खाली खुट्टै ५० रुपैंया लिएर तनहुँका १६ वर्षे प्रविण पोखरामा वेपत्ता, आमा मुर्छित, कसरी वेपत्ता भए ?

रञ्जन अधिकारी

पोखरा, २३ असोज ,

घरबाट भागेर हिँडेका तनहुँका एक किशोर पोखराबाट बेखबर बनेका छन् । परिवारमा विवाद भएर पोखरा निस्केका तनहुँ घाँसीकुवा नगरपालिका वडा नं. ११, तातोपानीसेराका १६ वर्षीय प्रविण परियार विहीबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

गत असोज १७ गते विहानै ७ बजे चप्पल समेत नलगाई ५० रुपैंया साथमा बोकेर हिँडेका प्रविण घर नफर्केको लोकगायक समेत रहेका बुबा नारायण परियारले जानकारी दिए । प्रविणको खोजतलास गरिपाउँ भनी उनले जिल्ला प्रहरी कार्यालय, कास्की र तनहुँ प्रहरीमा समेत निवेदन दिएका छन् । गहुँगोरो वर्ण, हातमा पोलेको खत, नाक र ओठबीचमा कोतरिएको खत, आँखामुनी ठूलो खत रहेका प्रविणलाई देखेको खण्डमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन वा ९८०६७२७१४२, ९८१६६४०१८९ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।

‘दश कक्षा पढेको १६ वर्ष भईसकेको छोरो, राम्ररी पनि नपढ्ने । खाली साथीभाइसँग डुल्न हिँड्ने, राति घरमा समेत नआउने गरेपछि गाली गरेको हुँ ।’ नारायणले भने– ‘घरै छोडेर हिँडिदियो । कति दुःख दिन जानेका अहिलेका केटाकेटीले

तीन छोरा र दुई छोरी मध्ये प्रविण दुई छोरीपछिको जेठो छोरो रहेको उनले जनाए । प्रविण फरकचौर स्थित बाराही माविमा कक्षा १० मा पढ्दै आएका छन् । ‘तनहुँमा १६,१७ वर्षका केटाहरु खुकुरी हानाहान गरी मान्छे नै मारेको घटनाहरु धेरै बढेका छन् । गलत संगतमा पर्छ कि भनेर सम्झाउँदा पनि विष भो ।’ – उनले भने ।

विहीबार बिहानै ७ बजे गोडामा चप्पल समेत नलगाई घरबाट हिँडेका प्रविणसँग ५० रुपैंया मात्र साथमा रहेको नारायण सुनाउँछन् । आँबुखैरेनीसम्म आउँदा पैसा सकेपछि एउटा बसमा पोखरासम्म आएर भाडा नलिएको थाहा भएको उनले जानकारी दिए । ‘विहीबार छोरा आएकै लोकल गाडीमा शुक्रबार म पनि आएछु । बाग्लुङ बसपार्कमा झरेर एउटा चिनेकै होटलमा एकछिन पसेको थाहा भयो । त्यसपछि कता गयो थाहा भएन ।’ उनले भने– ‘आमा चाहिँ रोएर मर्न लाको छ । जता भएपनि घर आईज भन्न चाहन्छु ।’

 

प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४     5:35:24 PM

Tara Chapagain

See all posts by