लाइसेन्स वितरण सरल बनाउन यातायात मन्त्रीको निर्देशन

१७ साउन, काठमाडौं ,

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सवारी साधनको चालक अनुमति पत्र -लाइसेन्स) वितरण प्रक्रियालाई सरल र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

 

मंगलबार मन्त्रालयमा यातायात व्यवस्था विभाग र कार्यालयका प्रमुखलाई बोलाएर मन्त्री बलायरले लाइसेन्स लिन सर्वसाधारणले निकै सास्ती भोग्नुपरेको भन्दै सहज बनाउन निर्देशन दिएका हुन् ।

‘लाइसेन्स लिने प्रक्रिया एकदमै झन्झटिलो छ,’ मन्त्री बलायरले भने, ‘सर्वसाधारणहरु एकाविहानै कार्यालयमा पुगेर लाइन लाग्नुपर्छ । त्यसपछि फेरि ट्रायल दिनेदेखि लाइसेन्स हात पार्नेसम्मको प्रक्रिया र समय लामो छ ।’ उनले तत्काल यसलाई सरल र सहज बनाउन निर्देशन दिए ।

सर्भरको समस्या पनि समाधान गर्न निर्देशन

यस्तै मन्त्री बलायरले यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमति कार्यालयमा जडान गरिएको सर्भर तथा सफ्टवेयर सधैं जसो बिगि्ररहने समस्याप्रति समेत चासो व्यक्त गरेका छन् ।

उनले पटक-पटक सर्भरमा समस्या आउनुको कारण सोध्दै अब यसको दीर्घकालिन समाधानबारे सोच्न समेत निर्देशन दिए । प्रत्येक महिना किन बिग्रन्छ, यो सर्भर ? मन्त्रीले आश्चर्य मान्दै सोधे, ‘राज्यको करोडौं लगानी परेको सर्भरमा सधैं समस्या आइरहने अनि निजी क्षेत्रमा यस्ता समस्या त सुनिँदैन ।’

उनले सेवाग्राहीप्रति जिम्मेवार भएर परिणाममुखी काम गर्न र स्मार्टकार्ड १४ वटै अञ्चलबाट वितरण गर्ने समेत निर्देशन दिएका छन् ।

मंगलबार नै मन्त्री बलायरले सडकमा खाल्डाखुल्डी पुर्ने कामलाई तीब्रता दिन पनि सडक विभागका अधिकारीलाई निर्देशन दिएका छन् ।अनलाइनखबर

प्रकाशित मितिः बुधबार, साउन १८, २०७४     9:17:02 AM

Tara Chapagain

See all posts by