रेडियो जननीको अध्यक्षमा मीलन थापा

रेडियो जननी ९०.६ को आठौ वार्षिक साधारणसभाले मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ कार्यसमितिको कार्यकारी निर्देशकमा सबिता शेरचन, सचिवमा हसिना बस्नेत, अनुगमन तथा मुल्यांकन उपसमितिको संयोजकमा सिता पाण्डे रहेका छन् । त्यसैगरि रेडियो प्रर्वद्धन उपसमिति संयोजकमा देवकुमारी हिराचन, स्रोत व्यवस्थापन उपसमिति संयोजकमा जुना पोखरेल पन्त र कार्यक्रम र जनसम्पर्क उपसमिति संयोजकमा स्वस्ति भट्टराई पाण्डे चयन हुनुभएको छ । संरक्षकको रुपमा रेडियोका संस्थापक अध्यक्ष हिरा भट्टराई, सल्लाहकारमा लक्की कार्की, वरिष्ठ पत्रकार नारायण कार्की र दुर्गा हुमागाई चयन हुनुभएको छ ।

संस्थाका संस्थापक अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको साधारणसभाका प्रमुख अतिथि ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान) का अध्यक्ष गोपाल कुमार झाँले रेडियोलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि देशभरका रेडियोहरुबीच छलफल चलाउनुपर्ने आवश्यकता रहेको बताउँदै सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धि गर्नुका साथै न्युनतम पारिश्रमिक लागु गर्नुपर्नेमा जोड दिनुभयो । रेडियोले उद्य्मशीलता, स्वतन्त्रता र समानताको नारा अनुरुप कार्य गरेको प्रति पनि उहाँले प्रशंसा गर्दै उहाँले रेडियो सञ्चालक र रेडियोमा कार्यरत सञ्चारकर्मीको सम्बन्ध नङ्ग र मासुको जस्तो हुनेभएका कारण पनि संस्थालाई बलियो बनाउनका लागि सबैजना लागि पर्नुपर्ने उल्लेख गर्नुभयो ।
महिला तथा बालबालिका कार्यलय कास्कीका प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसीले रेडियो जननी यस क्षेत्रको नमुना रेडियो बनेको र यसले समाजमा राम्रो प्रभाव पारेको बताउनुभयो ।

संस्थाका अध्यक्ष मिलन थापाले बिगतमा गरिएका राम्रा कार्यहरुलाई निरन्तरता दिँदै आगामी दिनमा स्रोताको चाहना अनुरुपका कार्यक्रमहरु ल्याउन्का साथै प्रदेश नं ४ को उत्कृष्ट रेडियो बनाउने तर्फ केन्द्रीत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रेडियोका संस्थापक अध्यक्ष हिरा भट्टराईले रेडियोको स्थापनाका उद्देश्य अनुसार नै कार्यहरु अगाडि बढेको बताउँदै आफ्नो कार्यकालमा आर्थिक समृद्धिका लागि उद्य्मशिलता आजको आवश्यकता भन्ने मुल नाराका साथ रेडियोले मेला महोत्सव, विभिन्न सिपमूलक तालिमहरु , जननी जागरण अभियान , जननी अवार्ड , जननी सम्मान जस्ता रेडियोका महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको र यस्ता कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडि बढाउनका लागि नयाँ नेतृत्वले लाई आग्रह गर्दै शुभकामना समेत व्यक्त गर्नुभयो ।

रेडियोका स्टेशन म्यानेजर बिमला भण्डारीले कुनै समय महिलाले मात्र रेडियो हाँक्न सक्छन् र भन्ने प्रश्न गर्ने समाजले आज सञ्चारमा महिला नेतृत्व स्वीकार गर्न सक्ने वातावरण सृजना भएको बताउदै नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै बानका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले आफ्नो उद्देश्य अनुरुप रेडियो अगाडि बढेको बताउदै रेडियोको नेतृत्व समाज परिवर्तनको संवाहक भएको बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले रेडियोहरुको संख्या बढ्दै गएको र गुणस्तरियता माथि प्रश्न चिन्ह् खडा हुँदै गएको हुँदा यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अब रेडियोले महिला केन्द्रीत कार्यक्रमहरु ल्याउन तर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

साधारणसभामा रेडियोको स्थापना कालदेखि हालसम्म उत्कृष्ट कार्य गरेबापत रेडियोका स्टेशन म्यानेजर बिमला भण्डारी, कार्यक्रम प्रस्तोता क्षमता खड्का, प्राविधिक एवं कार्यक्रम प्रस्तोता आनिया तामाङ्गका साथै रेडियोको समृद्धिका लागि प्राप्त गरेको सहयोगको उच्च मुल्याङ्कन गर्दै लुक्ला विमानस्थलका प्रमुख योगेन्द्र कुँवर र भट्टराई ट्रेडर्सका प्रोपाईटर मदन भट्टराईलाई सम्मान गरिएको थियो । योसंगै जननी आवाज स्मारिकका सम्पादक जमुना वर्षा शर्मा र संस्थापक अध्यक्षकी आमा लक्ष्मी भट्टराईलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २९, २०७४     6:54:38 PM

Tara Chapagain

See all posts by