमुनाहा नाकाबाट घर फिर्ता पठाइएको छ । ‘पहिलेको भन्दा आवागन गर्ने यूवायूवतीको संख्या बढेको छ, यसले पनि अघिल्ला बर्षको भन्दा निवेदन र फिर्ता गरिएको संख्या धेरै देखिएको छ,’ उनले भने । माइती नेपालले सार्वजनिक गरेको तथ्याङ्कक अनुसार घरेलु हिंसाका घटनामा भने कमी आएको छ । सन् २०१६ मा ३० वटा घरेलु हिंसाका घटना भएको थियो भने सन् २०१७ मा २० वटा घरेलु हिंसाका घटना भएको माइती नेपालको तथ्यांकले देखाउँछ ।
‘सचेतना र शिक्षाले घरेलु हिंसाका घटनामा कमी भएको हो की भन्ने हाम्रो बुझाई छ,’ कोइरालाले भने । उनले एक बर्षको अवधिमा मानव वेचविखनका ४ वटा मुद्धा दर्ता भएकोमा एउटा पनि फैसला हुन नसकेको बताए । उनले बेचविखनमा परेका महिलाको उद्धार भएपनि मानव वेचविखनका मुख्य नाइके फेला पर्न नसकेको जानकारी दिए । ‘मुख्य नाइके फरार रहेकोले फैसला हुन ढिलाई भएको हो,’ उनले भने ।

प्रकाशित मितिः आइतवार, पुस २३, २०७४     1:16:53 PM

Tara Chapagain

See all posts by