थानाभञ्ज्याङमा बसदुर्घटना हुँदा, ७ जनाको मृत्यु

नुवाकोट, भदौ २४ ,

काठमाडौंबाट नुवाकोटको तादी गाउँपालिका आउँदै गरेको बस शनिबार शिवपुरी गाउँपालिका वडा नं. ७ थानाभञ्ज्याङमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।

बा १ ख ६३४८ नम्बरको बस दुर्घटनामा विदुर नगरपालिका वडा नं. ९ की २१ वर्षकी शशी बोगटी, तादी गाउँपालिका वडा नं. ५ की ४५ वर्षकी लक्ष्मी न्यौपाने, तादी गाउँपालिका वडा नं. ५ कै ६७ वर्षकी ठूलीमाया तामाङको घटनास्थलमै ज्यान गएको हो । 

उपचारको क्रममा सहचालक तादी गाउँपालिका सातविसेका २८ वर्षका नवराज विक, ठेगाना नखुलेका ५४ वर्षका लालवहादुर तामाङ र ठेगाना नखुलेकी ३७ वर्षकी उजेली तामाङको धापासीस्थित ग्रिनसिटी अस्पताल र तादी गाउँपालिका रालुकाकी २२ वर्षकी सविना तामाङको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिनुभयो । 

साघुँरो र एकतर्फी सडकमा क्षमता भन्दा बढी यात्रु बोकेको र स्टेयरिङ नमोडिएर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनालगत्तै बसका चालक फरार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको ग्राण्डी अस्पताल र ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको छ ।  

प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     9:17:02 PM

Tara Chapagain

See all posts by