३ सय ५२ जनाको निःशुल्क जाँच

पोखरा, २१ साउन
पोखरा लेखनाथ महानगरपालिका वडा नं। ५, मालेपाटनमा ३ सय ५२ जनाको निशुल्क मधुमेह तथा रगतमा हुने खराब बोसो ९ टिजी सम्बन्धी रगत जाँच गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा, मालेपाटन र पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा ंलि युआरएल ले संयुक्त रुपमा शिविर आयोजना गरेका हुन् ।
कार्यक्रममा उपस्थित सर्वसाधारणलाई मधुमेह तथा रगतमा हुने खराब बोसोबारे फिजिसियन डां शंकर बरालले जानकारी दिएका थिए । उनले खानपानमा ध्यान दिँदै बेला बेलामा स्वास्थ्य परीक्षण गरिरहे रोग लागेपछि भोग्नुपर्ने पीडा र औषधोपचारको खर्चबाट धेरै हदसम्म मुक्ति पाइने उल्लेख गरे ।

डां बरालले शारीरिक व्यायम, स्वस्थ्य खानपान, सक्रिय र सुखी जीवनशैली नै दीर्घ जीवनको बाटो भएको बताए । उनले भने, ‘रोग लागिसकेपछि बेलामा निदान गर्नु त पर्छ नै, त्यसअघि नै सावधान बनाउन जनचेतनामूलक कार्यक्रम टोलटोलमा आवश्यक छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले नागरिकलाई स्वस्थ्य र सबल र समृद्ध बनाउनु आफूहरुको जिम्मेवारी भएको बताए । उनले रोग लाग्न नदिन पूर्व सावधानी र लागिसकेपछि पनि बेलैमा सही निदानबारे सचेत बन्नुपर्ने आवश्यकता औंल्याए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्वास्थ्य क्षेत्रलाई व्यवसायको रुपमा मात्र नलिई सेवामूलक क्षेत्रको रुपमा विकास गर्नु जरुरी रहेको औंल्याए । उनले युआरएलले सामाजिक उत्तरदायित्व वहन गर्दै अहिलेसम्म ३८ वटा निःशुल्क शिविरमा करिब २३ हजारको निःशुल्क परीक्षण गरिएको जानकारी दिए ।
कार्यक्रममा समाजसेवीहरु हेरम्भप्रसाद कोइराला र उज्ज्वल खत्रीले पनि बोलेका थिए । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा, मालेपाटनका सभापति बुद्धिसागर खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति ऋषि गौतम र सञ्चालन सचिव भेकबहादुर थापाले गरेका थिए ।

प्रकाशित मितिः शनिबार, साउन २१, २०७४     6:34:16 PM

Tara Chapagain

See all posts by