वाम गठबन्धन राष्ट्रविरुद्ध गम्भीर षडयन्त्रः प्रधानमन्त्री देउवा

पोखरा, ११ कार्तिक,

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन नेपाली कांग्रेसका विरुद्ध नभई राष्ट्रका विरुद्ध गम्भीर षडयन्त्र भएको बताएका छन् । नेपाली काँग्रेस कास्कीले शनिवार पोखरामा आयोजना गरेको कार्यक्रममा अखण्ड नेपालका नेता तथा कार्यकर्ता अन्य व्यक्तित्वहरुलाई काँग्रेसमा प्रवेश गराउँदै देउवाले बाम गठबन्धन काग्रेसले देश संकटमा परेको बताए ।

उनले डरत्रासको शासन ल्याउनका लागि कम्युनिस्टहरुले गठबन्धन गरेको आरोप पनि लगाए । प्रधानमन्त्री देउवाले मुक्त शासनका लागि नेपाली कांग्रेसलाई विजयी गराउनुपर्ने बताए । ‘प्रजातन्त्रका निम्ती, देशमा शान्तिका लागि, डरत्रास मुक्त शासनका लागि कांग्रेसलाई जिताउन आवश्यक छ,’ उनले भने ‘नेपालका हरेक परिर्वतन नेपाली कांग्रेसले नै गरेको छ ।’ प्रधानमन्त्री देउवाले बोल्न र लेख्न नपाइने उत्तर कोरियाको जस्तो शासन कम्युनिस्टहरुले ल्याउने पनि बताए । प्रजातन्त्र स्थापना गर्न, जनताको अधिकार स्थापना गर्न २००७ सालदेखि कांग्रेस लगातार लागि परेको उनको भनाइ थियो ।

उनले राणाहरुदेखि पञ्चायत हुँदै राजा ज्ञानेन्द्रको शासनबाट कांग्रेसले नै जनतालाई मुक्ति दिएको सुनाए । उनले अब वाम गठबन्धनलाई चिर्नका लागि कांग्रेस सक्षम रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले लोकतन्त्रको भ¥याङ चढेर अधिनायकवाद लाद्न लागेको बताए । ‘नेपालमा लोकतन्त्रको रक्षा गर्ने चुनौती देखा परेको छ । अहिले कम्युनिष्टहरु संविधान कार्यान्वयनमा ब्यवधान खडा गर्दैछन्,’ उनले भने–कम्युनिष्टहरु बहुमतले जारी गरेको संविधान फेर्ने कुरा गर्दै हिँडेका छन् । लोकतन्त्रको भ¥याङ चढेर अधिनायकबादमा पुग्ने कम्युनिष्टहरुको चालबाजी सुरु भएको छ ।’

यो बिषयलाई सम्पूर्ण लोकतन्त्रबादी शक्तिले गम्भीरता पुर्वक लिनुपर्ने नेता पौडेलले बताए । ‘अहिलेको लडाई लोकतन्त्र भर्सेज साम्यबादको हो । अधिनायकवाद र स्वतन्त्रता बीचको लडाईँ हो, उनले भने, ‘यो चुनाव पार्टीको होइन लोकतन्त्रको लडाइँ हो, व्यवस्थाको लडाइँ हो । काँग्रेसलाई जनताको साथ चाहिएको छ ।’ कम्युनिष्टले देशलाई पछि पार्ने दाउ खोजिरहेको भन्दै पौडेलले त्यसतर्फ सचेत भएर काँग्रेसलाई समर्थन गर्न आग्रह गरे ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल समृद्धिको बाटोमा अगाडि बढ्को बताए । उनले समृद्धिको बाटोमा देश जाँदै गर्दा वामपन्थीहरु विस्तारै पलायन हँुदै जाने विचार राखे । ‘जहाँ समृद्धि हुन्छ, त्यहाँ कम्युनिस्ट फस्टाउँदैन,’ उनले भने । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुनमन्त्री यज्ञबहादुर थापा, नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसी लगायतले नेपाली कांग्रेसमा आउने नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए ।

कार्यक्रममा अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का सहित कास्कीका नेता तथा कार्यक्रकर्ता सहित पार्टी नै काग्रेसमा समायोजन गरेका छन् । त्यसै गरि राप्रपाका पुर्व कोषाध्यक्ष तथा उद्योगपति सुर्यबहादुर केसी सहित विभिन्न पार्टीबाट प्रबेश गरेकालाई सभापति देउवाले टिका, खादाले स्वागत गरेका थिए ।

प्रकाशित मितिः शनिबार, कार्तिक ११, २०७४     7:52:21 PM

Tara Chapagain

See all posts by