पोखरा, २५ भदौ/पोखरा उद्योग वाणिज्य संघले संचालनमा ल्याएको पोखरा बाढी पीडित राहत कोषमा पोखरा हार्डवयर एसोसियसनले १० हजार रुपैयाँ प्रदान गरेको छ ।
एसोसियनकोतर्फबाट कोषाध्यक्ष शेषकान्त ढकालले सो रकम संघका महासचिव दामु अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको पनि उपस्थिति रहेको थियो । पोखरा उद्योग वाणिज्य संघले स्थापना गरेको पोखरा बाढी पीडित राहत कोषमा हालसम्म १२ लाख ५७ हजार ८ सय ४८ रुपैयाँ संकलन भएको छ ।
यसअघी सो कोषमा सितलादेवी मिसा पुचः सितलादेवीले ५ हजार ५ सय रुपैयाँ प्रदान गरेको थियो । सितलादेवी मिसा पुचःका तर्फबाट अध्यक्ष निर्मला श्रेष्ठ, सचिव दुर्गा श्रेष्ठ र कोषाध्यक्ष सुशीला श्रेष्ठले सो रकम संघका महासचिव दामु अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । बाढी र पहिरोबाट सिङ्गो देश प्रभावित बनेका बेला आफ्नो दायित्ववोध मनन गर्दैै पोखरा उद्योग वाणिज्य संघले साउन ३० गते बाढी पहिरो पीडितहरुको सहयोगार्थ ‘पोखरा बाढी पीडित राहत कोष ’स्थापनाको निर्णय गरेको थियो ।
राहत संकलनको यो अभियानमा पोखरामै रहेको रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनले समेत सहकार्य गरेका छन् ।सो कोषमार्फत सहयोग गर्न चाहनेहरुलाई ओम डेभलपमेण्ट बैंकको खाता नम्बर १८०००० मा जम्मा गरी भौचरको प्रतिलिपी संघको सचिवालयमा पठाउन वा पोखरा उद्योग वाणिज्य संघको सचिवालयसहित रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनको कार्यालयमा सोझै प्रदान गर्न सकिने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।