प्रकाश ढकाल ,पोखरा, १७ कार्तिक :
दुई ठूला शक्ति नेपाली काँग्रेस र वाम गठबन्धन सहित विभिन्न दलले कास्कीमा उमेद्वारी मनोनयन दर्ता गरेका छन् । बिहिबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधी सभा र प्रदेशसभाका लागि मनोनयन दर्ता गराएका हुन् । जिल्लामा प्रतिनिधीसभा र प्रदेश सभाका लागि १७ वटा दलसहित केही स्वतन्त्र ब्यक्तिले पनि उम्मेदवारी दिएका छन् । जिल्लाभर जम्मा ९ वटा पदमा निर्वाचित हुने भएपनि १ सय १ जनाले दावेदारी प्रश्तुत गरेका छन् ।
३ प्रतिनिधीसभाको निर्वाचन क्षेत्र रहेको कास्कीमा ३ स्वतन्त्र सहित ३७ जनाले उम्मेदवारी दिएका छन् भने ६ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेकोमा ६४ जनाको दावेदारी परेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा, नेपाली काँग्रेस विपी, मंगोल अर्गनाइजेसन, राप्रपा प्रजातान्त्रिक, राष्ट्रिय जनमोर्चा, विवेकशील साझा पार्टी, नयाँशक्ति नेपाल, संघीय समाजवादी फोरम नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, जनसमाजवादी पार्टी नेपाल लगाएतले आफ्ना उम्मेदवार अघि सारेका छन् ।
स्थानीय चुनावमा दर्जनौं स्वतन्त्र उम्मेदवार देखिएपनि प्रदेश र प्रतिनिधीसभा चुनावका लागि भने खासै स्वतन्त्र उम्मेदवारी परेको छैन । जिल्लाभर २ जनाले मात्रै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा विषेशगरी वाम गठबन्धन र काँग्रेसबीच बढी टक्कर हुने देखिएको छ । काँग्रेसको तर्फबाट क्षेत्र नम्बर १ को प्रतिनिधीसभा सदस्यका लागि कानुनमन्त्री समेत रहेका यज्ञ बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई वाम गठबन्धनबाट एमालेका खगराज अधिकारीले टक्कर दिनेछन् ।
यसबाहेक यो क्षेत्रमा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट टेकबहादुर गुरुङ, एकीकृत राप्रपा (राष्ट्रवादी)का सञ्जय कार्की, मंगोल नेशनल अर्गनाइजेसनका रियाज गुरुङ, नेपाली काँग्रेस विपीका चन्द्र बहादुर रानाभाट, राष्ट्रिय जनमोर्चाका मदन मुरारी घिमिरे, नयाँ शक्ति पार्टी नेपालका सौगात पोखरेल, नेपाल दलित पार्टीका राजु परियार, विवेकशील साझा पार्टीका दीपक पौडेल, आमूल परिवर्तन मसिहा पार्टीका पदमबहादुर गुरुङ र संघीय समाजबादी फोरम नेपालका मनबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट ज्ञानेन्द्र बहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यका लागि काँग्रेसका देवराज चालिसेले उम्मेदवारी दिए भने एमालेबाट विकास समितिका सभापति रवीन्द्रप्रसाद अधिकारीले मनोनयन बुझाए । यही क्षेत्रमा देशभक्त जनगणतान्त्रिक मोर्चाका कर्णबहादुर पुन, संघीय समाजवादी फोरम नेपालका रत्न भट्टचन, नेपाल दलित पार्टीकी लक्ष्मी विश्वकर्मा, राष्ट्रिय जनमोर्चाकी दाल कुमारी खत्री, नयाँ शक्ति पार्टी नेपालका दिपक भण्डारी, नेकपा मालेका टेकनाथ भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीकी उमा दर्लामी, मंगोल अर्गनाइजेसनका ज्ञानराज गुरुङ र विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा निर्मल खत्रीले उम्मेदवारी दिएका छन् ।
३ नम्बर क्षेत्रमा काँग्रेसका शुक्रराज शर्मा र एमालेका जगत विश्कर्मा सहित संघीय समाजबादी फोरम नेपालका डिल बहादुर नेपाली, नेपाल दलित पार्टीका दुर्गाबहादुर कामी सुनार, राष्ट्रिय जनमोर्चाका हिमलाल गौतम, नयाँशक्ति पार्टी नेपालका नारायण प्रसाद भण्डारी, जनसमाजवादी पार्टी नेपालका रमेश बसेल, एमालेका जगतबहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनका गोविन्द बहादुर गजमेर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका भोजराज त्रिपाठी र विवेकशील साझा पार्टीका मिलन अधिकारी उम्मेदवार बनेका छन् । यो क्षेत्रमा दुर्गादत्त तिमिल्सीनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।