पश्चिम तराईमा अत्याधिक चिसो, बालबालिका र ज्येष्ठ नागरिक प्रभावित

पश्चिम तराईका जिल्लामा चार दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । कुहिरोले आकाश ढाकिने गरेको छ भने नेपालगन्जबाट हुने हवाई उडान अनियमित हुन थालेका छन् । बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी बालकहरू हेडलाइट बाल्न बाध्य छन् । नेपालगन्जस्थित हावापानी फिल्ड कार्यालयकी प्रमुख रिता महतोले नेपालगन्जको तापक्रम ४ डिग्री सेल्सियसभन्दा कममा झरेको बताइन् । राती पनि शीतलहर चलेका कारण चिसो बढी हुने गरेको छ ।

घाम नलाग्नुका साथै शीतलहरका कारण पछिल्लो चार दिनदेखि अत्याधिक चिसो बढेको हो । आइतबारदेखि नै नेपालगन्ज, गुलरिया लगायतका पश्चिम नेपालमा घाम देखिएको छैन । जिल्ला प्रशासन कार्यालय बाँकेले चिसो बढेपछि स्थानीय तहलाई आवश्यक व्यवस्थापनका लागि अनुरोधसमेत गरेको छ । प्रशासनले न्यानो कपडा, कम्बल वितरण तथा चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका ८ वटै स्थानीय तहलाई पत्र पठाएर चिसोबाट प्रभावितहरुलाई जोगाउन स्थानीय तहमै उपाय अवलम्वन गर्ने अनुरोध गरेपछि स्थानीय तहहरुले सोही अनुसार दाउराको व्यवस्था गरी स्थानीय नागरिकहरुलाई वितरण गरिरहेका छन् । शीतलहरका ठेला रिक्सा चालक तथा मजदुरहरु सबैभन्दा बढि प्रभावित भएका छन् । बालबालिका तथा ज्येष्ठ नागरिक पनि चिसोका कारण प्रभावित भएका छन् । घाम नलागेका कारण दिउ“सै अँध्यारो जस्तो भएपछि बा“केका विद्यालयहरु भने बन्द भएका छैनन् । ‘नर्सरी, केजीमा पढ्ने बालबालिका अति प्रभावित छन्,’ अर्जुन कलवारले भने ।

चिसो बढेपछि रुघाखोकी, ज्वरोलगायत समस्याले पीडित हुनेको संख्या पनि बढेको छ । बालबालिका र वृद्धवृद्धामा चिसोका कारण स्वास्थ्य समस्या बढी देखिएको छ । जाडो बढ्दै गएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि कम देखिन थालेको छ । विपन्न बस्तीहरुमा न्याना लुगा अभाव रहेकाले जाडो छल्न मुस्किल भइरहेको नेपालगन्ज–१० का सैयद चिडिमारले बताए । शीतलहरका कारण नेपालगन्ज बिमानस्थलबाट हुने हवाई उडान पनि प्रभावित भएको छ । राँझा बिमानस्थलका अनुसार चार दिनदेखि विहानका हवाई उडानहरु प्रभावित भएका छन् । हवाई उडान हुन कम्तीमा २ हजार भिजिबिलिटी आवश्यक पर्छ तर शीतलहर र कुहिरोले आकाश ढाक्दा बिहानका हवाई उडानहरु प्रभावित हुने गरेको नेपालगन्जस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।

नेपालगन्जबाट काठमाडौं र कर्णालीका लागि दैनिक दर्जनभन्दा बढी उडान हुने गरेका छन् । ‘शीतलहरका कारण तापक्रम घटेपछि चिसो निकै बढी महसुस भएको हो । दिउँसो केहीबेर आकाश खुल्ने गरेकाले त्यतिबेला तापक्रम बढ्छ,’ हावापानी फिल्ड कार्यालयकी प्रमुख महतोले भनिन् । शीतलहरका कारण बिहानको समयमा नेपालगन्ज लगायत स्थानीय बजारहरुमा चहलपहल कम हुन थालेको छ । सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका देखिन्छन् । दुई वर्षयता पश्चिम तराईमा मंसिरको अन्तिम सातादेखि शीतलहर चल्न थालेको छ । दुई वर्षअघि पुस र माघ महिनामा शीतलहर सुरु हुने गरेको हावापानी फिल्ड कार्यालयको अभिलेख छ ।

पश्चिम तराईमा माघ अन्तिम सातासम्म शीतलहर चल्ने गरेका कारण स्थानीय प्रशासनले शीतलहरलाई दैवी प्रकोपको सूचीमा राखेको छ । चिसोबाट जोगिन बाक्लो कपडा लगाउन र शीतलहरका बेला घरबाहिर ननिस्कन प्रशासनले सुझाव दिएको छ । मौसममा आएको परिवर्तन र चिसो हावाका कारण जनजीवन निकै कष्टकर बन्न थालेको छ । खासगरी विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न मुस्किल भएको छ । चिसो अत्यधिक बढेपछि सरकारी कार्यालयहरूमा पनि सेवाग्राहीको उपस्थिति न्यून हुँदै गएको छ । जिल्लाको विपन्नका परिवारका नागरिकहरुमा जाडोको बढी समस्या देखिएको छ ।

नगरका विभिन्न स्थानमा चिसोबाट बच्न सर्वसाधारणले आगो बाल्न सुरु गरेका छन् । यता अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले चिसोबाट जोगिनको लागि नगरका विभिन्न सार्वजनिक स्थानहरुमा आगो ताप्ने ब्यवस्था मिलाएको छ । विगत तीन दिनदेखि हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि सोमबार साँझदेखि नै भिडभाड हुने नगरका विभिन्न स्थानमा आवागमन गर्ने सर्व साधारणका लागि न्यानो पार्न दाउरा बाल्ने व्यवस्था मिलाइएको हो । चिसोबाट आहत नगरवासीलाई आगो ताप्ने व्यवस्था गरेर राहत दिलाइएको छ । त्रिभुवनचौक, धम्वोझी चौक, बागेश्वरी मन्दिर लगायतका ११ स्थानमा दाउरा वितरण गरी आगो बाल्ने ब्यवस्था मिलाइएको उपमहानगरपलिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । जिल्ला बन पैदावर आपूर्ति समितिबाट दाउरा खरिद गरी जिल्ला प्रशासनसँगको सहकार्यमा दुई चट्टा दाउरा बितरण गरिएको उनले जानकारी दिए । जाडो बढिरहेकाले थप वडा र स्थानमा पनि आगो बाल्ने ब्यवस्था मिलाइने उपमहानगरपलिका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताए ।

प्रकाशित मितिः बुधबार, पुस १९, २०७४     10:34:46 AM

Tara Chapagain

See all posts by