पोखरा, ११ कात्तिक ,
पोखरामा अनेरास्ववियुका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा देखाएका छन् । पार्टीको कार्यक्रममा पोखरामा आएको देउवालाई अनेरास्ववियु भुगोल कमिटीका नेताहरुले शिक्षा ऐन खारेजीको माग गर्दै कालो झण्डा देखाएका हुन् ।
प्रधानमन्त्री देउवा पोखरा विमानस्थलबाट कार्यक्रम स्थलतर्फ आउँदै गर्दा पृथ्वीचोक नजिकैबाट अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाउनुका साथै शिक्षा ऐन खारेज गर भन्दै नाराबाजीसमेत गरेका थिए ।
प्रधामन्त्री आउने भएपछि सुरक्षा ब्यबस्था कडा बनाइएपनि सुरक्षाका लागि तैनाथ भएका प्रहरी कै अगाडि उनीहरुले कालो झण्डा देखाएका थिए ।
सुरुमा पृथ्वीचोकमै कालो झण्डा देखाउन तयार भएर बसेका विद्यार्थीलाई हस्तक्षेप गरी लखेटेपनि उनीहरु थोरै तल नागढुंगामा जम्मा भएर कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाएको आरोपमा प्रहरीले अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई पक्राउ गरेको छ ।
करिब २० जनाको समूहमा रहेका मध्ये गौतमलाई प्रहरीले पक्राउ गरेको हो । गौतमलाई पक्राउ गर्न लागेका बेला अन्य भने भागेका थिए । अनेरास्ववियु कास्कीका उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाले बिज्ञपति जारी गर्दै गौतमलाई रिहाइको माग गरेका छन् ।