विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खरालले बोलबमको अन्तिम सोमबार परेको ५२४४ औं श्रीकृष्ण जन्माष्टमीलाई भव्यरुपमा सम्पन्न गर्न सम्पूर्णलाई सहयोगको लागि आग्रह गरे ।
कार्यक्रमअन्तर्गत कृष्णजन्माष्टमी पूजन एवं कृष्णझूला ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहनेछ भने केदारेश्वर मन्दिरका पीठाधीश डा.लेखनाथ आचार्य, युवापण्डित दीपक सापकोटाले प्रवचन दिनेछन् ।
उक्त अवसरमा हुने भजनचुड्कामा प्रथम पुरस्कार ३० हजार रुपैयाँ पुरस्कार दिइनेछ । दोस्रोलाई २०, तेस्रोलाई १०, सान्त्वनालाई ३ हजार, उत्कृष्ट नृत्य ५ हजार र उत्कृष्ट भजनझाँकीलाई ५ हजार पुरस्कार दिइनेछ । शोभायात्रामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार ५ सय, ५ हजार र २ हजार रुपैयाँ पुरस्कार दिइनेछ । शोभायात्रामा उत्कृष्ट सहभागी टिमलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार दिइनेछ ।
यसैबीच, बोलबम जलयात्राका सहभागी भक्तजन उक्त दिन सोमबार परेकोले बगरबाट जल लिई सभागृहबाट सुरु हुने श्रीकृष्ण जन्माष्टमी शोभायात्रामा मिसिने कार्यक्रम छ ।
साउनको अन्तिम सोमबार भएकोले आयोजक केदारेश्वर मन्दिरले भक्तजनको संख्या बढ्ने अनुमान गरेको छ ।