लक्ष्मी ग्रुपको वार्षिकोत्सव,८० लाख रुपैयाँ लगानीमा ग्रुपले विन्ध्यबासिनी मन्दिर जानेलिफ्ट बनाउने

पुस ५, पोखरा
लक्ष्मी ग्रुपले ४४ औं वार्षिकोत्सव मनाएको छ । ग्रुपले बुधबार कर्पोरेट कार्यालय पोखरामा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा ग्रुपले विन्ध्यबासिनी मन्दिरमा लिफ्ट बनाउने घोषणा गरेको छ । मन्दिरमा जाने बृद्धबृद्धा तथा अशक्तहरुलाई सजिलो होष भन्ने उद्देश्यले ग्रुपले लिफ्ट निर्माण गर्न लागेको हो । लिफ्ट बनाउने सम्झौतापत्रमा समूहका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पबित्र राज रेग्मीले हस्ताक्षर गरेका छन् । ८० लाख रुपैयाँ लगानीमा ग्रुपले लिफ्ट बनाउन लागेको हो । मन्दिर जाने क्रममा लिफ्टबाट हिमालय क्षेत्र, पोखरा तथा आसपासको दृश्यावलोकन समेत गर्न सकिनेछ ।


वार्षिकोत्सवकै अवसरमा ग्रुपले पोखरेली युवा साँस्कृृतिक परिवारलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । ग्रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठले परिवारका अध्यक्ष दीपक समीपलाई चेक हस्तान्तरण गरेका हुन् । २०३० सालमा ५ किलो चिनीबाट मिठाइ बनाउन सुरु गरेको लक्ष्मी ग्रुप अन्तर्गत अहिले १० वटा व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन् । ग्रुपमा १ हजार ६ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको श्रेष्ठले बताए । वार्षिकोत्सवकै अवसरमा ग्रुपले पोखरामा ४ जना कर्मचारीलाई सम्मान गरेको छ । कर्मचारीहरु प्रलादभक्त कायस्थ, टीकाराम बस्ताकोटी, सुकदेव गिरी र भुवन आचार्यलाई सम्मान गरिएको हो ।

वार्षिकोत्सवको अवसरमा ग्रुपले कर्पोरेट कार्यालयमा रक्तदान कार्यक्रम समेत गरेको छ । उक्त अवसरमा १ सय ७ जनाले रक्तदान गरेका छन् । विभिन्न कार्यक्रम गरी समूहले काठमाडौंमा पनि वार्षिकोत्सव मनाएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, पुस ५, २०७४     8:09:11 PM

Tara Chapagain

See all posts by