पुनः मतदानको फाइदा उठाउँदै भरतपुरको मेयरमा रेणु दाहाल विजयी,

चितवन, साउन २१ ,

सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी हुनुभएको छ । उहाँले  ४३ हजार १२७ मत प्राप्त पाउनुभयो भने नेकपा एमालेका मेयर पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभयो । दाहालले ज्ञवालीलाई २ सय ३ मतकाे अन्तरले हराउनुभएको छ ।

उपमेयर पदमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी हुनुभएको छ । उहाँले ४७ हजार १९७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गर्नुभयो । भरतपुर महानगरपालिकाका २९ वडामध्ये १४ वटा वडामा एमाले, १२ वटा वडामा कांग्रेस र ३ वटा वडामा माअोवादी  बिजयी भएको छ ।

भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच ताल मेल भएको थियो । जस अनुसार माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर पद विभाजन गरिएको थियो । वडाहरुमा भने तालमेल हुन सकेको थिएन ।

दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी हुनुहुन्छ । भरतपुरमा नेपाली कांग्रेसले एक्लै चुनाव जित्ने अवस्था थियो । यस्तो ठाउँमा मेयर पद नै माओवादीलाई दिएर तालमेल गरेको भन्दै कांग्रेसका मतदाताहरु रुष्ट भएका थिए । माओवादी र कांग्रेसका नेताहरुले संयुक्त अभियान चलाए पनि मतगणना हुँदा कांग्रेसलाई मतदान गरेकाहरुमध्ये धेरैले मेयरमा रेणु दाहाललाई मतदान गरेका थिएनन् ।

पहिलो चरणमा भएको स्थानीय तह चुनाव अन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मतगणना सकिएर १९ नम्बरको गणना भइरहँदा जेठ १४ गते मध्यरातमा गणनामा बसेका माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । जसका कारण भरतपुर १९ मा शुक्रबार पुनः  मतदान भएको थियो । १९ को च्यातिएपछि गन्न बाँकी २० नम्बर वडाको पनि गणना भएको थिएन । २० नम्बर वडाको मत पनि आइतबार गणना गरिएको हो ।

पुनः मतदान गरे आफ्नो पक्षमा धेरै मतदान गराउन सकिन्छ भन्ने योजनाका साथ माओवादीले मतपत्र च्यातेको एमालेले आरोप लगाउँदै आएको छ ।

पुनः मतदानबाट कांग्रेस–माओवादी गठबन्धन पक्षधर उम्मेदवारलाई फाइदा पुगेको छ । भरतपुर १९ को मतपत्र च्यातिएपछि कांग्रेस–माओवादी गठबन्धनले संयुक्त रुपमा चुनाव प्रचारप्रसार गरेर अभियान नै चलाएका थिए । उनीहरुले केन्द्रीय नेताहरु वडामा लगेर गठबन्धनमा मतदान गर्न आव्हान गरेका थिए ।

प्रकाशित मितिः आइतवार, साउन २२, २०७४     6:39:26 AM

Tara Chapagain

See all posts by