पोखरा महिला उद्यमीहरु चीन भ्रमणमा

तारा चापागाई

पोखरा, ७ पुस ।

पोखराका महिला उद्यमीहरु चीन भ्रमणमा गएका छन् । अध्ययन अवलोकन भ्रमणका लागि महिला उद्यमी सुनयना पालिखेको नेतृत्वमा महिला शुक्रबार चीन गएका हुन् । भ्रमण टोली सात सदस्यीय छ । ८ दिने भ्रमणका क्रममा टोलीले तिब्बतको ल्हासा, लिन्ची, कुमनिङ र छेन्डु लगायतका शहर घुम्ने कार्यक्रम रहेको संयोजक पालिखेले जानकारी दिइन् ।


‘चीनका महिला उद्यमीहरुले सञ्चालन गरेका विभिन्न उद्योग तथा व्यवसायको भ्रमणका क्रममा निरीक्षण गर्ने कार्यक्रम छ,’ उनले भनिन्, ‘महिला उद्यमीहरुका लागि यो भ्रमण निकै उपयोगी हुनेछ ।’ उद्यम सम्बन्धी अध्ययनका लागि भ्रमण फलदायी हुने पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी उपसमितिका संयोजक तथा भ्रमणमा सहभागी सीता बरालले बताइन् ।

भ्रमणमा पालिखे, बराल सहित उद्योगी तारा कार्की, व्युटिसियन सोनु सिग्देल, होटल व्यवसायी देवकुमारी हिराचन, शिक्षासेवी मिनु श्रेष्ठ कुवँर, पत्रकार सरिता तिमिल्सिना पंगेनी सहभागी छन् ।भ्रमण टोलीलाई पोखरा उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष गोकर्ण कार्की, उपाध्यक्ष विन्दु कोइराला सुवेदी, उपमहासचिव अर्जुन पोखरेल लगायतले भ्रमण सफलताको कामना सहित बिदाई गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, पुस ७, २०७४     10:59:59 AM

Tara Chapagain

See all posts by