प्रदेश नम्बर २ : पहिलो जित राजपाको, कसको कति तहमा अग्रता

काठमाडौं, असोज ४ – दुई नम्बर प्रदेशमा गएको सोमबार भएको स्थानीय तह चुनावमा राष्ट्रिय जनता पार्टी राजपा नेपालले खाता खोलेको छ । धनुषाको हंसपुर नगरपालिकाको मेयरमा राजपाका रामज्ञान मण्डल विजयी भएका हुन् ।

यस्तै हंसपुर नगरपालिकाको उपमेयरमा राजपाकै रेणु झा विजयी हुनुभएको हो । मतगणना चलिरहेका स्थानीय तहमध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै ३५ ठाउँमा अग्रता लिएको छ । यस्तै संघीय समाजवादी फोरमले २८, एमालेले २४, माओवादी केन्द्रले २२, राजपाले २१ तथा अन्य दल तथा स्वतन्त्र उम्मेदवारले ४ ठाउँमा अग्रता लिएका छन् ।

१८ स्थानीय तह रहेको धनुषामा नेपाली कांग्रेसले ५ वटा स्थानीय तहमा, संघीय समाजवादी फोरम नेपालले ५ वटा स्थानीय तहमा, नेकपा एमालेले ३, माओवादी केन्द्रले २ र राजपाले २ स्थानीय तहमा अग्रता लिएको छ ।

जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपाका लालकिशोर साह ४६ सय ७९ मतसहित अग्रस्थानमा हुनुहुन्छ । नेपाली कांग्रेस मनोज शाह १८५६ मत सहित दोस्रो स्थानमा हुनुहुन्छ । एमाले र माओवादी केन्द्रका उम्मेद्वार पछाडी परेका छन् ।

यस्तै २ नम्बर प्रदेशकै एकमात्र महानगरपालिका पर्साको विरगंज महानगरपालिकामा राजपाले अग्रता लिएको छ । राजपाका मेयरका उम्मेदवारले १६ सय ८३, नेपाली कांग्रेसले १४ सय ७५, फोरम नेपालले ७ सय ९०,  माओवादीले ६ सय २६ र एमालेले ५ सय ५७ मत पाएका छन् । १४ वटा स्थानीय तह रहेको पर्सामा संघीय समाजवादी फोरम र एमालेले समान ४–४, माओवादी केन्द्र र कांगे्रेसले समान २–२, राजपाले १ तथा नेपाली जनता दलले १ ठाउँमा अग्रता लिएका छन् ।

बारामा १६ स्थानीय तह रहेकोमा नेपाली कांग्रेसले ४, एमाले ४, फोरम २ र राजपा ५ ले तथा स्वतन्त्र उम्मेदवारले १ ठाउँमा अग्रता लिएका छन् । मतपेटिका खोल्ने क्रममा आफ्ना प्रतिनिधि नभएको भन्दै माओवादी केन्द्रले गरेको अवरोधका कारण बारागढी गाउँपालिकाको भने मतगणना सुरु हुन सकेको छैन । यस्तै, कोल्हवी नगरपालिकामा पनि उम्मेदवारले पाएको मतको बारेमा जानकारी दिने क्रममा निर्वाचन आयोगका कर्मचारीले गल्ती मत भनेपछि विवाद भएको र त्यहाँ पनि भोलि बिहानसम्मका लागि मतगणना स्थगित भएको छ ।

बाराको कलैया उपमहानगरपालिकामा

संघीय समाजवादी फोरम १०३०
एमाले ९६१
नेपाली काँग्रेस ६८४
माओवादी केन्द्र ३६९
राजपा ३२८

जितपुर सिमरा उपमहानगरपालिकामा

एमाले ३५८७
माओवादी केन्द्र ३१०१
नेपाली कांग्रेस २६०४

सिरहाका १७ मध्ये १६ वटा तहमा मतगणना भैरहेको छ । जसमध्ये ६ स्थानिय तहमा माओवादी केन्द्र, ५ स्थानीय तहमा एमाले, ४ स्थानिय तहमा फोरम, २ मा काँग्रेस र एकमा राजपाको अग्रता  छ ।

त्यस्तै सर्लाहीमा २० मध्ये नेपाली कांग्रेस र राजपाले ५–५, माओवादी केन्द्र ४, एमाले ३ र फोरम २ तथा लोकतान्त्रिक फोरमले १ स्थानमा अग्रता लिएको छ ।

१५ वटा स्थानिय तह रहेको महोत्तरीमा राजपा र नेपाली कांग्रेसले समान ४–४ स्थानीय तहमा, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले समान ३–३ र एमालेले एक स्थानीय तहमा अग्रता लिएको छ ।

रौतहटमा १८ स्थानीय तह रहेकोमा कांग्रेसले ७, माओवादीले ६, फोरमले ३, राजपाले १ र एमालेले १ स्थानीय तहमा अग्रता लिएको छ ।

सप्तरीमा १८ स्थानीय तह रहेकोमा कांग्रेसले ६, संघीय समाजवादी फोरमले ५, एमालेले ३, राजपाले २ तथा नयाँ शक्तिले १ स्थानमा अग्रता लिएको छ । सप्तरीको राजविराजको वडा नम्बर १५ मा भने बिहीबार मतदान हुँदैछ ।  उज्यालोअनलाइनबाट

 

प्रकाशित मितिः बुधबार, अशोज ४, २०७४     8:21:06 PM

Tara Chapagain

See all posts by