विकासका संभावना खोज्दै जिल्ला भ्रमणमा मन्त्री थापा

कास्की ।

कानुन, न्याय तथा संसदिय ब्यवस्था मन्त्री यज्ञ बहादुर थापाले बिहिबार लमजुङ र कास्कीका विभिन्न ठाउँहरुको अवलोकन तथा भ्रमण गरेका छन् । लमजुङ स्थित मध्ये नेपाल नगरपालिकाका जनप्रतिनिधीसँग कुराकानी गर्दै उनले कास्की र लमजुङ सीमाना जोडिएको जिल्ला भएकाले कतिपय विकास आयोजना साझा हुने उल्लेख गरे । उनले बेगनास–भोर्लेटार सडक र सिक्लेस–शिशाघाट (मादी कोरिडोर) लाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । मन्त्री थापाले दुवै आयोजना छिट्टै सम्पन्न हुनेमा जोड दिए ।

थापालाई मध्येनेपालमा नवनिर्वाचित प्रमुख रमेश पाण्डे र उपप्रमुख रामकुमार श्रेष्ठले स्वागत गरेका थिए । त्यसक्रममा मन्त्री थापाले स्थानीय शासन विधेयक यथासिघ्र पारित हुने विश्वास ब्यक्त गरे ।
विहिबार नै उनले कास्कीको थुम्कीमा बुधबार निधन भएका समाजसेवी राजनीतिज्ञ थमनसिंह गुरुङको परिवारसँग भेटघाट गरे । उनले थमनको निधनले काँग्रेसले अभिभावक गुमाएको भन्दै पार्टीलाई अपुरणीय क्षति भएको बताए । ‘गुरुङ समाज सेवी र राजनीतिज्ञ मात्रै होईन । हाम्रा अभिभावक पनि हुनुहुन्छ, थापाले भने–वहाँको निधनपछि हामीले अभिभावक गुमाएका छौं ।’ सोही क्रममा काँग्रेसका केन्द्रिय सदस्य जीवन परियारले गुरुङप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै गुरुङको सपना साकार पार्न काँग्रेस कार्यकर्ता एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए ।

बिहिबार नै मन्त्री थापाले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ का कार्यकर्तासँग देउरालीमा भेटघाट गरेका छन् । कार्यकर्तासँग कुराकानी गर्दै थापाले मंसिर १० गते हुने निर्वाचनमा कुनै आशंका नगरी चुनावको तयारी गर्न आग्रह गरे । उनले जनताको मनोभावना बुझेर काम गर्न कार्यकर्तालाई सुझाएका छन् । शुक्रबार र शनिबार पोखरामा हुने विभिन्न कार्यक्रमहरुमा सहभागी भएपछि मन्त्री थापा आईतबार काठमाण्डौं फर्किने छन् ।

प्रकाशित मितिः शुक्रबार, भदौ ९, २०७४     12:28:42 PM

Tara Chapagain

See all posts by