बृहत् सफाइ अभियानको ७४ औं श्रृंखला पृथ्वीचोकदेखि मुस्ताङ्चोक

पोखरा, ११ कात्तिक,

पोखरामा जारी बृहत् सफाइ अभियानको ७४औं श्रृंखला पृथ्वीचोकदेखि मुस्ताङ्चोकसम्म सम्पन्न भएको छ । कार्यक्रममा करिब १० टन फोहर मैला संकलन गरी व्यवस्थापन गरिएको छ ।

‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने उद्देश्यले सञ्चालित कार्यक्रममा शनिबार कालीभञ्ज्याङ गणका सहायक सेनानी विजय थापाले राष्ट्रिय गान बजाई शुभारम्भ गरेका थिए ।  त्यसअघि पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले उपस्थित सम्पूर्णलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ खुवाए ।

यसपटकको सफाइ अभियानमा कालीञ्ज्याङ गण पोखरा, नेपाल प्रहरी, मानव मिलन संस्था पोखरा, पोखरा बस व्यवसायी समिति, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, सामुदायिक सेवा केन्द्र पृथ्वीचोक, आमा मिलन केन्द्र कास्की, नागढुंगा युथ क्लब, समाजसेवा युवा क्लब मासबार, ड्यामसाइड टोल विकास संस्था, स्थानीय आमा समूह र संघसंस्थाहरुले ऐक्यबद्धता जनाएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रममा मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा. मणिभद्रमुनिजी महाराजले धन्यवाद ज्ञापन गरेका थिए भने कालीभञ्ज्याङ गण पोखराका गणपति प्रमुख सेनानी मनोज थापाको विशेष उपस्थिति थियो ।

प्रकाशित मितिः शनिबार, कार्तिक ११, २०७४     7:56:34 PM

Tara Chapagain

See all posts by