बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट गंगाधर पराजुली सम्मानित

पोखरा, २० साउन ।

बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार गंगाधर पराजुुली सम्मानित भएका छन् । उग्रताराको वार्षिक स्मृति दिवसका अवसरमा शुक्रवार एक कार्यक्रमकाबिच पराजुलीलाई सम्मान गरिएको हो ।

न्याय कानुन तथा संसदिय मामिला मन्त्री यज्ञबहादुर थापाले पराजुलीलाई रु.२० हजार १ सय ११ सहित सम्मानपत्रले सम्मान गरेका हुन् । सम्मान गर्दै मन्त्री थापाले आफुले  संचार मैत्री कानुन निर्माणमा जोड दिने भन्दै यस क्षेत्रका समस्या हटाउन सक्दो प्रयास गर्ने बताए। उनले संचारको बिकासले मात्रै लोकतन्त्र बलियो हुने भन्दै यसको सबलीकरणका निम्ति अबाश्यक कानुन निर्माणमा सुझाबको अपेक्षा पनि गरे।

 

उक्त कार्यक्रममा पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जि सी ले स्थानीय तहको बिकासको सपना पुरा गर्न संचार र पत्रकारको महत्वपुर्ण स्थान हुने भन्दै सबै स्थानीय तह संचार मैत्री बनाउनु पर्ने कुरामा जोड दिए।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्याक्ष अनिता बिन्दुले  पत्रकारले भोग्नु परेका समस्याको बारेमा सरकार गम्भीर हुनुपर्ने भन्दै कानुन मन्त्री मार्फत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।   नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले मोफसलको पत्रकारिता र पत्रकारका समस्याका बारेमा चर्चा गर्दै समस्याका निराकरण गर्ने कानुन निर्माणमा सरकार केन्द्रित हुन आग्रह गरे । सो अबसरमा सम्मानित व्यक्तित्व गंगाधर पराजुलीले आम संचार नीति तयार भैसकेको अबस्थामा अब त्यसको कार्यान्वनमा जोड दिनुपर्ने  भन्दै सम्मानले आफुमा थापा जिम्मेबारी महशुस भएको भन्दै अझ घनिभूत ढंगले लागि पर्ने बताए ।

सो अबसरमा प्रतिभा  छनोट समितिका संयोजक नारायण कार्कीले बालकृष्ण उग्रताराको परिचय प्रस्तुत गर्नुका साथै पुरस्कार छनोट प्रक्रियाको बारेमा प्रकाश पारेका थिए भने गोर्खा पत्र संस्थान संचालक समिति का पूर्व बोर्ड सदस्य नबराज सुबेदीले सम्मानित व्यक्तित्व गङ्गाधर पराजुलीको बारेमा प्रकाश पारेका थिए  ।

वि.सं. २०४९ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय पराजुली हाल पोखराबाट प्रकाशित हुने गोल्डेन न्यूज दैनिकको प्रकाशक संस्था सुनौलो पव्लिकेशनका कार्यकारी अध्यक्ष, पत्रिकाका प्रधान सम्पादकका साथै सुनौले एफ.एम.का कार्यकारी निर्देशक हुन् । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपसभापति समेत रहेका उनी राष्ट्रिय समाचार समिति (रासस) का पूर्व संचालक सदस्य हुन् ।

 

पराजुलीले यसअघि दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार, राष्ट्रिय युवा प्रतिभा पुरस्कार, गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कार सहित विभिन्न सम्मान समेत प्राप्त गरिसकेका छन् ।

यस अघि बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पाल्पाका मेघराज शर्मा, कास्कीका कुशुमकेशव पराजुली, पर्वतका भोला शर्मा, कास्कीका नवराज सुवेदी, नारायण कार्की र रुद्रबहादुर थापा सम्मानित भइसकेका छन् ।

पत्रकार बालकृष्ण उग्रताराको स्मृतिमा उनका परिवारले २ लाख १ हजार १ सय ११ अक्षयकोष स्थापना गरेका छन् । प्रदेश नं. ४ मा रहेर कम्तिमा १५ वर्ष पत्रकारिता गरेका पत्रकारलाई सो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

 

पोखरा एक्सप्रेसका प्रधान सम्पादक जमुना बर्षा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उग्रताराका जेष्ठ सुपुत्र निराजन उपाध्यायले  र संचालन पत्रिकाका कार्यकारी निर्देशक रामजी प्रसाद लम्सालले गरेका थिए  ।

प्रकाशित मितिः शनिबार, साउन २१, २०७४     6:54:47 AM

Tara Chapagain

See all posts by