सडक दुर्घटनामा वडा अध्यक्षको मृत्यु, खबर सुनेर बुवाको पनि निधन

अर्घाखाँची मालारानी–३ का वडा अध्यक्ष जीवन चौवानको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका ५५ वर्षीय चौवानको उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा बिहिबार विहान ४ बजेर ५० मिनेट जाँदा निधन भएको हो ।

अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गर्दा रुपन्देहीको सैनामैना नगरपालिकाको रानीबगीयाँमा दुध बोक्ने गाडीले चौवान सवार मोटरसाइकललाई गत मसिर २६ गते ठक्कर दिएको थियो ।

चौवानको टाउकोमा गम्भिर चोट लागेपछि उनलाई मंसिर २७ गते भरतपुर लगेर सघन कक्षमा उपचार गरिएको थियो ।

नेकपा एमालेको ईलाका कमिटीमा सचिवको जिम्मेवारी सम्हालेका चौवान वि.सं २०५४ को स्थानीय निकायको निर्वाचनमा खनदह गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

२०६० सालमा माओवादी प्रवेश गरी २०७३ सालमा उनी पुनः एमालेमा नै फर्किएका थिए । गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा उनी मालारानी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

उनका दुई छोरा, दुई छोरी र श्रीमती रहेका छन् ।

मृत्तक चौवानको निधन्रपति एमाले र माओवादी केन्द्रको जिल्ला कमिटीले गहिरो दुःख व्यक्त गरेको छ ।

अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझी, प्रदेस सभा सदस्हरु चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरेले शवमा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएर अन्त्यष्टी गरिएको छ ।

यसअघि, चौवानको दुर्घटनाको समाचार सुनेर गत मंसिर २६ गते अचेत बनेका उनका ७६ वर्षीय पिता तक बहादुर चौवानको पनि उपचारको क्रममा मंसिर २८ गते निधन भएको थियो । उनको आमाको २ वर्षअघि नै निधन भइसकेको छ ।

रातोपाटिबाट

प्रकाशित मितिः शुक्रबार, पुस १४, २०७४     10:28:03 AM

Tara Chapagain

See all posts by