युवतीसँग होटलमा रक्सी खाँदा सुनारको ज्यान गयो

तनहँु, पुस २१ गते
गत पुस ११ गते व्यास नपा–२ बागबजार टोलमा हत्या गरिएका ओम सुनारको हत्यामा संलग्नलाई प्रहरीले सार्वजानिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सो हत्याका अभियुक्तहरु सार्वजानिक गरेको हो । गोरखा जिल्ला पालुङटार नपा वडा नम्बर ७ बस्ने २५ वर्षीय सुनारको हत्यामा संलग्न भएका पाँच जनालाई तनहँु प्रहरीले विहिबार राती पक्राउ गरेको थियो । दमौलीमा मिस्त्री काम गर्दै आएका सुनार पुष १० गते मात्रै घरबाट दमौली आएका थिए । ४ वर्षदेखि श्रीमती र ५ वर्षीय छोरा सहित सुनार दमौलीमा बस्दै आएका थिए ।

घटनाको अनुसन्धान गर्न गठित सई मनोज पाण्डेको संयोजकत्वमा गठित प्रहरी टोलीले अनुसन्धान पश्चात् अभियुक्तहरुलाई बिहीबार राती उनीहरुकै डेराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा व्यास नगरपालिका वडा नम्बर ११ भर्याङ्दी बस्ने ३२ वर्षीय ठूने भनी चिनिने महेन्द्र गुरुङ्ग, सोही ठाउँका ट्वाके भनि चिनिने ४२ वर्षीय रुपसिंह गुरुङ्ग र २२ वर्षीय देवन गुरुङ्ग रहेका छन् ।
यस्तै घटना लुकाउन सहयोग गर्ने गोरखा धोर्जे ठाटी ५ स्थायी घर भई हाल व्यास–१ गल्वुवेशी डेरा गरी बस्ने ३१ वर्षीया विपना भन्ने निर्मला गुरुङ्ग र स्याङ्जा पौवेगौडे स्थायी घर भई व्यास–१, गल्वुवेशी डेरा गरी बस्ने ३३ वर्षीया विमला गुरुङ्ग समेत पक्राउ परेका छन् । उनीहरु दिदी बहिनी हुन् ।

प्रहरीले अनुसन्धानको क्रममा मृतकको साथीभाई, इष्टमित्र, मृतकले घर निर्माण गर्ने हुँदा घर निर्माण गर्ने ठेकेदार, कामदार लगायत गरी ८० भन्दा बढि मानिससँग सोधपुछ गरेको डिएसपी शुनिल मल्लले बताए । अनुसन्धानको क्रममा पुष १० गते साँझ गल्वुवेशीमा बसोबास गर्ने २ जना युवती र १ जना पुरुष व्यास–२ उत्तरशीला लाइनमा रहेको मिर्लुङ स्टार होटलमा रक्सी खान बसेको युवतीका आफन्तले देखि महिलाहरुलाई गाली गरेर घर पठाई निज सुनारसँग विवाद गर्दै होटल बाहिर निस्किएको भन्ने पत्ता लागेको थियो । मृतक सुनारको घटना भएको १२÷१३ दिन अघि मात्रै निर्मला र विमलासँग चिनजान भएको प्रहरीले जनाएको छ ।

लगत्तै ती महिलाहरु पत्ता लगाई खोजतलास गर्दै जाँदा पुष २० गते दिउँसो व्यास–१ गल्वुवेशी बस्ने निर्मला र बिमला गुरुङ्गलाई फेला पारी घटनाको बारेमा सोधपुछ गर्दा घटनाको दिन मृतक सुनार र निर्मला तथा विमलाले मिर्लुङ स्टार भित्र बसी चाउमिन तथा रक्सी खाएको प्रहरी अनुसन्धानमा खुलेको डिएसपी मल्लले बताए । सोही समयमा ठूने भन्ने महेन्द्र गुरुङ्ग र माइला भन्ने रुपसिंह गुरुङ्ग होटलभित्र आई ओम सुनारलाई देखाएर यो को हो ?, यो सँग किन बसेको भनी निहँु खोजेको र निजहरु मिलेर ओम सुनारलाई घटनास्थलमा लगी ढुंगाले हानी हत्या गरेर निर्मला र विमलालाई कोही कसैलाई नभन्नु भनेको अनुसन्धानको क्रममा खुलेको छ । पक्राउ परेका सबैले आफ्नो कसुरको बयान दिएका कारण उनीरुलाई कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४     7:32:14 PM

Tara Chapagain

See all posts by