भत्काउदै पोखराका आइल्याण्ड , छुटै पार्क बनाएर शालिक राख्न सुझाव

आश्विन २०,
पोखराको जिरो किलोमिटरस्थित योगेन्द्रमान शेरचन र पृथ्वीचोकस्थित लखन थापाको सालिक रहेको भद्दा आइल्यान्ड भत्काइसकिएको छ ।अम्बर सिंह, मुस्ताङ चोक, बिरौटा, चिप्लेढुंगा लगायत चोकका सालिक समेत भत्काउने तयारी भइरहेको छ । भत्काइएका यस्ता भद्दा आइल्यान्डमा सालिक फेरि राख्ने प्रशासनको सहमतिप्रति त्यसको चर्को विरोध समेत हुन थालेको छ ।
  अहिले हटाएका ठाउँमा पुन सालिक राख्ने कुरा यहाँका राजनीतिक दल, नागरिक अगुवा र पोखराको वृहत विकास चाहने जोसुकैले पनि समर्थन नगर्ने देखिएको छ ।
मानव अधिकारकर्मी एवं नागरिक आगुवा टेकनाथ बरालले हटाइएका सालिक फेरि त्यहीं राख्ने सहमति आफूलाई मन नपरेका बताए । ‘फेरि बनाउने हो भने किन भत्काएको ?’
उनले प्रश्न गर्दै भने, ‘यस्ता निर्णयले पोखरा बन्दैन ।’ चोकमा सालिक राखेर राष्ट्रिय विभूतिको सम्मान नहुने तर्क गर्दै उनले सबैको भावना समेट्ने गरी छुट्टै पार्क बनाएर सालिकहरु राख्न सुझाए ।
राष्ट्रिय विभूतिहरुको सम्मान गर्नुपर्ने तर उनीहरुको सालिकमा ठोकिँदा नागरिकको ज्यान जाने अवस्था कायम राख्न खोज्नु दुखद् भएको उनको भनाइ थियो ।
सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर एउटा छुट्टै पार्कमा यस्ता सालिकहरु राख्ने योजनामा जान उनले महानगरलाई सुझाव दिएका छन् ।
विभिन्न जाति र समुदायले आफ्नो भन्दै त्यसप्रतिको लगाव देखाइरहेका बेला उनीहरुलाई समेत यस विषयमा बुझाएर काम गर्न उनको सुझाव छ । नागरिक आन्दोलनका अगुवा अधिवक्ता सुरेन्द्र थापामगरले राज्यले सहिदको सम्मान गर्नुपर्ने बताए ।
दुईवटा चोकमा रहेका सालिकमात्र भत्काउँदा आफ्नो समुदायकालाई मात्र तारोमा पारेको अनुभुति मगर समुदायमा परेको उनले बताए ।
‘यहाँ नगरपालिकाले नै पैसा छुट्याएर विगतमा सालिक बनाइदिएको पनि देखियो, कुनै आफै बनाइदिने अनि कुनै भत्काउने कुराले परिस्थिति बिगार्छ,’ उनले भने, ‘सबैका भत्काएर छुट्टै पार्क बनाएर व्यवस्थापन गर्ने विषयमा मगर समुदायको कुनै विमति देख्दिन ।’
लखनचोकमा पुन सालिक निर्माण गर्ने सहमति अनुरुप नै भत्काइएकामा केहीले राजनीतिक स्वार्थ देखाउँदै भड्काउन खोजेको देख्दा आफू अचम्मित भएको उनले सुनाए ।
भत्काउने र सम्मान नगर्ने कुरा स्वीकार्य नहुँने उनको प्रष्टोक्ति छ । उनले महानगरले छुट्टै पार्क बनाएर सम्मान गर्ने अवस्था आए स्वागत गर्ने बताए ।
‘अपनत्व लिनुपर्यो, सहिद भन्ने सम्मान नगर्ने परिपाटी सही होइन, राज्यले सम्मान गर्छु भन्छ र अपनत्व लिन्छ भने नाइँ भन्ने अवस्था पनि हामीमा रहँदैन,’ उनले प्रष्ट पारे । कांग्रेस कास्कीका सभापति कृष्ण केसीले भत्काइएको सालिक पुनस्थापित गर्दा जटिलता आउने तर्फ सचेत गराएका छन् ।
‘हिजो कसैको हटाएर राखिएको हो,’ उनले भने, ‘अहिले भत्काएर फेरि बनाउँदा पहिलेकाले पनि बाहना पाउँछन्, त्यसैले छुट्टै पार्क बनाएर व्यवस्थापनमा लाग्दा राम्रो हुन्छ ।’
केसीले यसका लागि महानगरपालिकाले पहलकदमी लिनुपर्ने बताए । सबै सहिदलाई सम्मान गर्न छुट्टाछुट्टै ठाउँमा पुग्न सम्भव छुट्टाछुट्टै मान्नु भन्दा एकै ठाउँमा राखे छुट्टै अकर्षण बढ्ने र पर्यटकका लागि नयाँ गन्तव्य समेत बन्ने उनको धारणा थियो ।
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले आफ्नो पनि चाहना छुट्टै पार्क बनाएर त्यसैमा सबैको सालिक राख्ने नै रहेको बताए । सबैको सहमति जुट्यो भने त्यो निर्णमा पुग्न सकिने उनले सुनाए । जिसीले यसका लागि आफूले छिट्टै सर्वपक्षीय बैठक डाक्ने समेत जानकारी दिए ।
‘ढिलो चाँडो हामीले सडकबाट यस्ता सालिक हटाउनै पर्ने अवस्था छ,’ उनले भने, ‘अहिले नै सहमति जुटाउन सकियो भने हाम्रो स्मार्ट सिटी बनाउने योजनाले समेत मुर्तरुप लिन्छ ।’ असोज १० गते मंगलबार राति पृथ्वीचोकस्थित लखन थापाको सालिक रहेको भद्दा आइल्यान्ड भत्काइएको थियो ।
सडक विभागअन्तर्गत ‘रोड एन्ड ट्राफिक युनिट’ले पृथ्वीचोकको आइल्याण्ड भद्दा र ठूलो भएकाले यसलाई ४ मिटरमा सीमित गरेमात्र ट्राफिक व्यवस्थापन सहज हुने निश्कर्षसहितको प्रतिवेदन बुझाएपछि महानगरपालिका र सरोकारवाला निकायले आइल्याण्ड भत्काएका हुन् ।खबरसम्पूर्ण
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     2:56:05 PM

Tara Chapagain

See all posts by