आज हरिबोधनी एकादशी पर्व मनाईंदै, विष्णुको मन्दिरहरुमा विशेष मेला

पोखरा १४ कात्तिक
आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी हो । यस दिन हिन्दू धर्मावलम्बीहरु भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउँछन् ।
आजको दिनलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ ।

कात्तिक शुक्लपक्षको हरिवोधिनी एकादशीका दिन व्रत बसेर विष्णुको पूजा गरेमा पापको नाश, पुण्यबृद्धि र मोक्ष प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ । ब्रतालुहरूले आज तरुल, पिँडालु, सखरखण्ड, सातु, पाकेको फर्सी खाने गर्दछन् । आज देशभरका विष्णुका मन्दिरमा पूजा गर्नेहरुको विहानैदेखि घुईंचो लागेको छ ।
असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गरिन्छ
हरिशयनी एकादशीका दिन घर घर रहेका मठमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा यस दिन गाईको गोबर र रातो माटोले पोती सिङ्गारेर फूल मालाले सजाएर तुलसी विवाह गर्ने परम्परा पनि छ ।

तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने मानिन्छ भने तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

अन्न खान नहुने मान्यताका कारण यस दिन सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ ।
एकादशीको अबसरमा पोखराको सेति किनार रामघाटमा बिशेष मेला लाग्ने गर्छ । नदी किनारमा तुलसीको मठ बनाई पूजा गर्न, फुल बगाउन र फुल तार्नेहरुको रामघाट क्षेत्रमा घुईचो लाग्ने गर्छ । पोखराका बिभिन्न स्थानबाट भजन, झाकी सहितको टोली रामघाट क्षेत्रमा जाने गर्दछन् ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४     10:39:02 AM

Tara Chapagain

See all posts by